प्रवास समाज

श्रीमान उता कमाउने श्रीमती यता रमाउने, बैदेशिक रोजगारीमा गएका नेपालीहरुको कारुणिक कथा

श्रीमान उता कमाउने श्रीमती यता रमाउने, बैदेशिक रोजगारीमा गएका नेपालीहरुको कारुणिक कथा

०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ(२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन, ३० हजार हालेर मोबाइल किने । सँगै एउटा कम्बल र एउटा क्यामेरा पनि किने । श्रीमतीले ‘पैसा बोकेर आउँदा जोखिम हुन्छ, मेरो नाममा आईएमई गरिदिनू’ भनिन् । त्यसै गरे । काठमाडौं आइपुगेर फोन गरे, श्रीमतीको फोन उठेन । एकछिन पछि सोमबहादुरको फोनमा ‘मेसेज’ आयो । लेखिएको थियो– ‘मैले अर्कै केटासँग बिहे गरिसकें । मलाई नखोज्नु, छोराछोरी मसँगै छन् ।’

सरिताले त्यसअघि नै इलाम पशुपतिनगरका बिक्रम राईसँग दोस्रो विवाह गरिसकेकी थिइन् । उनले ७ वर्षीय छोरा र ५ वर्षीया छोरी आफूसँगै राखेकी छन् । अहिले सोमबहादुर रानीगाउँको घरमा एक्लै छन् । सरिता र सोमबहादुरको आठ वर्षअघि विवाह भएको थियो । गाउँठाउँमा विवाह दर्ता गर्ने चलन थिएन । अहिले सम्बाहाम्फेलाई कानूनी प्रक्रियामा जान समस्या भइरहेको छ ।

“कतार गएपछि कमाएको सबै पैसा श्रीमतीकै नाममा पठाएँ । पशुपतिनगरमा घडेरी खरीद गर्न, छोराछोरीको फी तिर्न भनेर दुई वर्षमा ८ लाख रुपैयाँ पठाएछु । घर फर्कने बेलामा आईएमई गरेको समेत जोड्दा एघार लाख रुपैयाँ भयो होला ।” सम्बाहाम्फे दुःखेसो पोख्छन, “कत्ति विदेश बस्नु, सानोतिनो व्यवसाय गरेर यतै बसौं भनेर घर फिरेको । न सम्पत्ति, न सन्तान, न श्रीमती पो भएँ ।”

रोल्पा तालाबाङ–६ खाराबाङका हरि घर्तीमगर २०६८ सालमा विदेशिए । उनी विदेश रहेको बेला श्रीमती मनकुमारी गर्भवती भइन् । लोग्ने विदेशिएपछि देवरसँग मनकुमारीको हिमचिम बढेको थियो । गर्भवती भएको आठ महीनापछि घटना सार्वजनिक भयो । मनकुमारीका दुई छोराहरू कमल कक्षा ६ मा र हिमाल कक्षा १ मा पढ्दैथिए ।

गाउँका मानिस भेला भएर मनकुमारीलाई देवर कर्णबहादुरको जिम्मा लगाए । कर्णबहादुरले दाजु हरिलाई जरिवानास्वरुप दुई लाख रुपैयाँ तिरे । विवाद मिलाउन सक्रिय स्थानीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता दलबहादुर घर्तीमगर भन्छन्, “के गर्नु गाउँठाउँको कुरा मिलाउनै प¥यो ।” वैदेशिक रोजगारीले हरि घर्तीमगरको परिवार चकनाचूर भयो ।

पाँचथर प्राङ्वुङ–४ का भीमबहादुर ज्ञाङमी मगरको पीडा मार्मिक छ । उनी स्थानीय साहूकहाँ सयकडा तीन रुपैयाँका दरले ऋण काढेर पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । २०६३ सालमा विवाह गरेका भीमबहादुर विदेश गएपछि छोरो युगल र घरव्यवहार हेर्ने जिम्मा श्रीमती फूलकुमारीको काँधमा आयो । भीमबहादुरले साउदीमा ‘हेभी ड्राइभिङ’ को काम पाए । कमाइ मासिक ६० हजार रुपैयाँ पुग्थ्यो । ६ महीना लगाएर साहूबाट काढेको सावाँ–व्याज ऋण तिरे । बाँकी चार वर्षको कमाइ श्रीमतीका नाममा पठाए ।

२१ वैशाख २०७३ का दिन उनी काम गरिरहेका थिए । कसैले उनलाई फोन गरेर ‘श्रीमती घरका झ्यालढोका थुनेर छोरो लिएर हिंडिन’ भन्ने खबर सुनाइदियो । एक महीना लगाएर घर फर्किने चाँजोपाँजो मिलाए । ५ असारमा घर आइपुगे । फूलकुमारी छिमेकी मेमेङ गाविस–२ मच्छेवुङका ज्ञानबहादुर केरुङसँग दोस्रो विवाह गरेर बसेकी थिइन् । फर्किएलगत्तै भीमबहादुरले जिल्ला अदालत पाँचथरमा धनमाल अपचलन गरेको मुद्दा हाले । भीमबहादुर भन्छन्, “विदेशमा पैसा कमाएर यहाँ सुखसँग जीवन बिताउँला भन्ने थियो, सपना भयो ।” भीमबहादुरले अदालतमा प्रमाणका रूपमा फूलकुमारीका नाममा पठाएको रकम आईएमई गरेका रसिद र सुन किनेको बिलको प्रतिलिपि पेश गरेका छन् । आक्रोशित भीमबहादुर भन्छन्, “जीत हार जे सुकै होस्, समय र पैसा जतिसुकै खर्च होस्, म मुद्दा किनारा नलागेसम्म लडिरहन्छु ।”

तीन छोराछोरीकी आमा पाँचथर भारपा–८ निवासी चन्द्रमाया थापाले २०७२ असोजमा पति प्रेम योक्पाङदेनसँग सम्बन्धविच्छेद गरिन् । विवाह गरेको १५ वर्षपछि सम्बन्धविच्छेद गर्नुको कारण थियो– पतिको वैदेशिक रोजगारी ।

१३ वर्ष उमेर पुग्दा नपुग्दै प्रेमसँग प्रेम विवाह गरेकी चन्द्रमायाको विदेश जानुपूर्व पतिसँग सम्बन्ध सहज थियो । उनीहरू भारपा–८ स्थित मेची राजमार्गमा होटल व्यवसाय र सुँगुरपालन गरेर बसेका थिए । कमाइ पनि नराम्रो थिएन । २०६८ सालमा प्रेमले ‘साथीभाइ सबै गए, कमाइ पनि राम्रो हुन्छ भन्छन’ भनेर विदेश जाने इच्छा देखाए ।

चन्द्रमायाले पनि ‘हुन्छ’ भनिन् । प्रेम कतार गएपछि चन्द्रमायाका काँधमा पसल सम्हाल्ने, सुँगुर पाल्ने, छोराछोरीको रेखदेख गर्ने अभिभारा थपियो । दैनिक सोह्र÷अठार घण्टासम्म खट्न थालिन् उनी ।

कतार पुगेको केही समयदेखि प्रेमको व्यवहार बदलियो, धेरै शंकालु भए । यतिसम्म भयो कि– चन्द्रमायाले प्रत्येक महीनाको १ गते नजीकैको देवालयमा गएर एकहातले घण्टी बजाउँदै अर्को हातमा बोकेको फोनबाट ‘म अरू केटासँग लागेकी छैन’ भनेर कसम खानुपर्ने भयो ।

यो क्रम चलिरहेकै बेला २०७२ भदौमा प्रेम घर फर्के । चन्द्रमायाका भनाइमा, भोलिपल्ट बिहानै आलो गोबर ल्याएर घरको मूल खाँबो वरिपरि लिप्न लगाए । अनि पाथी ओढ्न लगाएर ‘अरू केटासँग लसपस गरेकी छैन’ भनेर कसम खान लगाए । त्यसरी कसम खुवाउँदा चन्द्रमायाकी आमा र बडीआमालाई पनि साक्षी राखिएको थियो । तर प्रेमले चन्द्रमायाको आरोप अस्वीकार गरे । उनले भने “त्यो काम मैले जबर्जस्ती गरेको होइन, चन्द्रमायाले मेरो विश्वास जित्न स्वेच्छाले गरेकी हो ।”

पूर्वी रोल्पाको जेल्बाङ स्थित ठूलोगाउँ । जहाँका अधिकाश युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेका छन । प्रेम कतारमै हुँदा छोरीलाई मुटुको समस्या देखिएको थियो । पसलको कमाइबाट ३ लाख रुपैयाँ खर्च गरेर चन्द्रमायाले उपचार गरिन् । प्रेमले पनि दुई वर्षमा ५ लाख रुपैयाँ कमाएर पठाएका थिए । चन्द्रमायाले प्रेमलाई त्यो पैसा फिर्ता गरिदिइन् । अन्त्यमा छोरीको उपचारमा लागेको खर्च श्रीमान्ले व्यहोर्ने, छोराछोरी श्रीमान्ले नै पढाउने शर्तमा सम्बन्धविच्छेद भयो । चन्द्रमायाका भनाइमा, “प्रेमले पढाइ खर्च नदिएपछि अहिले तीनमध्ये दुई जना छोराछोरी उनीसँगै छन् ।”

अहिले झापाको बिर्तामोडमा बस्दै आएकी चन्द्रमायालाई मुटुको समस्या छ र मिर्गाैलामा पत्थरी देखिएको छ । निराश चन्द्रमाया भन्छिन्, “वैदेशिक रोजगारीले मेरो परिवारको खुशी खोस्यो । बुढेसकालमा बिरामी छु अब भीख माग्नु बाहेक मसँग अरू उपाय छैन ।” १२ पुस २०७२ मा पाँचथर मौवा–१ का रामबहादुर थापा मगरकी १९ वर्षीया पत्नी प्रमिला मगर हराएको भनेर आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिए । निवेदनमा ‘लोग्नेले विदेशमा कमाएको सम्पत्ति लिएर श्रीमती हराएको’ भनिएको थियो । खोजबीनका क्रममा प्रहरीले प्रमिला झापाको कन्काई नगरपालिका वडा नम्बर ७ निवासी राजबहादुर मगरसँग दोस्रो विवाह गरेर बसेको पत्ता लगायो ।

प्रमिलाले दोस्रो विवाह गर्नुको कारण उनका पूर्व पति रामबहादुरले प्रहरीमा दिएको निवेदनमा उल्लिखित व्यहोरा भन्दा बिल्कुलै फरक थियो । विवाह गर्दा प्रमिला सत्र वर्षकी थिइन् । केटो माग्न आएको भनेर परिवारले कर गरे । २०७० माघमा विवाह भयो । एक महीना नबित्दै श्रीमान् साउदी अरब हान्निए । प्रमिलाका भनाइमा, “श्रीमान् विदेश गएपछि बुहारीलाई पैसा नपठाउनु अर्कैसँग लागेकी छे, कुम्ल्याएर हिंड्छे भनेर घरकाले पोल लगाएछन् क्या हो । मलाई त पैसा पठाउनै छाडे ।” उनले भनिन्, “यो उमेरमा परिवारबाटै अपहेलित भएर के बस्नु भनेर अर्को विवाह गरें ।”

श्रीमान् विदेश गएपछि कतिपय परिवारमा महिलालाई कस्तोसम्म समस्या आइलाग्छ भन्ने एउटा उदाहरण हुन् पाँचथर अमरपुर–९ की सीता चौहान । २०७० सालमा विदेश गएका श्रीमान्ले के सोचेर हो उनलाई पैसा पठाउँदै पठाएनन् । सीता भन्छिन, “दुई चार रुपैयाँ माग्दा पनि सासूआमाले तेरो पोइले कमाएर पठाको भा’पो दिनु भन्नुहुन्थ्यो । साथीसँगी चाहिं ‘लाहुरेकी बूढी’ भनेर फुक्र्याउँथे । मर्नु हुन्थ्यो मलाई ।” उनले भनिन, “हातखुट्टा धुने साबुन किन्ने पैसा थिएन मसँग । मन लागेको लाउन र खुशी मनले खान नपाएपछि मैले दोस्रो विवाह गरें ।”

पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला ‘श्रीमान् वैदेशिक रोजगारीमा रहेका बखत श्रीमतीले दोस्रो विवाह गरेको, घरबाट हराएको र सम्पत्ति अपचलन गरेको’ भनेर जिल्ला प्रहरी कार्यालय पाँचथरमा सातामा दुईरतीन वटा मुद्दा आउने बताउँछन् । आर्थिक वर्ष २०७२र७३ मा पाँचथर जिल्लामा मात्रै ५६ जना महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । हराएका भनिएका ५६ मध्ये २५ महिलाका श्रीमान् विदेशमा रहेको प्रहरी नायव उपरीक्षक कोइराला बताउँछन् । जसमध्ये १४ जनाले दोस्रो विवाह गरेको पुष्टि भयो । अघिल्लो आर्थिक वर्ष २०७१र७२ मा ७६, २०७०र७१ मा ६७ र २०६९र७० मा ५८ महिला हराएको निवेदन पाँचथर प्रहरीमा परेको थियो ।

अदालतमा पुगेका यस्ता पारिवारिक विवाद हेर्दै आएका अधिवक्ता टीका तिम्सिना भन्छन्, “वैदेशिक रोजगारमा गएका पुरुषले श्रीमतीलाई खर्च नपठाउने, वास्ता नगर्ने र कतिपयले विदेशमा नै घरजम गर्ने कारणले पनि महिलाहरू नयाँ जीवन शुरू गर्न बाध्य हुन्छन् ।” तिम्सिना भन्छन्, “तर केही महिलाले चाहिं सम्पत्तिका लागि विवाह गर्ने र तुरुन्तै सम्बन्धविच्छेद गर्ने गरेको पनि देखियो ।”

रेमिट्यान्सले पुर्यायो जेल

पाँचथर यासोक–२ की शान्ता परियार (२२) दुई वर्षअघि हाडनाता करणी र ज्यान मारेको अभियोगमा पक्राउ परिन् । दुवै मुद्दामा दोषी ठहर गरेर जिल्ला अदालत पाँचथरले उनलाई कारागार पठाएको छ । चौध वर्षको उमेरमा विवाह गरेकी शान्ता जेल जानुपर्ने कारण मार्मिक छ । उनले २०६५ सालमा उमेरमा आफूभन्दा ८ वर्ष जेठा यासोक–२ का जीवन परियारसँग बिहे गरिन् । विवाह हुँदा जीवन तीन वर्ष मलेशियामा रोजगारी गरेर फर्केका थिए । फोन वार्ताका क्रममै बिहे गर्ने टुंगो गरेका उनीहरूले लगनगाँठो कसेको १० महीनामा एक छोरा पनि जन्माए । उनी अहिले ७ वर्षका छन् ।

छोरो जन्मेको दुई महीनापछि जीवन पुनः वैदेशिक रोजगारीका लागि मलेशिया गए । शान्तालाई पैसा पठाइदिन थाले । घर खर्च चलाउन ८–१० हजार र कहिले बचत गर्न भनेर एक–डेढ लाख रुपैयाँसम्म पठाउन थाले । चार वर्षमा उनले झण्डै १० लाख रुपैयाँ पठाए । लामो समयसम्म उनी घर नफर्कंदा शान्ता आफ्नो उमेरका देवरसँग नजिकिइन्, यौन सम्पर्क हुनथाल्यो । तिनै देवरसँगको शारीरिक सम्पर्क पछि जन्मेको शिशु मारेर फ्याकेको पोल खुलेपछि शान्ता र उनका देवर पक्राउ परे ।

पाँचथर जेलमा भेटिएकी शान्ताले भनिन, “चार वर्षसम्म नआउँदा श्रीमान्को यादले खूब सताउँथ्यो । उमेर मिल्ने देवरसँग मनका कुरा साटासाट गर्दागर्दै शारीरिक सम्पर्क शुरू भयो । समाजले थाहा नपाओस् भनेर गर्भ फाल्दा आज यो हालत भयो ।” निराश शान्ता दुःखेसो गर्छिन्, “उहाँ घर आउजाउ गरिरहेको भए मेरो यो हालत हुँदैनथ्यो ।” जिल्ला अदालत पाँचथरले शान्तालाई २० वर्ष कैद गर्ने फैसला गरेको छ । पाँचथर यासोक–५ की राजकुमारी लावती (३०) अहिले शिशु हत्या अभियोगमा पाँचथर कारागारमा छिन् । उनका श्रीमान् इन्द्रकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीका लागि मलेशियामा छन् ।

जेठाजु नाताका मुखराम लावतीसँगको शारीरिक सम्पर्क पछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा राजकुमारी र मुखरामलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेपछि राजकुमारीले दिएको प्रतिक्रिया साँच्चिकै मार्मिक थियो । उनले भनेकी थिइन्, “पैसा पठाउनुहुन्थ्यो, के गर्नु लोग्नेसँग साटिने सबै दुःखसुख पैसासँग साट्न मिलेन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।” अहिले राजकुमारी र मुखराम दुवै पुर्पक्षका लागि पाँचथर कारागारमा थुनामा छन् । यो कारागारमा शान्ता र राजकुमारी जस्ता १३ महिला कैदी बन्दी छन् । १३ मध्ये चार ज्यान मुद्दामा समातिएका छन् । चारै जनाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।

रोल्पा पश्चिम इरिबाङमा सौतेनी आमा र काकाबीचको सहवास देखेको कारण एक बालकको ज्यान गएको छ । १० साउन २०७३ मा १४ वर्षीय भरत पुनमगरको ज्यान गएको हो । इरिबाङ–१ ओगाउँका सौतेनी आमा विमला पुनमगर र स्थानीय गोविन्द पुनमगरबीच यौन सम्पर्क भइरहेको बालकले देखेका थिए । विमला र गोविन्दले ‘आफूहरूबीचको शारीरिक सम्बन्ध खुलासा हुने डरले बालकको हत्या गरेको’ बयान प्रहरीमा दिएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवबहादुर बस्नेतका भनाइमा, “आत्महत्या गरेको देखाउन विमला र गोविन्दले बालकलाई सलले बाँधेर घरको बार्दलीमा झुण्ड्याइदिएका थिए ।” बालकका बुवा वीरसिंह दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । २५ वर्षे विमलाको साथमा साढे दुई वर्षको छोरो छ । अहिले गोविन्द र विमला पुर्पक्षका लागि रोल्पा कारागारमा थुनामा छन् । २७ चैत २०७१ मा रोल्पाको पूर्वी मिझिङ–१ की अनिता विष्टले गढवा–९ दाङका २१ वर्षीय प्रकाश चौधरीको अण्डकोष थिचेर हत्या गरिन् । २६ वर्षीय अनिता मिझिङ–७ सुलिचौर बसपार्क छेउमा किराना, चिया, नास्ता पसल गर्दै आएकी थिइन् । चौधरी सुलिचौरमै रहेको शंकर फर्निचर उद्योगमा मिस्त्री काम गर्थे ।

दुई वर्षदेखि अनिता र चौधरीबीच यौन सम्बन्ध रहँदै आएको थियो । प्रहरीका भनाइमा, चौधरीले अनितासँग २७ चैत राति पनि एक पटक यौन सम्पर्क राखेका थिए । चौधरीले दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा अण्डकोषमा जोडले थिचिदिएकाले उनको मृत्यु भएको बयान अनिताले दिएकी छन् । आफूलाई यौन सम्पर्क गर्न मूड नचलेकाले ख्यालख्यालैमा अण्डकोष थिचिदिंदा चौधरीको मृत्यु भएको अनिताको भनाइ थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका अनिताका श्रीमान् बमबहादुर विष्ट तीन महीनापछि नेपाल फर्कने तयारीमा थिए । प्रहरीले अनितालाई ज्यान मुद्दा लगाएको छ ।

जिल्ला अदालत रोल्पाले उनलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । अनिता अहिले रोल्पा कारागारमा छन् । उवा–८ घोडाबाङका बस्ती घर्तीमगरले साउदी अरबमा १२ वर्ष बिताए । यो अवधिमा उनले ४४ लाख रुपैयाँ कमाए । तर विदेशमा कमाएको यो पैसाकै कारण उनको ज्यान गयो । वैदेशिक रोजगारीबाट फर्केपछि बस्तीले श्रीमतीसँग चार दिन बिताए । चार दिनपछि विदेशमा कमाएको पैसाको विषयलाई लिएर श्रीमान्(श्रीमतीबीच खटपट शुरू भयो । बस्तीले आफूले कमाएर पठाएको पैसाको हिसाबकिताब खोजे । २८ वर्षीया श्रीमती चान्चीले लोग्नेले विदेशमा कमाएर पठाएको पैसाको हिसाब देखाउन सकिनन् । घरमा झगडा भयो । बस्ती आमाको घर गएर केही दिन बसे । गाउँमा नानाथरी टीकाटिप्पणी हुन थालेपछि चान्चीले श्रीमान्लाई आफ्नै घर लिएर गइन् ।

७ फागुन २०७२ का दिन बस्तीको आफ्नै घरमा हत्या भयो । प्रहरीका अनुसार राति घरमा सुतिरहेका बस्ती माथि खुकुरी प्रहार गरिएको थियो । घरमा अरू पनि मान्छे बस्थे । उनीहरूले घटनाको सुइँको समेत पाएनन् । चान्चीले प्रहरी र मिडियालाई ‘लुटेरा समूहले लुटपाट गरी श्रीमान्को हत्या गरेको’ बताइन् । आक्रमणमा परेका श्रीमान्को स्थानीय क्लिनिकमा उपचार गर्दागर्दै ज्यान गएको चान्चीको भनाइ थियो । चान्चीको भनाइको विश्वास गरेर गाउँलेहरू मलामी पनि गए । उनले प्रहरीमा गाउँकै दुई युवाबाट हत्या गरिएको आशंका छ भनेर उजुरी दर्ता गराइन् । प्रहरीले ती युवालाई पक्राउ पनि गर्यो ।

तर, प्रहरीले पोलिग्राफ परीक्षण गरेपछि घटनाको यथार्थ बाहिर आयो । चान्ची र उनका प्रेमी भनिने भरतले मिलेर हत्या गरेको खुल्यो । अदालतमा मुद्दा दर्ता भयो । जिल्ला अदालत रोल्पाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठायो । अहिले उनीहरू दुवै रोल्पा कारागारमा छन् ।

खोज पत्रकारीताबाट

Rojar

विशेष