देश

पुस महिनामा चर्को घाम

पुस महिनामा चर्को घाम
पुस - ११ । धनगढीमा हुस्सु र कुहिरोसँगै चल्ने शीतलहरका कारण यसअघिका हिउँदयाममा कठ्याङ्ग्रिने जाडोको सामना गर्दै आएका स्थानीयवासी यस वर्ष भने घाम लाग्दा जाडोबाट मुक्त भएका छन्। मौसममा आएको परिवर्तनसँगै केही दिनयता सफा आकास हुँदा लाग्ने गरेको घामले राहत महसुस भएको स्थानीयवासीले बताएका छन्। 'पुस महिनामा पनि चर्को घाम लागेको पहिलोपटक देखेँ, स्थानीयवासी खड्कबहादुर मल्लले भने, तीन दशकअघि पुस महिनामा घाम लाग्थ्यो, तर यति चर्को घाम हुन्थेन।' जलवायु परिवर्तनको असरले पुस महिनामा पनि यति चर्को घाम लागेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । कुहिरो र हुस्सुसँगै चलेको शीतलहरका कारण यस क्षेत्रमा गएको मङ्सिर महिनाको अन्ततिर आठ÷दश दिन जाडो बढेको थियो । स्थानीय जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले, आकास सफा हुँदा दिनहुँ लाग्ने गरेको घामले जाडो ह्वात्तै घटेको जनाएको छ । मङ्सिर अन्तिमतिर जाडो बढेर आठ डिग्री सेल्सियस आसपाससम्म झरेको यहाँको न्यूनतम तापक्रम घाम लाग्दा हाल ११ डिग्री सेल्सियसको आसपास पुगेको कार्यालयका प्रमुख राममणि मिश्रले बताए। पश्चिमी वायुको प्रभाव न्यून रहेका कारण हिजोआज हुस्सु, कुहिरो र शीतलहरको समस्या नदेखिएको हुन सक्ने मिश्रले बताए। रासस

चर्को घाम धनगढी

विशेष