सिन्धुपाल्चोकमा मानवअधिकार हननका २६ घटना
पुस–११ । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ। गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष २६ वटा घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।
गैरराज्यतर्फबाट २५ र साङ्गठानिक समूहबाट भएको एउटा गरी यस वर्ष जिल्लामा २६ मानव अधिकारसम्बन्धी घटना घटेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
सार्वजानिक गरेको तथ्याङ्कमा भने राज्यको तर्फबाट भएको मानव अधिकारसम्बन्धी घटना समावेश छैन भने कालीका गाविसस्थित उखुबारीमा भएको घटनाको तथ्य सङ्कलन गर्न बाँकी रहेको समेत जानकारी दिएको छ । मानव अधिकार हनन भएका २६ पीडितमध्ये २३ महिला र तीन पुरुष रहेका छन् । मानव अधिकार हनन गरेको आरोप आठ महिला र २७ पुरुष गरी ३५ जनालाई लगाइएको मानव अधिकारकर्मी नातीबाबु धितालले जानकारी दिए ।
मानव अधिकार हनन भएको घटनामा संलग्नमध्ये १९ वटा आरोपीलाई कानुनी कारबाही गरिएको छ भने ६ वटा मिलापत्र गरिएको छ । चार वटा हत्या, बाल अधिकार हननसम्बन्धी सात वटा, महिला अधिकारसम्बन्धी १४ वटा, कुटपिटसम्बन्धी तीन वटा र एउटा आगजनीबाट जम्मा २९ रहेको इन्सेकले जनाएको छ । नागरिकको स्वास्थ्य अधिकार पनि जिल्लामा सन्तोषजनक नभएको तथ्याङ्कमा उल्लेख छ ।
बाल विवाह सिन्धुपाल्चोकको मुख्य चुनौतीको रुपमा रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य सोम सापकोटाले बताए । त्यस्तै महिला र पुरुषको एउटै काम भए पनि ज्यालामा हुने विभेद र अन्य क्षेत्रमा समेत पछि पारिएको सापकोटाले जानकारी दिए । रासस
मानव अधिकार हनन
सिन्धुपाल्चोक