सङ्खुवासभामा खानेपानीको समस्या
पुस–८ । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ ।
जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा खानेपानीको स्रोत नहुँदा समस्या देखिएको हो। चैनपुर नगरपालिका– ८ की विष्णुमाया श्रेष्ठ बिहान– ४ बजे उठेर एक घन्टा टाढा धारामा गएर पानी ल्याउने गरेको बताउँछिन् । उनी भन्छिन्, “धेरै टाढा गएर दुई घन्टा लाइन बसेर खानेपानी ल्याउँछु साह्रै समस्या छ ।”
विसं २०४० मा ३० वटा धारा जडान भएको चैनपुर क्षेत्रमा विसं २०६० मा ४०० घरधुरीमा पानीको धारा जडान गरिएको थियो ।
पानीको मुहान सानो र घरपिच्छे धारा जडान गरिएको हुँदा पानी कम भएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद शर्मा पौडेल बताउँछन् ।
पानी कम भएको कारण दैनिक तीन गाग्री पानी भर्न पाउने गरेको चैनपुरका लालबहादुर तामाङ बताउँछन् । पानी प्रयोग गरेबापत त्यस क्षेत्रका बासिन्दाले समितिलाई मासिक एक सय ७५ रुपैयाँ बुझाउँदै आएका छन् ।
चैनपुर नगरपालिका– १२ का रामकुमार कर्माचार्यको पनि पीडा उस्तै छ। लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका उनलाई धारामा पानी नआउँदा सबैभन्दा धेरै मार हुने गरेको छ । होटल व्यवसाय गर्दा धेरै पानी आवश्यक हुने हुँदा मासिक १५ हजार रुपैयाँको तीन ट्याङ्कर पानी किन्ने गरेको उनले बताए ।
उक्त क्षेत्रको पानीको मुहान जान ८ देखि १० घन्टा लाग्ने गरेको छ । बाटोमा खानेपानीको पाइप हुँदा समय समयमा बिग्रदा १० देखि १५ दिनसम्म पानी नआउने गरेको स्थानीयवासी बताउँछन् ।
खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय सङ्खुवासभाका प्रमुख रवीन्द्रनाथ देवले सङ्खुवासभा जिल्लाभर नै खानेपानीको समस्या रहेकाले खानेपानीको समस्या समाधान गर्न आफू लागिरहेको बताए ।
सोही क्षेत्रका सांसद दीपक खड्का अहिले खानेपानी तथा सरसफाइ राज्यमन्त्री बन्नुभएपछि जिल्लावासी खानेपानी समस्या समाधान हुनेमा आशावादी भएका छन् ।
राज्यमन्त्री खड्का मुलुकभर नै खानेपानीको समस्या रहेको बताउँछन् । उनी भन्छन्, “पहिलेको तुलनामा भूकम्पका कारण खानेपानीको मुहान सुकेको छ त्यसले गर्दा खानेपानीको समस्या भएको हो यसको समाधानका लागि मन्त्रालय जुटेको छ ।”
मन्त्रालयले तराईका जिल्लामा डिप बोरिङ र पहाडी जिल्लामा पम्प सिस्टमले दुई वर्षभित्र हरेक गाउँ–गाउँमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम गरिरहेको राज्यमन्त्री खड्का बताउँछन् । रासस
खानेपानीको समस्या
सङ्खुवासभा