समाज

'नयाँ संविधानबाट नै यातायात व्यवसायीको हक सुनिश्चित हुने'

'नयाँ संविधानबाट नै यातायात व्यवसायीको हक सुनिश्चित हुने'
पुस - २ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले नयाँ संविधानबाट नै यातायात व्यवसायीको हक सुनिश्चित हुने बताएका छन्। टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घ, मकवानपुरको २५औँ वार्षिक साधारणसभा तथा रजत वर्षको शनिबार हेटौँडामा उद्घाटन गर्दै राज्यमन्त्री महतोले यातायात व्यवसायीका लगानी सुनिश्चित गर्न सरकार लागिपर्ने बताए। यातायात व्यवसायीका अप्ठ्यारामा सरकारले काम गर्ने बताउँदै उनले भने –'अहिलेको अवस्थामा सवारी चालकलाई चालक अनुमतिपत्र लिनका लागि तत्काल नखुलाएको हुनाले समस्या छ । यातायात व्यवसायीका लागि भनेर खुलेका सेवा केन्द्रहरु कामविहीन छन् । सबै काम लिएर वीरगन्ज जानुपर्ने समस्या छ । त्यसलाई हटाउनका लागि मैले पहल गर्नेछु ।' कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले यातायात व्यवसायीको लगानीको सुनिश्चितता सरकारले गर्नुपर्ने बताए। महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदी, अर्का उपाध्यक्ष भरत तिमल्सिना, महासचिव सरोज सिटौला, नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाका अध्यक्ष बद्रीप्रसाद चौलागाईं, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घ, मकवानपुरका अध्यक्ष प्रदीपराज गिरीको अध्यक्षतामा भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय राज्यमन्त्री

विशेष