समाज

महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने, हत्या गर्नेमा शिक्षकहरु अगाडि

महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने, हत्या गर्नेमा शिक्षकहरु अगाडि

पुस–२ । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ । घटनामा सलंग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ ।

आठ वर्षअघि ललितपुरमा पनि यही प्रकृतिको घटना भएको थियो । ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो । यद्यपि, उनी बाच्न सफल भइन् । पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो ।

राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरुमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ । शिक्षित भनिएकाहरु नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन । देश छुवाछुतमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट वहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन् । –नयाँ पत्रिकाबाट

विशेष