महिला हिंसा घटाउन समन्वय आवश्यक
पुस–८ । महिला हिंसा घटाउने दायित्व र जिम्मेवारी बोध गराउन राज्यका सबै निकायबीच समन्वय हुनुपर्नेमा सरकारले जोड दिएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यशाला गोष्ठीका वक्ताले जिम्मेवार निकायको समन्वयबाट मात्र महिला हिंसा रोक्न सकिने धारणा राखेका हुन् ।
सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले महिलामाथि हुने अन्यायलाई रोक्न कानुनी संरचना पर्याप्त भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए । उनले राजनीतिमा महिलाको सहभागिता उत्साहजनक भए पनि त्यसलाई स्थानीयकरण गर्न नसकिएकाले विकेन्द्रीकरण गरेर लैजानुपर्ने बताए ।
महिला हिंसासम्बन्धी अभिमुखीकरण कार्यक्रम अभिकर्तामुखीभन्दा पनि सेवाग्राहीमुखी हुनुपर्नेमा जोड दिँदै मुख्यसचिव डा सुवेदीले तल्लोस्तरका महिलाका सशक्तीकरणमा सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले महिला हिंसाका घटनालाई घटाउन सबै सङ्घसंस्था एवम् राज्यका निकाय जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्रोत व्यक्ति जरियाना, अब्दुल अजिजले महिला हिंसा रोक्नका लागि अपनाउनुपर्ने रोकथाम, संरक्षण, अभियोजन, दण्ड सजाय र सम्बोधन संयन्त्रका विषयमा स्पष्ट पारिन् ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, गृह, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस
समन्वय