साढे चार दशकपछि शुक्लाफाँटा भयो राष्ट्रिय निकुञ्ज
पुस–७ । स्थापना भएको साढे चार दशकपछि कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी बिहिबारदेखि राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको छ ।
विसं २०२६ मा शाही सिकार आरक्षका रुपमा स्थापित शुक्लाफाँटालाई २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा रुपान्तरण गरिएको थियो ।
मन्त्रिपरिषद् बैठकको बिहिबारको निर्णयले शुक्लाफाँटाको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आरक्ष निकुञ्जमा परिणत भएसँगै अन्तर्राष्ट्रियस्तरमा पनि यसको गरिमा बढ्नुका साथै बाह्य पर्यटक आवागमन बढी हुने बताए ।
“अब पर्यटन भित्र्याउन बढावा मिल्छ”, ढकालले भने, “पर्यटकीय पूर्वाधार निर्माण गर्न पनि सघाउ पुग्छ ।”
शुक्लाफाँटामा विश्वमा दुर्लभ बाह्रसिङ्गालाई दुई हजारभन्दा बढीको झुन्डमा देख्न पाइन्छ । थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ । सङ्कटापन्न वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिइँदै आएको आरक्ष पर्यटकीय दृष्टिले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायीको बुझाइ छ ।
नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयरमजुर रहेको शुक्लाफाँटाभित्र तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदानसमेत रहेको आरक्ष कार्यालयले जनाएको छ ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षको दिगो व्यवस्थापन गर्न यसको आम्दानी वृद्धि गर्नुपर्ने तथा स्थानीय समुदायलाई बढीभन्दा बढी पर्यटकीय गतिविधिमा संलग्न गराउन आवाज उठिरहेको थियो ।
गत वर्ष कञ्चनपुरको नवौँ जिल्ला परिषद्बाट आरक्षलाई निकुञ्जमा परिवर्तन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत भएको थियो । रासस
शुक्लाफाँटा वन्यजन्तु आरक्ष