मनोरञ्जन

कलिउडमा विवाहितकै हालिमुहाली

कलिउडमा विवाहितकै हालिमुहाली

बिहे गरेपछि हिरो–हिरोइनका फ्यान घट्छन् भन्ने बुझाइ आमफिल्मकर्मीमा छ । बलिउडमा बिहेपछि अधिकांश हिरोइनको करिअर ओरालो लागेको देखिएको छ ।

तर, नेपाली फिल्म उद्योगमा भने विवाहित हिरोइन नै चर्चित र सफल देखिएका छन् । बलिउडमा बिहेअघि जमेका श्रीदेवी, माधुरी दीक्षित, शिल्पा सेठ्ठी, विद्या बालन, करिश्मा कपुर, आयसा टकिया, करिना कपुरमध्ये केही बिहेपछि त्यत्तिकै थन्किए । कोही त फिल्मविहीन नै भए । अनि, केही भने आमा बनेपछि पुनः अभिनयमा कमब्याक भए । तर, चलेनन् ।

नेपाली फिल्ममा भने विवाहित हिरोइन नै चलेका छन् । करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, प्रियंका कार्की या सञ्चिता लुइँटेल सबै फिल्म अभिनयमा व्यस्त छन् ।

यो अर्को कुरा हो कि, रेखा छविराज ओझासँग सम्बन्धविच्छेद गरेर एक्लै छिन् । प्रियंका रोचक मैनालीसँग डिभोर्स गरेर सिंगल छिन् । अनि, सञ्चिता निखिल उप्रेतीसँग दोस्रो बिहे गरेर दुई सन्तानकी आमा बनिसकेकी छिन् । तर, पनि यी अभिनेत्रीहरू अभिनयमा निरन्तर छन् ।

करिश्मा मानन्धर र विनोद मानन्धरबीच ‘कस्तुरी’ फिल्मको सुटिङका क्रममा मायाप्रेम बस्यो । प्रेम भएको केही समयमै उनीहरूले बिहे गरे । करिश्मा बिहेपछि नै हिरोइनका रूपमा चर्चित भएकी हुन् ।

एक समयकी नम्बर एक हिरोइन करिश्मा अहिले पनि फिल्म अभिनय र निर्माणमा निरन्तर छिन् । पूजा चन्द एक समय चर्चित थिइन् । सुरज चन्दसँग बिहे गरेपछि नै उनी हिरोइनका रूपमा चिनिएकी हुन् ।

श्याम भट्टराईसँग बिहे गरेपछि नै रञ्जना शर्मा फिचर फिल्मकी हिरोइन बनेकी हुन् । यद्यपि, अहिले उनीहरू छुट्टाछुट्टै बस्ने गरेका छन् । श्याम अमेरिकामा छन् भने रञ्जना पनि लामो समय अमेरिका बसेर केही साताअघि काठमाडौँ आएकी थिइन् । आफ्नो समयकी सफल अभिनेत्री गौरी मल्लले बिहेपछि पनि अभिनयलाई निरन्रता दिइन् । पति उज्वल भण्डारीसँग सम्बन्धविच्छेद गरे पनि उनले कलाकारिता छाडेकी छैनन् । गायक धीरज राईकी पूर्वपत्नी छुल्ठिम गुरुङ अभिनेत्री हुँदै ‘डायरी’बाट निर्मात्री बनेकी छिन् । बिहेपछि नै उनले अभिनय करिअर सुरु गरेकी हुन् । एक समयकी चर्चित अभिनेत्री मौसमी मल्ल पनि विवाहित थिइन् ।

बिहेपछि नै उनी हिरोइनका रूपमा चम्किएकी हुन् । पति धनबहादुर मल्ललाई छाडेर एकाएक बेल्जिमय उडेकी मौसमीले केही वर्षपछि स्वदेश फर्किएर ‘गिरफ्तार’ र ‘समय’ फिल्म निर्माण गरिन् । गिरफ्तारले राम्रै व्यापार गरे पनि समयले उनलाई डुबायो । मौसमी अचेल आफ्नो गृहनगर चितवनमा बस्ने गर्छिन् । झरना थापा भने ‘ए मेरो हजुर–२’ फिल्मबाट निर्देशक बनेकी छिन् । सुनीलकुमार थापासँग बिहे गरेपछि उनी होम प्रोडक्सनको ‘धर्मसंकट’ फिल्मबाट हिरोइन बनेकी हुन् ।

यद्यपि, उनले बिहेअघि दयाराम दाहालको ‘दाइजो’ फिल्ममा छोटो भूमिका निर्वाह गरेकी थिइन् । बिहेपछि नै उनी हिरोइनका रूपमा चम्किएकी हुन् । उनले सवा एक सय फिल्ममा अभिनय गरिसकेकी छिन् । झरना पतिको पूर्ण साथ र समर्थनले गर्दा नै अभिनयमा निरन्तर र सफल भएकी हुन् । पूर्वमिस टिन प्रियंका कार्की अहिलेकी सर्वाधिक चल्तीमा रहेकी अभिनेत्री हुन् । हिरोइन बन्नुअघि उनी रोचक मैनालीसँग बिहे गरेर अमेरिका गएकी थिइन् ।

तीन–चार वर्ष अमेरिका बसेपछि श्रीमान्सँग उनको सम्बन्ध बिग्रियो । त्यसपछि उनी औपचारिक रूपमा सम्बन्धविच्छेद गरेर नेपाल आइन् र अभिनयमा सक्रिय भइन् । अभिनयमै करिअर बनाउने लक्ष्य लिएकी प्रियंकाले अझै केही समय ‘सिंगल’ बस्न चाहेकी छिन् । कइढन्जघम्ख।मउगा

Karishma Manandhar priyanka karki rekha thapa

विशेष