ताजा खबर समाज

ज्ञानेन्द्रको छोरी प्रेरणाको दाइजोको मिसिल सर्वोच्चले हेर्ने

ज्ञानेन्द्रको छोरी प्रेरणाको दाइजोको मिसिल सर्वोच्चले हेर्ने

पुस ८ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौँ छाउनीस्थित घरजग्गासम्बन्धी सम्पूर्ण मिसिल कागजात सर्वोच्च अदालतले अध्ययन गर्ने भएको छ,। प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार मिसिल कागजात झिकाउने आदेश गरेको हो । इजलासले सम्बन्धित मिसिल कागजात सात दिनभित्र झिकाउनुका साथै १५ दिनभित्र निर्णयार्थ पेशीमा चढाउनसमेत आदेश दिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ असोज २१ को स्व। राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको नाममा रहेको जग्गाजमीन नेपाल ट्रस्टको नाममा नामसारी गर्न भूमिसुधार तथा व्यवस्था मन्त्राललाई लेखी पठाउने भनी भएको निर्णय र २०६७ कात्तिक ८ को उक्त जग्गा नेपाल ट्रस्टको नाममा सम्पत्ति कायम गर्ने विषयको निर्णयका प्रमाणित प्रतिलिपि सात दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउनू,’ आदेशमा उल्लेख छ ।

यस्तै इजलासले तत्कालीन अधिराजकुमारी विजया राज्यलक्ष्मीको नाममा भएको २०२५ कत्तिक १८ गते पारित राजीनामा लिखत र उहाँको स्वर्ग भएपछि महाराजाधिराज राजदरबार नारायणहिटीको नाममा नामसारी गर्ने गरी डिल्लीबजार मालपोत कार्यालयबाट २०४९ कात्तिक २५ गते भएको २८२ नम्बरको मिसिलका प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको छ ।

सर्वोच्चले तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोस्वरूप दिएको लिखतको मिसिलसमेत झिकाउने आदेश गरेको छ ।

गोरखापत्र

Prerana Shah

विशेष