समाज

पहाडी जिल्ला अलग गर्न नहुने माग गर्दै धर्ना

पहाडी जिल्ला अलग गर्न नहुने माग गर्दै धर्ना
पुस–४ । गुल्मेली समाजले प्रदेश नं ५ बाट पहाडी र तराई–मधेसका जिल्ला अलग गर्न नहुने माग गर्दै माइतीघर मण्डलमा साेमबार धर्ना दिएको छ । लुम्बिनी अञ्चलका विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले राष्ट्रिय झन्डामुनि गोलबद्ध भई विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा सहभागी वक्ताले त्यस क्षेत्रमा तराई र पहाडलाई एकापसमा छुट्याउन नहुने माग गरे । सांसद चन्द्र भण्डारीले सदियौँदेखि मिलेर बसेका त्यस क्षेत्रका जनतालाई भौगोलिक रुपमा विभाजन गरी भावनात्मक रुपमा कमजोर बनाउन खोजिएको भनी चिन्ता व्यक्त गर्दै सबै जनता एकजुट भई त्यस्तो प्रस्तावलाई विफल बनाउनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आरसी न्यौपानेले राष्ट्रलाई विखण्डन गर्ने कुरामा स्थानीय नेता राजनीतिक दलभन्दा माथि उठेर एकजुट भई मोर्चाबन्दी गर्नुपर्ने बताए । स्थानीय नेता गोकर्ण बन्जाडे, मोती भण्डारी, लेखनाथ पोखरेल, विष्णु सापकोटालगायतले संविधान संशोधनको प्रस्तावमा विवाद नै नभएको ५ नं प्रदेशलाई टुक्र्याउन खोजिएकाले सो विषय सच्याउन माग गरे । समाजका महासचिव टङ्क पन्तले सरकारले सो प्रस्ताव नसच्याइएमा आन्दोलनलाई निरन्तरता दिइने बताउँदै दबाबका लागि थप सशक्त कार्यक्रम गरिने जानकारी गराए । रासस

गुल्मेली समाज धर्ना

विशेष