विचार

दबाब नदिने हो भने यो सरकारले नेपाली सेनालाई भारतको झन्डामुनि पुर्‍याउँछ

–डा. उमेश भट्टराई, पूर्वरथी नेपाली सेना भारतले जब जब नेपालको राजनीतिक धुमिल भएको हुन्छ, जब नेपालको शासन सत्तामा कमजोर शासकहरु बसेका हुन्छन्, जुन बेला उसको प्रभाव नेपालमा बढी जमेको हुन्छ, त्यो बेला नेपालको सार्वभौमसत्ता नै समाप्त पार्ने योजनासहित भारत अगाडि आउँछ । अहिले जुन नेपाली सेनालाई भारतले ‘सब–रिजनल’ सेनाको रुपमा भारतको नेतृत्वमा संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गराउन लागेको भनेर आएको छ –यो विषय पुरानै हो ।

आजभन्दा ठीक एक वर्ष अघि काठमाडौंमा एक सेमिनार भएको थियो । त्यो सेमिनार जर्मनीको एक एनजिओ फ्रेडिरक इबर्ट स्टिफटंग (एफएएस–नेपाल) नेपालले आयोजना गरेको थियो । मल्ल होटलमा आयोजित सो समारोहको संयोजन देवराज दाहालले गर्नुभएको थियो । कार्यक्रममा भारतीय सेनाका पूर्वजनरल अशोक मेहता पनि सहभागी थिए । त्यो बेला नेपालमा भारतको नाकाबन्दी चलिहरको थियो । मन्तव्यका क्रममा मेहताले अफगानिस्तानमा सार्कको तर्फबाट शान्ति सेना पठाउने र त्यसको नेतृत्व भारतले गर्ने, भारतको नेतृत्वमा नेपालले पनि शान्ति सेना पठाउँदा राम्रो हुने र त्यसका लागि नेपालले चासो दिनु पर्ने धारणा राखे ।

कार्यक्रममा म पनि थिएँ । उनको विचारलाई मैले मात्रै होइन अरुले पनि यो किमार्थ समभव छैन भनेर भन्यौं । हामीले नेपालको शान्ति सेनाको योगदान विशिष्ट छ । नेपाली सेना अहिलेसम्म यूएनकै झन्डामुनि शान्ति स्थापनाका लागि खटिएको छ । १९५८ यता नेपाली सेनाले शान्ति स्थापनाका लागि धेरै काम गरिसकेको छ । योगदान विशिष्ट छ । कुनै ‘सब रिजनल’ वा अरु कसैको पनि झन्डामुनी नेपाली सेना काम गर्दैन भनेर हामीले भन्यौं ।

त्यो कुरा मैले त्यसैबेला सामाजिक सञ्जाल लिंक्ड इनमा राखेको थिएँ ।

अब प्रश्न उठ्छ भारतले नेपालसँग नेपालको स्वाभिमानमा आँच पुर्याउने दृष्टिले किन बेलाबखत यस्ता प्रस्ताव गरिरहन्छ त ? स्पष्टै छ भारतको यो ज्यादती हो । सरकारले त उस्तै परे भारतको यस्तो प्रस्ताव स्वीकार गरिदिन्छ । झन अहिलेको सरकारमा भएका मानिसहरुले यो सरकार नै भारतले बनाइदिएको भन्ने ठानेर बसेका छन् । यस्ता नेताले त नेपाली सेनालाई भारतको झन्डामुनि पुर्याइदिन्छन् । तर यसमा हामी सबैको ‘प्रेसर’ आवश्यक छ । नेपाली सेनासहित जनताले समेत विरोध गरेपछि मात्रै हो सरकार रोकिने । सरकार आफै राष्ट्रघाती काम गर्न रोकिदैन । जनताको दबाबले रोकिन्छ ।

नेपाली सेनालाई प्रभाव पार्ने यस्ता कैयन घटनाक्रम भएका छन् । यी सबै विषयका सम्बन्ध म आफै पनि इन्स्टिच्यूट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस भन्ने भारतको सुरक्षा र विदेश मामिला हेर्ने ‘थिंक ट्यांक’ छ । त्यो संस्थाको रिसर्च फेलो भएर म अनशन्धान गरिरहेको छु । यस्ता विषय म त्यो रिसर्चमा पनि राख्नेछु ।

सन् १९५० को सन्धिदेखि अहिलेसम्मका धेरै वटा राष्ट्रघाती सन्धि नेपालको राजनीति धुमिल भएकै बेला भारतले गरेको छ । नेपालको आन्तरिक र सबै विषयमा पकड जमाउन मिल्ने गरी भारत सन्धि चाहन्छ । पछि त्यही सन्धि देखाएर न्याँक्न सजिलो हुने उसको बुझाई हुन सक्छ ।

भारतले जस्तो सुकै प्रस्ताव ल्याओस्, हामीले आफ्नो ‘स्ट्याण्ड’ छाड्न हुँदैन । भारतले भन्ने गर्छ नेपालमा ‘एन्टि इन्डियन’ भावना बढ्यो । निश्चय पनि हो । नेपालमा भारतलाई मन पराइँदैन । भारतले मित्रवत व्यवहार गरे नेपालीको भावना राम्रो हुन्छ । छिमेकको सानो, भूपरिवेष्ठित मूलुकसँग घटिया र तल्लो स्तरको व्यवहार गरेपछि नेपालीको भावना कसरी राम्रो हुन सक्छ ?

पूर्वराजाले विज्ञप्ति निकालेपछि त अहिले झनै हंगामा भएको छ । पूर्वराजाले स्थायी सत्ता जनता भएको र अहिलेका सरकार अस्थायी सत्ता भएको उल्लेख गरे । अस्थायी सत्ता जनताको चाहना विपरीत जाँदा त्यो झन अस्थायी हुन्छ भन्दा कोकोहोला मच्चियो ।

सरकारमा बस्नेहरुलाई नै वर्तमान सरकार आफ्नो बलमा होइन भारतले बनाइदिएको भन्ने छ । उनीहरु जनताको भावना होइन, भारतीय दूतावास गुहार्छन् । दलहरुको यस्तो शैलीले देश कमजोर बनिरहेको छ ।

(नेपाली सेनाका पूर्वरथी डा. उमेश भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

विशेष