सुन्दरता र साहसको फ्युजन ‘सुजना’
साहस र सुन्दरतालाई फ्यूजन गर्यो भने के बन्ला ? जवाफमा कसैले ‘सुजना’ भनिदियो भने पनि गलत हुँदैन । तनहुँ विमलनगरकी सुजना श्रेष्ठ ‘२१’ सँग सुन्दरी प्रतियोगिताको एउटा ताज पनि छ । मिस तनहुँ भएपछि धेरैको अनुमान थियो, अब उनी मोडलिङमा जान्छिन् ।
मोडलिङ भन्दा पनि सुजनाको जीवन साहसिक ‘बाइक स्टन्ट’मा मोडियो । उपाधि उनले मिस तनहुँ जितिन तर टेलिभिजन र युट्युवमा महिलाको सुन्दरता सम्बन्धी सामग्रीमा भन्दा साहसिक खेलमा उनको ध्यान जान्थ्यो । युट्युबमा ‘बाइक स्टन्ट’ का एक से एक करामत देखेर उनलाई लाग्यो, ‘दुनियाँमा यस्तो पनि हुँदो रहेछ । गर्न त धेरै पो बाँकी रहेछ ।’
युट्युबमा देखिने त्यस्ता भिडियो सुजनाको मनमा गहिरो गरी बस्यो । उनले पनि बाइक स्टन्ट शुरु गरिन् तर साथमा थियो स्कुटी । खान मुखलाई जुँगाले कहाँ छेक्छ र ? बाइक नभएर के भो त स्कुटीमै उनले प्रयास गर्न थालिन् ।
सुजनाले विभिन्न शैलीका बाइक स्टन्टका टेक्निक सिकिसकेकी छन् । बाबु लालकुमार श्रेष्ठ र आमा कृष्णकुमारी श्रेष्ठकी छोरी हुन् सुजनाको ज्यान स्टन्ट गर्ने खालकै देखिन्छ । हट्टाकट्टा खाइलाग्दी सुजनालाई केटाले गर्ने काम यो र केटीको काम त्यो भनेर घरमा कहिले कसैले सिकाएन । बाबु लालकुमार श्रेष्ठको सोच छ, ‘साहसिक खेल होस वा अरु कुनै राम्रो काम, जसले गरे पनि हुन्छ । कामले लैगिक विभेद गर्दैन । विभेद त हामीले गर्ने हो ।’
सुजनाले मोटरसाइकल आफ्ना बाबुकैबाट सिकिन् । बाबुले उनकी दिदीलाई सिकाए । दिदीले सुजनालाई । सात कक्षा पढ्दै मोटरसाइकल चलाउन उनले जानी सकेकी थिइन् ।
स्टन्ट गर्न थालेपछि सुजनाकी आमा कृष्णकुमारी चोटपटक लाग्ला कि भनेर चिन्तित हुन्थिन् । बाबु लालकुमारलाई चाहिँ फरक पर्दैन थियो । स्टन्ट गर्दा छोरी लड्लिन, चोटपटक लाग्ला कि भन्ने भविष्यको सम्भावनामा चिन्तित हुँदैन थिए । बरु सधै भन्ने गर्थे, ‘तिमीले सिक्नु पछ्र्र ।’
उनले स्टन्ट गर्न थालेको करिब दुईवपर्ष भईसक्यो । तर, अहिलेसम्म कुनै दुर्घटना भएको र चोटपटक लागेको सम्झना भने नभएको उनी बताउँछिन् । कलेज पढ्न थालेपछि उनका बुवाले स्कुटर किनिदिए । त्यसपछि उनले स्कुटरबाटै स्टन्ट सिक्न थालिन् ।
स्कुटरमै स्टन्ट ? भनेर मानिसहरु चकित हुन्थे । किनभने धेरै मानिसहरु ‘स्कुटरमा भनेको बेलामा ब्रेक लाग्दैन कसरी उड्छ ? भन्थे । तर, ,सुजनाले स्कुटरबाट पनि स्टन्ट देखाउन सकिन्छ भनेर देखाइन् । एक्लो बसेर मात्रै होइन पछाडि सिटमा मान्छे राखेर पनि उनी स्टन्ट गर्छिन् ।
उनले भनिन्, ‘स्कुटीबाट स्टन्ट हुँदैन भन्ने मानिसहरुको भ्रम छ, तर त्यसको लागि टेक्निक, मिहेनत र धैर्य चाहिन्छ ।’
सुजना सानैदेखि साहसिक खेलमा रुचि राख्ने गर्थिन् । साहसिक कुनै खेल या प्रतियोगीता भएमा उनले छुटाउँदिन थिइन् । केही समयअघिमात्र भएको स्टन्ट ब्याटलमा उनी फर्स्ट रनर अप भएकी थिइन् ।
कान्तिपूर टेलिभिजनबाट प्रशारण हुने पल्सर डेयर भेन्चर सिजन २ मा उनी अहिले टप टेनमा परेकी छिन् । करिब १ हजार ६ सय प्रतियोगीलाई उछिन्दै अहिले उनी टप १० मा परेकी हुन् । यो प्रतियोगिता पहिलो वर्ष पनि भएको थियो तर सुजनाले त्यसबारे ढिलो थाहा पाइन् ।
यो वर्ष भने उनी आफू पल्सर डेयर भेन्चरको फेसबुक पेजमा अपडेटेड भएकोले थाहा पाइन् र तुरुन्तै भाग लिइन् ।
उक्त प्रतियोगितामा केटा र केटी भनेर नछुटाइने उनले बताइन् । तर, शारिरिक रुपमा महिला पुरुष कहिल्यै समान हुन सक्दैनन् जुन प्रकृतिकै देन हो । त्यसकारण कत्तिको गाह्रो छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘गाह्रो पक्कै छ । त्यसमाथि पनि महिलाको केही शारीरिक विशेषता पुरुषको भन्दा फरक हुन्छ । जसले काममा केही अवरोध त गर्छ नै । तर सफलता त्यसैले पाउँछ, जसले अवरोध पार गर्न सक्छ । ’
पल्सर डेयर भेन्चरको फाइनल आउन केही समयमात्रै बाँकी छ । जनावरी ५ मा हुन लागेको उक्त प्रतियागिताको फाइनलको लागि आफू निकै आशावादी भएको सुजना बताउँछिन् । आफ्ना साथीभाइ, शुभचिन्तक, परिवार र फ्यानहरुको माया र साथ पाइरहेको र यो साथले साथ दिएसम्म आफूमा हौसला अझै नै बढ्ने उनले बताइन् ।
तनहुँको सिकेबीकेमा स्नातक तेस्रो वर्षमा अध्ययनरत सुजना अहिले ‘लेडि स्टन्ट राइडर’को नामले चर्चित छिन् । ह्वीली, स्टोपी, बर्नआउट, सुसाइड वर्नर, रकेट वर्नआउट, ह्युमन कम्पास, सिट सस्टाण्ड, स्लाइड स्केच, लेजीबोइ, ल्याण्डस्केप, हाइचेयर, फ्लेमिङ गोजस्ता स्टन्ट गर्न पोख्त छिन् ।
नेपालका लेडि स्टन्ट राइडरका नामवालीमा अहिले उनी पनि थपिएकी हुन् ।स्टन्टको लागि उनी दिनहुँ तीन घण्टा समय दिने गर्छिन् । उनले प्राक्टिस नगरेको त्यस्तो कुनै पनि दिन हुँदैन ।
उनको स्टन्टको माग विभिन्न क्षेत्रमा हुने गर्छ । ‘प्रोफेस्नल स्टन्ट राइडर’ हुने तरखरमा रहेकी सुजनाले ‘सो’ लागि रकम लिन्छिन् ।
आफूले गर्ने मेहनत आफ्नो ठाउँमा रहेको र त्यसको आफूले जति नै प्रयास गरेपनि त्यसलाई अझ सुन्दर बनाउन दर्शकको साथ चाहिने उनको बुझाइ छ । त्यसकारण डेयर भेन्चरको लागि सहयोग र साथ दिन उनले सबैलाई अपिल गरेकी छिन् ।
उनलाई भोट गर्न एसएमएस ,मार्फत मोबाइलको मेसेज बक्समा गई PDV टाइप गरि एक स्पेस दिएर sujana लेखेर 33131 मा पठाउन सकिन्छ । यो भोट जनावरी ५ सम्म गर्न सकिन्छ ।
प्रस्तुतिः कञ्चन न्यौपाने
female biker sujana shrestha