पूर्व डा. बबन सिंह भएको पार्टीमा डा. बाबुरामको नम्रताको रहस्य
ध्रुव रिजाल
एक पटक कान्तिपुर टेलिभिजनले नेपालमा अबको नयाँ प्रधानमन्त्री को ? भन्ने प्रश्नमा चार सम्भावित नेताको नाम छनौटमा राखेको थियो । ती चार मध्ये एक थिए डा. बाबुराम भट्टराई । दर्शकले भोट गर्दा अधिकांशले भट्टराई रोजे । बाबुरामलाई छनौट गर्ने ८० प्रतिशत भन्दा बढी थिए ।
नभन्दै त्यसको केही समयपछि भट्टराई प्रधानमन्त्री भए । काठमाडौंका सडक विस्तार, हेल्लो सरकार, जनतासंँग प्रधानमन्त्री, प्रधानमन्त्रीसँग सिधा कुरा, राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको सोझो चासो आदि कार्यक्रम उनले सञ्चालन गरे । ती कार्यक्रम सफल भए । उनले धेरै गर्न त पाएनन् तर गर्न खोजेको छाप पारेर गए ।
भट्टराईले आफ्नै प्रधानमन्त्री कालमा भारतलाई खुसी पार्न गरेका केही कामहरु त्यो बेला ओझेलमा परे । जस्तो कि भारतीय दूतावासले सोझै ५ करोडसम्मका परियोजना सञ्चालन गर्न पाउने, बिप्पा सम्झौता, पशुपतिमा भारतीय भट्ट नै हुनु पर्ने नियमलगायतका कामले उनको झुकाव प्रष्ट भयो । त्यो भन्दा धेरै अघि जनयुद्धकालमै भारतको विदेशमन्त्रालयलाई ‘भारत हित विपरीत केही गर्दैनौं, भारतमा बसेर नेपालमा बम पड्काउँछौं’ भन्ने आशयको पत्र बुझाउने बाबुराम नै थिए ।
संविधान जारी भएपछि भारतले नाकाबन्दी गर्यो । यो नाकाबन्दीमार्फत दिल्लीको सिधा सन्देश थियो, ‘नेपाल स्वाधीन छैन । आफूखुसी संविधान जारी गर्दाको सजाय हो यो ।’ स्वाधीनताको लडाई सोझै लड्नु पर्ने बेला थियो त्यो । टुटेका फुटेका नेपालीका मन पनि भारतीय अत्याचारविरुद्ध एक भएका थिए । केही बाहेक सबैजसो दलका मानिसहरुमा समेत भारतविरोध समान भावना पाइयो । स्वाधीनताको लडाईमा एक हुनुपर्नेमा बाबुराम भट्टराईले के गरे ?
उनले आफनो पार्टी छाडे । उनले आफ्नो पार्टी छाड्नु र समाउनुसँग अरुलाई के मतलव हुन्छ र ? माओवादीसँग कुनै सम्बन्ध राख्न नचाहनेले पनि यहि भन्छन् कि एक भएर भारतको विरोध गर्नुपर्ने बेलामा बाबुरामले आन्तरिक कलहलाई बाहिर ल्याए । उनले केही महिना पर्खेर पनि पार्टी छाड्न सक्थे । तर त्यसो गरेनन् । उनले त्यो बेला बेला बिग्रह गरे जुन बेला देशले एकता खोजिरहेको थियो । उनको त्यो कदमपछि भारतीय गुप्तचर संस्था ‘र’ का एक एजेन्टले भेटेर बधाई दिएको खबर बाहिरिएको थियो ।
यी घटनाक्रमले बाबुरामको छवि धुमिल भइसकेको छ । उनका हरेक गतिविधिलाई मानिसहरुले शंकाको दृष्टिले मात्रै हेर्ने गर्छन् । कान्तिपुर टेलिभिजनको भोटिङको हवला दिएर प्रचण्डसँग प्रधानमन्त्रीको बार्गेनिङ गर्ने बाबुराम अहिले आफ्नो फेसबुक पेजमा फलोअरको गालीको वर्षा देखेर के सोच्दा हुन् ?
बाबुरामले बनाउन खोजेको पार्टी केटाकेटीले खेल्ने ‘टाला टुली बाटुली’ भन्दा फरक हुन सकेको छैन । यदि यो पार्टीबाट बाबुरामलाई एक छिन बाहिर राखेर बाँकी अनुहार हेर्दा नयाँ शक्तिका शुभेच्छुकले आफ्ना नेता भेट्ने छैनन् । मुमाराम खनालले पार्टी छाडिसकेका छन् । संघीय समाजवादी फोरम नेपालसँग नयाँ शक्तिको एकता भयो भने रामेश्वर खनालले पनि छाड्ने समाचार बाहिरिएको छ ।
नयाँशक्ति र संघीय समाजवादीबीचको एकता हुन सक्ने उपेन्द्र यादवले पनि संकेत गरेका छन् । यसको केही पूर्वतयारी शुरु भइसकेको छ । बाबुरामलाई आफ्नो नेतृत्वमा बन्ने नयाँ शक्तिले चुनावमा कुनै प्रभाव पार्न सक्दैन भन्ने स्पष्ट थाहा छ । बढीमा बाबुरामले गोर्खाबाट एक सिट जित्न सक्छन् । बाबुरामलाई अहिले चलेको चुनाव चिन्हको छहारी चाहिएको छ । उनले त्यो चुनाव चिन्ह ‘हातले बोकेको मसाल’ छान्न खोजेका छन् ।
बाबुराम र उपेन्द्र यादवको झुकाव एक आपसमा मिल्दैन । मुमाराम खनालले कुनै बेला बाबुरामको आत्मामा नै भारत बसेको टिप्पणी गर्थे । तर उपेन्द्र यादवका झुकाव भारततिर होइन । आन्दोलनको बेला भारतले गरेको नाकाबन्दीलाई ‘हामीले गरेको हो’ भनेर उपेन्द्रले भारतभक्ति देखाएको धेरैको बुझाइ छ । तर त्यस्तो होइन । उपेन्द्रको त्यो कदम ‘आत्मा बेचेर होस या देश बेचेर, राजनीतिमा स्थापित हुनुपर्छ’ भन्ने मान्यताबाट निर्देशित थियो । राजनीतिमा गुमेको शाख फिर्ताका लागि उपेन्द्र जे पनि गर्न तयार थिए । त्यसको प्रमाण तराईमा मारिएका ५६ जना, पाँच महिनाको नाकाबन्दी आदि हो ।
राजनीतिक विश्लेषक भरत दाहालको मतमा अहिले भारतले बाबुरामलाई विश्वास गर्दैन । कांग्रेस आइले स्थापना गरेको संरचनालाई भत्काएर भाजपाले नयाँ संरचना तयार पारिरहेको छ । नयाँ संरचनाले बाबुरामलाई पत्याएको छैन । दाहाल भन्छन्, ‘भारतको हित हुने गरी नेपालमा राजनीति गर्ने ‘विश्वासीलो पात्र’ को हैसियत अहिले बाबुरामले गुमाएका छन् ।’
‘त्यो हैसियत दिने भए देउ नत्र तिमीहरुलाई पनि अप्ठ्यारो पार्छु’ भन्ने सन्देश दिन बाबुरामले यसबीच धेरै स्टन्ट गरिसकेका छन् । केपी ओलीले नाकाबन्दीको विरोध गर्दा बाबुरामले भनेका थिए, ‘केपी ओलीले भारत र चीनलाई भिडाउने कोसिस गरिरहेका छन् ।’ यो भारतभक्तिको पराकाष्ठा र नेपाली सार्वभौमतामाथि बाबुरामले हानेको बञ्चरो थियो ।
त्यसयता बाबुरामले लोकमान प्रकरणमा तिनै केपी ओलीलाई सहयोग हुने गरि अभिव्यक्ति दिए । र ‘लोकमान हटाउनु पर्छ’ भने । भारतमा १२ बुँदे सम्झौता गर्नु गम्भीर भूल भएको पनि भने । १२ बुँदेलाई भारतले गर्वका रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्छ । त्यतिमात्रै होइन अहिले उपेन्द्र यादवको पार्टीसँग मिलेर बाबुरामले भारत तर्साउन खोजेका छन् ।
भारतकै डिजाइनमा निर्माण भएको तमलोपासँग एकता गर्दा भारत खुसी हुने थियो । तर उनी संघीय समाजवादीसँग मिल्न खोज्दैछन् । जबकी संघीय समाजवादीमा अर्का डा’साब –अर्थात पूर्वडाका बबन सिंह पनि छन् । पूर्व डा. बबन र डा. बाबुरामबीचको सहकार्य भयो भने नेपाली राजनीतिमा अर्को चटक हुनेछ ।
baburam bhattarai upendra yadav