सरकारले दिएको क्रिसमसको विदा पनि विवादमा
पुस १० । भारतका राष्ट्रपति प्रणव मुखर्जी आउँदा सरकारले दिएको सार्वजनिक विदा जस्तै पुस १० का लागि सरकारले दिएको विदा पनि विवादमा परेको छ ।
क्रिसमसमा इशाई धर्मावलम्वीहरुलाई मात्रै विदा दिने अघिल्लो सरकारले निर्णय गरेको थियो । अघिल्लो सरकारको निर्णय उल्टाउँदै वर्तमान सरकारले क्रिसमसमा सबैका लागि विदा दिने निणर्य शनिबार मात्रै गरेको थियो । इतिहासविद डा. रमेश ढुंगेल भन्छन्, ‘ यो निर्णय विचार शुन्यताबाट जन्मेको हो । देशभित्रकाको होइन, बाहिरका अरु नै कोहीको निर्देशन र दबाबमा सरकारले यो विदा दिएको हो भन्ने कुरामा म सतप्रतिशत ढुक्क छु ।’
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिन (पुस २७) मा राष्ट्रिय एकता दिवसका रुपमा सरकारले मनाउने गथ्र्यो । त्यो विदा सरकारले कटाएको छ । राजसंस्थाको विरोधमा रहेका नेताहरुसमेत पृथ्वीनारायण शाहको नेतृत्वलाई भने स्वीकार गर्छन् । तर पृथ्वी जयन्तीमा अहिले विदा छैन । डा. ढुंगेल भन्छन्, ‘पृथ्वीनारायणलाई नै नमान्नेहरुले मान्ने भनेकै विदेशी नीति, नेता र आदेश त रहेछ नी ।’
विश्व हिन्दु महारसंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारी भन्छिन्, ‘क्रिसमसको शुभकामना हामी पनि इशाइमित्रहरुलाई दिन्छौं । यसको मतलव यो होइन कि अल्पसंख्यक मानिसहरुका लागि बहुसंख्यकलाई छुट्टि दिने, सार्वजनिक सेवा बन्द नै गर्नुपर्छ ।’ उनले थपिन, ‘यसरी विदा दिँदै जाने हो भने त ३६५ दिन नै विदा दिए हुन्छ । किनभने नेपालमा धेरै जातजाति छन् । हरेक दिन कुनै न कुनै जातिको पर्व परेकै हुन्छ । ’
भण्डारीले थपिन्, ‘पृथ्वी जयन्तीको विदा कटाउने तर क्रिसमसमा बिदा दिने लाजमर्दो स्थिति हो । बेला अझै छ सच्याउनु पर्छ ।’
सन २०२५ सम्ममा नेपालमा इशाईको सख्या ५० लाख पु्र्याउने लक्ष्य रहेको नेपालमा मिसन सञ्चालन गर्ने क्रिष्चिएनहरुकै हाउस जर्नलमा उल्लेख छ । तर अहिले नेपालमा इशाईहरु अल्पसंख्यामै छन् । जनआन्दोलन ६२–६३ पछि नेपालालाई धर्मनिरपेक्ष घोषणा गरिएपछि क्रिसमसमा पनि विदा दिन थालिएको हो । जनआन्दोलनमा जनताको माग धर्मनिरपेक्षता भने थिए ।
हिन्दु राष्ट्रको माग राख्नेहरुका अनुशार ४४ भन्दा बढी इशाई मिसिनरीहरुको प्रलोभन र दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।
Crismas