खेल

महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चल विजयी

महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चल विजयी
पुस–९ । सातौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ शुक्रबार भएको खेलमा नेपाल एपीएफ क्लब र पूर्वाञ्चल विजयी भएको छ । डीभिएम स्कुलमा भएको खेलमा एपीएफले मध्यमाञ्चललाई ६१ र पूर्वाञ्चलले पश्चिमाञ्चललाई ६६ रनले पराजित गरेको छ । १ सय १६ रनको लक्ष्य दिएर फिल्डिङमा उत्रेको एपीएफले मध्यमाञ्चललाई १९.४ ओभरमा ५४ रनमै अलआउट गरे । मध्यमाञ्चलका लागि रविना भण्डारीले सर्वाधिक ८ रन बनाइन् । एपीएफका लागि भने सोनु खड्का र करणा भण्डारीले ३–३ विकेट लिए । एपीएफका लागि सरिता मगरले ४३ र कप्तान बिनु बुढामगरले ३३ रन जोडेका थिए । मध्यमाञ्चलकी अस्मिना कर्माचार्य र रोजी कँडारीले १–१ विकेट लिए । त्यस्तै दास्रो खेलमा पूर्वाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४ रन बनायो । १ सय ५ रनको लक्ष्यका साथ ब्याटिङमा उत्रेको पश्चिमाञ्चल भने १५ ओभरमा अलआउट गर्दै ३८ रनमै समेटियो । पूर्वाञ्चलको लागि कविता गौतमले ४ र संगीता राईले ३ विकेट लिए ।

महिला क्रिकेट सातौँ राष्ट्रिय खेलकुद

विशेष