समाज

मावि चलाउन २१ लाख चन्दा

मावि चलाउन २१ लाख चन्दा
पुस–६ । जिल्लाको अधिकारीचौरस्थित विद्या विकास माध्यमिक विद्यालयलाई स्थानीयवासीले २१ लाखभन्दा बढी रकम चन्दा सहयोग गरेका छन् । चालु शैक्षिकसत्रदेखि मावि तह सुरु गरेको विद्यालय आर्थिक समस्यामा परेपछि गाउँलेले रकम जुटाएका हुन् । विद्यालय प्रभावित क्षेत्रका ५० भन्दा बढी घरधुरीबाट २१ लाख २८ हजार रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको जनाइएको छ । शिक्षकको तलबभत्ता, पूर्वाधार निर्माण र कक्षा व्यवस्थापनका लागि सहायता जुटाइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढाका अनुसार अभिभावकले न्यूनतम पाँच हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग गरेका छन् । दलित र जनजाति समुदायका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयको मावि तह चलाउन समस्या भएपछि चन्दा सहयोग उठाइएको हो । “न्यून शिक्षक दरबन्दीका कारण आर्थिक भार थेग्न नसकेपछि अभिभावकबाट चन्दा सङ्कलन गरेका हौँ,” अध्यक्ष बुढाले भने– “चन्दा रकमबाट कोष निर्माण गरी त्यसैबाट विद्यालय चलाएका छौँ ।” विद्यालय सञ्चालनका लागि अन्य कुनै स्रोत नभएपछि अभिभावकबाट चन्दा उठाउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यसअघि नजिकमा मावि तहको विद्यालय नहुँदा विद्यार्थीलाई घन्टौँ लगाएर अन्यत्रको विद्यालयमा जानुपर्ने बाध्यता थियो । विसंं २०१९ मा स्थापना भएको यस विद्यालयमा अधिकारीचौर–४, ५ र ६ का तीन सय १५ जना विद्यार्थीले पढ्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक खुमबहादुर अदै र अधिकारीचौर वडा नं ५ का सुरेन्द्रकुमार बुढामगरले सबैभन्दा बढी एक–एक लाख रुपैयाँ सहयोग गरेका हुन् । कमजोर आर्थिक अवस्था भएका ३८ घरधुरीबाट चन्दा सहयोग नउठाइएको विद्यालयले जनाएको छ। विद्यालयमा एकजना शिक्षकको पनि स्थायी दरबन्दी छैन । आधारभूत तहमा चार अस्थायी र दुई राहत दरबन्दीका शिक्षकबाहेक सबै शिक्षक निजी स्रोतबाट राखिएको छ । निजी स्रोतका शिक्षकलाई तलबभत्ता खुवाउन मात्रै वार्षिक पाँच लाख ७६ हजार रुपैयाँ खर्च हुने गरेको विद्यालयले जनाएको छ। शिक्षक दरबन्दीको असमान वितरणले पनि दुर्गमका विद्यालय यसरी नै समस्यामा पर्ने गरेका छन् । अहिले पनि सुगमका विद्यालयमा दरबन्दी बढी हुने र दुर्गममा न्यून हुने समस्या यथावत् छ। अर्थाभाव झेलेका विद्यालयले चन्दा सहयोगबाटै विद्यालय धान्दै आएका छन् ।  रासस

चन्दा विद्यालय

विशेष