१६ वटा हिमाल देखिने ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा
पुस–८ । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा हिमशृङ्खला र ३७ गाविस देखिने पर्यटकीय एवम् रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा छ ।
म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरनजिकै पर्ने सो डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको हो ।
जगन्नाथ मन्दिर दर्शन एवम् पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।
बेनीको शिरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमशृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका १६ वटा हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। धौलागिरि हिमालमा मात्रै छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुने पत्रकार प्रताप बानियाँ बताउँछन् ।
गुफाको डिलबाट हिमालमात्रै होइन म्याग्दीका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस हेर्न सकिने स्थानीय यामबहादुर बानियाँको भनाइ छ । यसैगरी पर्वतको उत्तरी भूभाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाको डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ ।
म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घन्टा र गाडीमा डेढ घन्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार एक सय मिटरको उचाइमा अवस्थित छ । सो डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गल देख्न पाइन्छ ।
जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक नीलकण्ठ शर्माले बताउँछन् । प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पयर्टकको ओइरो लाग्ने उनको भनाइ छ ।
सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर मन्दिर स्थापना गरेकाले गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाजने गाउँ तथा गुफा डिल हेर्न मानिस पुग्ने गरेका छन् । रासस
गुफाको डिल
म्याग्दी