सूचनाको हकको सम्मान र संरक्षणमा लिखित प्रतिबद्धता
पुस–१० । महोत्तरी जिल्लाका १४ सरकारी कार्यालयका प्रमुखले संविधान र कानुनद्वारा प्रदत्त सूचनाको हकको सम्मान र संरक्षणमा लिखित प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न सूचनाको हकबारे नागरिक संवाद कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितका १४ सरकारी कार्यालयका प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यालय प्रमुखहरुले जनाएका लिखित प्रतिबद्धतापत्रमा कार्यालयका कामलाई पारदर्शी गर्ने र प्रत्येक कार्यालयमा सूचना अधिकारी नियुक्त गरेर तीन÷तीन महिनामा कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख छ । जिल्लाका स्थानीय विकास अधिकारी, बर्दिवास र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत, एकीकृत सेवा केन्द्र बर्दिवास र मालपोत सेवा कार्यालय बर्दिवासका प्रमुखले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरी, करदाता सेवा कार्यालय बर्दिवास, जिल्ला कृषि विकास कार्यालय महोत्तरी, बर्दिवास अस्पताल र इलाका वन कार्यालय बर्दिवासका प्रमुखले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमका सहभागी कार्यालय प्रमुखहरुले सूचनाको हकबारेको अधिकार प्रयोग गर्दै सरोकारवालाले माग गर्ने सूचना तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त बास्कोटाले आयोगको स्थापना, कार्यक्षेत्र, यसको महत्व र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सूचनाको हकका लागि नागरिक अभियान बर्दिवासको आयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख जिल्ला अधिकारी यादवले जिल्लाका अन्य सरकारी कार्यालय, संस्थान, गैरसरकारी संस्था र सार्वजनिक सरोकारका सबै कार्यालयले सूचनाको हक अक्षरशः लागू गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । रासस
सम्मान र संरक्षण
सूचनाको हक