फुड

फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत

फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत
पुस - ९ । सरकारले फलफूल दशक सञ्चालन कार्यविधि कार्यान्वयनमा कुनै छनक देखिएको छैन । फलस्वरुप फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत देखिएको छ । गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आर्थिक वर्ष २०७३र०७४ देखि आव २०८२र०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो । आगामी १० वर्षभित्र आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिरमा देशलाई आत्मनिर्भर हुन मद्दत गर्ने अभिप्रायबाट कार्यविधि तयार भएको हो । गत पाँच वर्षको तथ्याङ्क हेर्दा हिउँदे तथा सुन्तला जातको फलफूल उत्पादन बढेको देखिएपनि आयात भने घटेको देखिँदैन । आव ०६६र०६७ मा रु ९० करोडको फलफूल आयात भएकोमा आव ०७००७१ मा १२ अर्ब १८ करोडको मात्र आयात भएको सरकारी आँकडा छ । त्यसैगरी निर्याततर्फ आव ०६६र०६७ मा रु ४८ करोडको फलफूल निर्यात भएकोमा आव ०६९र०७० मा तीन करोड ३१ लाखमा सीमित भएको छ । सन् २०११ मा सातलाख ९४ हजार १६४, सन् २०१२ मा १० लाख २९ हजार ७५४, सन् २०१३ मा नौ लाख ३८ हजार ७३१, सन् २०१४ मा नौ लाख ६५ हजार ४४ र सन् २०१५ मा नौ लाख ९२ हजार ७०३ मेट्रिक टन फलफूल उत्पादन भए पनि आयात प्रतिस्थापन हुन सकेको छैन । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको कृषि गणना २०६८ अनुसार पूर्वी पहाडी जिल्लामा सुन्तला जातको फलफूलमा ४६ प्रतिशत, केरामा ५६ प्रतिशत, स्याउमा २४ प्रतिशतले वृद्धि भए पनि जुनारमा ६१ प्रतिशत कागतीमा ३७ प्रतिशत र आँपमा ३ प्रतिशतले उत्पादन घटेको उल्लेख छ । “उत्पादन प्रक्रियामा सरकारको सक्रिय सहभागिता नहुन, जमिन बाँझै बस्नुलगायत कारणले स्वदेशमा चाहिएजति फलफूल उत्पादन गर्न सकिएन भन्नुहुन्छ”–फलफूल उत्पादक कृषक रामकृष्ण ढकाल । ग्रामीण युवायुवती वैदेशिक रोजगारमा जानु, कृषि सडक निर्माणमा सक्रिय सहभागिता नहुन तथा सरकारको उत्पादन प्रक्रियाका लागि ठोस रणनीति नहुनुले फलफूलको आयात बढेको कृषि उपभोक्ता मञ्चका अध्यक्ष उद्धव अधिकारीले बताए । कृषि क्षेत्रबाट हुने उत्पादनमा फलफूलको आठ प्रतिशत योगदान छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । आव ०७१र०७२ मा फलफूल बालीले ढाकेको क्षेत्रफल एकलाख ५० हजार ३८७ हेक्टरमध्ये एकलाख १० हजार ८०२ हेक्टर जमिनमा फलफूल खेती गरिएको छ । सन् २०१४ मा ४८ हजार ९४६ मेट्रिकटन स्याउ उत्पादन भएको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । स्वदेशमा उत्पादन हुने र अन्य मुलुकबाट आयात हुनेसम्म गरी वार्षिक ९२ हजार ९५० मेट्रिक टन स्याउ नेपालीका लागि आवश्यक पर्ने कृषि विकास विभागले प्रकाशन गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ । नेपालीको फलफूल खानेबानीमा वृद्धि भएको छ । पहिले बिमारी हुँदा मात्र फलफूल खाने चलन थियो । जीवनस्तरमा सुधार, चेतनामा अभिवृद्धि र स्वास्थप्रति सजकता अपनाउने समुदाय फलफूल खान आर्कषित हुने गरेका बताउँछन्(कृषि विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव योगेन्द्रकुमार कार्की । नेपालीको आवश्यकताअनुसार झन्डै स्याउ उत्पादनमा ५० प्रतिशतले वृद्धि गर्नुपर्ने फलफूल विकास निर्देशनलायले जनाएको छ । स्याउ उत्पादनमा चिन्ता र चासो राख्नु स्वभाविकै भए पनि यसवर्ष झन्डै ५१ लाख लिटर विभिन्न फलफूलका जुस आयात भएको भन्सार विभागले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ । स्याउ उत्पादनका लागि कर्णाली उर्वरभूमि मानिएको छ । तर सडकको पहुँच राम्रोसँग पुगेको छैन् ।

फलफूल दशक

विशेष