पर्यटन समाज

एक्याप क्षेत्रमा गिद्ध गणना सुरु

एक्याप क्षेत्रमा गिद्ध गणना सुरु
पुस–८ । विश्वप्रसिद्ध पदमार्ग राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ । ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि म्याग्दी, कास्की, लमजुङ, मनाङ लगायतको क्षेत्रमा गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो । सन् २००१ देखि ६ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिएपनि त्यसयता भने रोकिएको थियो। यसअघि गणना गरिएकै स्थानबाट फेरि गणना गर्न सुरु गरिएको नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले जानकारी दिए । उनका अनुसार अहिलेसम्मको अध्ययनमा गिद्धको सङ्ख्या विगतको तुलनामा स्थिर नै देखिएको छ । मानवीय क्रियाकलापका कारण विश्वव्यापी रुपमै गिद्धको सङ्ख्या लोप हुँदै जाँदा आहार र सुरक्षित बासको अभावका कारण मुस्ताङ आसपासको क्षेत्रमा पनि यसको सङ्ख्या घटेको विगतको अध्ययनले देखाएको छ । “सन् २००१ देखि ६ सम्म आइपुग्दा यस क्षेत्रमा गिद्धको सङ्ख्या घट्दै गएको थियो, तर यो लामो अवधिपछि हेर्दा केही रुपमा बढेको पाएका छौँ”, उनले भने । टोलीले मुक्तिनाथ, लोप्रा, मार्फा र कोबाङ क्षेत्रमा अध्ययन गरिसकेको छ। म्याग्दी, लमजुङ, मनाङ क्षेत्रमा पनि थप अध्ययन गरिने निर्देशक कर्माचार्य जानकारी दिए । “यसको प्रतिवेदन हामीले सन् २०१७ सम्म एक्यापलाई उपलब्ध गराउनेछौँ”, उनले भने । रासस

अन्नपूर्ण पदमार्ग गिद्ध

विशेष