राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

पुस–३ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले अाइतबार तालाबन्दी गरेको छ ।
उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले हटाएको भन्दै तराई–मधेस लोकतान्त्रिक पार्टी निकट सङ्घले ५ बुँदे माग राखेर तालाबन्दी गरेको हो ।
सङ्घले म्याद सकिएका तीनजना कर्मचारीलाई तत्काल म्याद थप गरी काममा लगाउनुपर्ने, उनीहरुको विगत चार महिनादेखिको तलब दिनुपर्ने, परीक्षामा पर्यवेक्षकका रुपमा खटिएका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, प्राध्यापक सङ्घसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, बोर्डका अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष उदय तिवारीले बताए ।
बोर्डका सदस्य सचिव गौतमले भने नयाँ शिक्षा ऐनले तत्कालीन परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै अनुगमन र म्यापिङको काम शिक्षा विभाग मातहत हुँदै आएकाले उनीहरुलाई हटाएको प्रतिक्रिया दिए । बोर्डलाई आवश्यकता नै नभएको कर्मचारी हटाइएको बताउँदै सदस्य सचिव गौतमले भने – “विगतमा यहाँबाट हुँदै आएको सम्बधन, अनुगमन, म्यापिङ्को काम अहिले शिक्षा विभागले गर्छ । पाठ््यक्रमको काम पाठ्यक्रम विकास केन्द्रले गर्छ । तालिमको काम शैक्षिक जनशक्ति विकास केन्द्रले गर्छ । अहिले बोर्ड परीक्षासम्बन्धी काम मात्रै गर्ने हो । बोर्डलाई आवश्यक नभएको कर्मचारी हटाइएको हो ।”
हटाइएका कर्मचारीलाई गत कात्तिक २४ गते नै पुस १ गतेदेखि बोर्डमा राख्न नसकिने जानकारी गराई सकिएको सन्र्दभमा तालाबन्दीको कुनै अर्थ नभएको उनको भनाइ छ । रासस
तालाबन्दी
राष्ट्रिय परीक्षा बोर्ड