मुख्य समाचार

राजीतिक गतिरोध अन्त्यका लागि सभामुखद्वारा राजनीतिक दलका शीर्ष नेताको बैठक अाह्वान

राजीतिक गतिरोध अन्त्यका लागि सभामुखद्वारा राजनीतिक दलका शीर्ष नेताको बैठक अाह्वान

पुस ११ । राजनीतिक गतिरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छिन् ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सभामुखका प्रेस सहयोगी बबिन शर्माले जानकारी दिए ।

बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई समेत बोलाइएको छ ।

संविधान संशोधनका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको बेला निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेकाले सदनलाई अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गर्न लागेकी हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका ९ दलले पछिल्लो एक महिनादेखि सदनको कारवाहीमा अवरोध पुर्याउँदै आएका छन् । सरकारले मङ्सिर १४ गते संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि सदनको कारवाही कार्यसूचीमा प्रवेश पाएको छैन । स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रस्तुत गरेका विधेयक अगाडि बढ्न नसक्दा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा नहुने हो कि भन्ने आशङ्का पैदा भएको छ ।

सदनको झण्डै एक महिनादेखिको राजनीतिक गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष तहदेखि संसदीय दलका प्रमुख सचेतक तथा अन्य साना दलहरुसँग पनि अनौपचारिक छलफल गरिसकेकी भएपनि विवाद समाधान भने निस्कन सकेको छैन ।

Nepali Poitics Onsari Gharti

विशेष