समाज

बयासी बर्षिय वृद्धको बिलौना, न खाने अन्न छ न ओडने कपडा

बयासी बर्षिय वृद्धको बिलौना, न खाने अन्न छ न ओडने कपडा

पुस ७ । भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरबारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षीया वृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य भएकी छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ खबरा, पिपलडाँडाकी ८२ वर्षीया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरूको घरमा एक्लै, भोकभोकै र कपडाको अभावमा पुसको जाडोमा कठ्याङ्गिदै अाएकी छन् । १० वर्षअघि श्रीमान् प्रेमबहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति बेचेर सकेपछि घरबारविहीन भएकी भण्डारी ९ वर्षअघि श्रीमानको समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर बसेकी छन् । भण्डारीले आफ्ना छोराछोरी र कतै आफन्त पनि नभएको बताइन ।

बेनी नगरपालिका–४ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारी खाने खर्च नभएपछि पाँच दिनदेखि अरूले दिएको अन्न एक छाक मात्र खाएर बसेको बताइन । “आज पाँच दिन भयो, एक छाक मात्र खाएर बसेकी छु, आफ्नो खेतबारी केही छैन, किनेर खाने पैसा पनि छैन, अरूले दया गरेर दिएको खानेकुरा फारु गरेर एक छाक मात्र खान्छु ।”

वृद्धा भण्डारीले सहृदयी व्यक्ति र सङ्घसंस्थासँग जाडो कटाउनका लागि केही कपडा र खानेकुरा सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । “म बेसहारा छु, न सम्पत्ति छ, न आफन्त कोही छन”, भण्डारीले गहभरि आँसु निकालेर भनिन् । “म बूढीलाई कसैले सहयोग गरे धेरै धेरै आशिष लाग्ने थियो ।”

Indra Kali Bhandari

विशेष