Technology समाज

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु
पुस–३ । अाइतबारदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गरे । पूर्व श्रम स्वीकृति अाइतबारबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ । मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिए । सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ । अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ । यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ । बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ । मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिए । नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस

अनलाइन प्रणाली पूर्व श्रम स्वीकृति वैदेशिक रोजगारी

विशेष