समाज

'मौरी लोप भए मानवजगत लोपोन्मुख हुने'

'मौरी लोप भए मानवजगत लोपोन्मुख हुने'
पुस - २ । स्थानीय जातका मौरीको अनुसन्धान, प्रवद्र्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैर सहकारी संस्था इजरायड र कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवनबीच सम्झौता भएको छ। सम्झौता पत्रमा इजरायडका प्रमुख बेन दगानी र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले इजरायडको कार्यालय बालुवाटारमा हस्ताक्षर गरेका हुन्। स्थानीय जात–एपिस, सेरेना र खिलरहित जातका मौरीबारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित पु¥याउन उक्त सम्झौता भएको उपकुलपति ढकालले जानकारी दिए। मौरीको संरक्षणबाट प्रभावकारी परागसेचन कार्यमा थप मद्दत पुग्ने र बोटबिरुवाको उत्पादनमा वृद्धि भई अन्ततः खाद्य सुरक्षाको प्रत्याभूति हुने विश्वास गरिएको छ । सम्झौता कार्यक्रममा इजरायडका प्रमुख बेन दगानीले स्थानीयस्तरमा मौरीपालनमा वृद्धि हुँदै जाँदा जैविक विविधताको संरक्षण एवम् वातावरणीय क्षेत्रमा सुद्धता कायम रहने विश्वास व्यक्त गरे। संसारमा पाइने नौ प्रजातीका मौरीमध्ये नेपालमा मात्र चार प्रजातीका मौरी पाइन्छ। नेपालमा हाल १० हजारदेखि १५ हजार जङ्गली (भीर मौरी) को गोला रहेको अनुमान छ। विभिन्न अध्ययन अनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिने अवस्था रहेको हुँदा यसले हिमाल, पहाड र तराई क्षेत्रमा भीर मौरी सङ्कटको आशङ्का रहेको देखिएको छ । प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइस्टाइन’ले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानवजगत लोपोन्मुख हुनेछ भनी उल्लेख गरेका छन्। नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरीपालन सुरु भएको इतिहास छ । यद्यपि २० वर्षसम्म एउटा मौरीपालन नीति नबन्नु महको गुणस्तरीयता मापनका लागि उच्चस्तरीय प्रयोगशाला नभित्राउनुले सरकार मह व्यवसायीप्रति जवाफदेही नभएको व्यवसायी पूर्णप्रसाद पाण्डेले आरोप लगाए। महका अन्तर्राष्ट्रिय व्यापारी जोन हकले नेपालमा उत्पादन भए सम्मको मह आफूले खरिद गरिदिने आश्वासन दिएका छन्। जोन हक नेदरल्यान्ड निवासी हुन् । उनले नेपाल सरकारले महको गुणस्तरीयता प्रमाणित गरी दिने हो भने नेपालबाट हजारौँ टन मह आफूले खरिद गर्ने आश्वासन दिए। मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालमा वार्षिक करिब एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुने गरेको र वार्षिक रु दुई अर्बको मह निर्यात हुने गरेका छन् । यो व्यवसायमा १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उनले जानकारी दिए। मौरीपालनबाट करिब ४ हजार घरपरिवार र करिव १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरीपालन केन्द्रीय सकारी सङ्घले जनाएको छ । सङ्घसंग आबद्ध सदस्यले वार्षिक १ हजार मेट्रिक टन मह उत्पादन गर्ने गरेका छन् । सरकरले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । मौरी घार तथा मौरी व्यवस्थापनका लागि सरकारले चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाले जनाएको छ । नेपाल महमा परनिर्भर छ । भारत, अमेरीका, डेनमार्क र चीनबाट करिव ६० करोडको मह आयात भएको मह व्यवसायी धर्मराज श्रेष्ठले बताए। नेपालमा मेलीफेरा र केरेना जातको मौरीबाट व्यबसायीक मह उत्पादन कार्य हुदै आएको छ । मेलीफेराका ३५ हजार घार र केरेनाबाट १ लाख २५ हजार गोलोद्वारा मह उत्पादन हन्छ । विश्वमा नौ थरीका मौरीबाट मह उत्पादन गर्न सकिन्छ । त्यस मध्ये नेपालमा मेलीफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुने गरेका छन् । सवैभन्दा महँगो मह भीर मौरीको हो । भीर मौरीबाट उत्पादित मह प्रतिकेजी दुई हजार पाँच सय देखि तीन हजारमा, केरेनाको महसात सय देखि एक हजार र मेलीफेराको मह चार सय देखि पाँच सय रुपैयाँसम्म विक्री हुदै आएको छ। नेपालमा मेलीफेरा जातको मौरीको व्यबसायीक उत्पादन हुदै आएको छ। विश्वमा सवैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरीका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्ष २ हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले प्रतिवर्ष २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ । नेपाली मह विश्वमा उत्कृष्ट मानिन्छ । विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दावी छ । मौरीपालन व्यबसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यवसाय वातावरण मैत्री व्यवसाय हो । व्यबसायी अर्जुन प्रसाद पोखरेलका अनुसार प्रागसेचन प्रक्रियामा मौरीको महत्व रहेको र वनस्पतिको अस्थित्वसमेत मौरीले नै जोगाइराखेको पाइन्छ। रासस

अल्वर्ट आइस्टाइन

विशेष