दलित पत्नीपट्टिका बुहारी र नातिनातिना घर पस्न खोज्दा कृपासुरले गोली ठोकेर मार्ने धम्की दिए
पुस–२ । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पाले आफ्नी माइली पत्नीकी छोराबुहारी र नातिनातिनीहरुलाई गोलीले उडाइदिने धम्की दिएका छन् ।
सरकारी सेवामा हुँदा ताप्लेजुङमा एक दलित युवतीसँग प्रेम गरेर गर्भवती बनाएपछि भागेका एमाले नेता शेर्पाको चावहिलस्थित घर पुगेका उनका बुहारी, नातिनातिनीलाई उनले गोली ठोकेर उडाइदिने धम्की दिएका हुन् ।
शेर्पाकी माइली पत्नी धनमाया दर्नालबाट जन्मेका गणेश शेर्पाकी पत्नी सुजाता शेर्पा, नाति नेयमार शेर्पा, नातिनी निङ्मा शेर्पा शुक्रबार कृपासुरको घर पुगेका थिए ।
छोरा गणेश र उनकी आमा धनमायासँग आफ्नो कुनै सम्बन्ध नभएको भनेर कृपासुरले आफ्नो अपराध लुकाउन खोजेका थिए । कृपासुर पर्यटनमन्त्री भएकै बेला विषय सनसनीपूर्ण ढंगबाट अगाडि आएपछि पत्नी र छोराको दर्जा दिन उनी बाध्य भएका थिए ।
छोरालाई नागरिकता बनाइदिने, अंश दिनेलगायत सहमति भएको गणेशले बताए । मन्त्री भएकै बेला कृपासुरले गणेशलाई नागरिकता दिएका थिए । तर पछिल्लो समय कृपासुरले अंश दिने कुरै गर्न छाडे । गणेश भन्छन् ‘आमाको उपचारमा धेरै खर्च भयो । खर्च पनि दिनु हुन्न । अंश माग्दा हप्काउनु हुन्छ ।’
शुक्रबार कृपासुरको घर पुगेका गणेशकी पत्नी र छोराछोरीलाई कृपासुरले दूव्र्यवहार गर्दै लखटेको भिडियो पनि नेपालआजलाई प्राप्त भएकोछ । जसमा कृपासुरले गेटबाट बाहिर निकालिदिएको देखिन्छ ।
धनमाया दर्नालबाट जन्मेका गणेशकी पत्नी छोराछोरी बोकेर घर पसेको थाहा पाएपछि कृपासुर खाली खुट्टै कुदेर आँगनमा आएका थिए । गणेश पत्नी सुजाताले भनिन्,‘उहाँले गेट खोल्ने केटीलाई पनि गाली गर्नुभयो । दूर्वचन लगाएर घरबाट हामीलाई निकालिदिनुभयो ।’
अंशवापत एउटा घर बनाइदिने आश्वासन कृपासुरले दिएको गणेशको भनाइ छ । गणेश आफनो परिवार लिएर शुक्रबार नै एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । केपी ओलीले दिएको आश्वासनबारे उनले भने, ‘केपी बुवाले कृपासुरसँग कुरा गरिदिन्छु । चिन्ता नलिनु भन्नुभएको छ ।’
कृपासुरले गणेशलाई आफ्नो नामबाट नागरिकता त दिलाइदिए । तर अंश नदिएको गणेशको दुखेसो छ । कृपासुरले आफ्नो सम्पति नभएको बताउने गरेका छन् । छोरा भएपछि अंश दिनु पर्ने गणेशको भनाइ छ । कृपासुर शेर्पा एमालेमा पैसावालाहरु मै पर्छन् । तर गणेशको भनाइ छ, ‘आजीवन मैले बाबु बिनाको छोरा भएर बाँच्नु पर्यो, आमाले सामाजिक तिरष्कार खेप्नु पर्यो । कृपासुरको सम्पत्ति जति धेरै भए पनि मलाई लिनु दिनु छैन । टाउको लुकाउने एउटा घर दिए पुग्छ । अरु सम्पत्तिमा लालच गर्दिनँ ।’
कृपासुरले चावहिलको घर कान्छी पत्नी कमलाको भएको बताउने गरेका छन् । गणेशको भनाइमा उनले धेरै सम्पत्ति आफ्नो नाममा नराखेर पत्नीको नाममा राखेका छन् । त्यही भएर उनले मेरो सम्पत्ति छैन भन्ने गरेका हुन् ।
नेपालआजसँगको कुराकानीका क्रममा गणेश धेरैपटक भक्कानिए । उनले आँशु थाम्न सकेनन् । आफ्नो जीवन अध्याँरोतर्फ गइरहेको उनले बताए । कृपासुरले आफूलाई यसरी दुःख दिए पनि आफूले आफ्ना छोराछोरीलाई दुःख नदिने बताए । उनले भने, ‘मैले त मेरै बाबुबाट बेदना पाएँ । म चाहिँ मेरा सन्तानलाई त्यस्तो अत्याचार गर्दिनँ ।’
र यो पनि,
►जागिर माग्न जाँदा, ‘मन्त्रीको छोरालाई ड्राइभरको जागिर दिन्न भन्छन्’