दुई हजार ७६१ महिलाका लागि ६ करोड ३२ लाख लगानी
पुस–८ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेस्डो नेपाल)ले नेस्डोमा आबद्ध म्याग्दी र पर्वत जिल्लाका दुई हजार ७६१ विपन्न परिवारका महिलाका लागि ६ करोड ३२ लाख ६७ हजार रुपैयाँ लगानी गरेको जनाएको छ ।
सो संस्थाको सोह्रौँ लघुवित्त अभियान एवम् शाखास्तरीय समीक्षा गोष्ठीमा नेस्डो नेपालका शाखा प्रबन्धक रामचन्द्र गौतमले दुबै जिल्लाका ११ गाविसका सो संख्याका महिला संस्थामा आबद्ध रहेको जानकारी दिएका हुन् ।
ती महिलालाई आयआर्जनमूलक काममा संस्थाले लगानी गरेको उल्लेख गर्दै उनले यो संस्थामा देशैभरिका ७६ हजार महिला आबद्ध रहेका बताए । संस्थामा आबद्ध म्याग्दी र पर्वतका महिलाको चार करोड १८ लाख ८१ हजार रुपैयाँ बचत रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
सांसद रेशमबहादुर बानियाँले लघुवित्तले महिलाको आर्थिक अवस्थामा सुधारसँगै गरिबी न्यूनीकरणमा टेवा पु¥याएकाले अब महिलालाई सशक्तीकरण गराइ राजनीतिक सहभागिता गराउनुपर्नेमा जोड दिए । नेस्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले लघुवित्त संस्थाले दुर्गम क्षेत्रमा पुगी विपन्नको दैनिकीमा पुर्याएको सहयोगका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा महिला प्रतिनिधिले संस्थाले घरदैलोमा पुगी गरिबी हटाउन सराहनीय कार्य गरेको भन्दै आफूहूलाई सेवा शुल्कमा केही सुहलियत दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रमेश्वर महिला स्वावलम्बन केन्द्र भकिम्ली–२ डोले प्रथम, नयाँगाउँ महिला स्वावलम्बन केन्द्र बेनपा–१२ द्वितीय, रानीपँधेरा महिला स्वावलम्बन केन्द्र भकिम्ली–५ तृतीय र सरस्वती महिला स्वावलम्बन केन्द्र बेनपा–११ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसैगरी संस्थाको सदस्य विस्तारमा सहयोग पुर्याएको भन्दै सपना रेग्मी, कोपिला जिसी, पशुपति शाही, रमिला खत्री, सीता शर्मा तथा सुमित शर्मालाई सम्मान गरिएको बताइएको छ । रासस
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेस्डो नेपाल)