गाविसको पैसा कुम्ल्याएर भागेका सचिव अहिले अज्ञातस्थलबाट पैसा फिर्ता गरिरहेका छन्
पुस ३ । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ ।
सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरेका छन् । उनले पोखरी गाविसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको खातामा दीपक नामबाट सो रकम जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक सिलगढीले जानकारी दिएको छ । सचिव सिंहले हिनामिना गरेको पोखरी गाविसको ३८ लाख ४४ हजार ७४३ मध्ये अब १३ लाख ५१ हजार ४९१ र जिजौडामाण्डौ गाविसको २९ लाख ७५ हजार ५०१ मध्ये अब १७ लाख १९ हजार १३० बुझाउन बाँकी रहेको छ । गाविस सचिव सिंहले दुवै गाविसको ६८ लाख २० हजार २४४ रकम बुझेर फरार भएका थिए ।
पोखरी र जिजौडामाण्डौ गाविसको रकम लिएर फरार सचिव अझै सम्पर्कमा आएका छैनन् । आफूले हिनामिना गरेको रकम भने जम्मा गर्न लागेको जिविस, डोटीले जनाएको छ ।
डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमका अनुसार गाविस सचिव सिंहले हिनामिना गरेको रकम फिर्ता गरे तापनि उनलाई कारबाही हुने छ । सरकारी कर्मचारीको नियम र मर्यादा विपरीत जाने जोकोही पनि कानुनी कारबाहीको भागी हुनुपर्ने गौतमको भनाइ छ ।