समाज

भूकम्पपीडितको लगत प्रमाणीकरण सुरु

भूकम्पपीडितको लगत प्रमाणीकरण सुरु
पुस–८ । भूकम्प गएको २० महिनापछि सोलुखुम्बुमा आवास निर्माण अनुदान वितरणका लागि भूकम्पपीडितको लगत प्रमाणीकरणको काम सुरुवात भएको छ । आज सदरमुकाममा पुनःनिर्माण प्राधिकरणका सदस्य धु्रवप्रसाद शर्माको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका पीडितको लगत सङ्कलन तथा प्रमाणीकरणको काम सुरु गरिएको छ । यही हप्ता जिल्लामा तथ्याङ्क कार्यालय स्थापना गरी जिविसबाट प्रारम्भिक तथ्याङ्क लिएको र अब त्यसलाई प्रमाणीकरणका लागि प्राविधिकको टोली गाउँमा जाने पुनःनिर्माण प्राधिकरणका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । यसअघि सोलुखुम्बुमा आठ हजार ६१७ घर पूर्ण क्षति भएको तथ्याङ्क रहेकामा त्यसपछि आएका उजुरीका आधारमा १९ हजार ७२५ घर पुगेको जिविसले तथ्याङ्क तयार गरेको छ । जिविसले तयार गरेको सूची आइतबार मात्र प्राधिकरणमा पठाएर लगत सङ्कलनका लागि प्रमाणित गर्ने भएकाले छुट भएकाहरुको नाम समेट्दा सूची बढ्नसक्ने जिविसले जनाएको छ । सूचीमा आंशिक क्षति भएकाको समेत तथ्याङ्क समेटिएकाले ती १९ हजार ७२५ सबै घरमा प्राविधिक पुगी क्षतिको वर्गीकरण गरेर भत्काउनै पर्ने अवस्थाका घरलाई लाभग्राहीको सूचीमा राख्ने र उनीहरुले आवास अनुदानअन्तर्गत रकम पाउने पुनःनिर्माण प्राधिकरणका सदस्य ध्रुवप्रसाद शर्माले जानकारी दिए । छलफल कार्यक्रममा अरुको जग्गामा घर बनाएर बसेका र घर क्षति भएका सुकुम्बासी, अंशबन्डा भइसकेका तर कानुनीरुपमा अंशबन्डा नगरेका दाजुभाइ, बाबुछोरा, पहिरोको जोखिममा परेका बस्तीमा पीडितलाई पनि सँगै अनुदानको प्रक्रियामा लैजानुपर्ने सुझाव जिल्लास्थित दल तथा अन्य सरोकारवालाले दिएका छन् । डेढ वर्षअघि घर भत्किएपछि पाल तथा जस्ताको छानामुनि रात बिताइरहेका पीडितले अब भने आवास अनुदान पाउने आशा बढेको बताएका छन् । रासस

आवास निर्माण सोलुखुम्बु

विशेष