देश

द्वन्द्वपीडित एकल महिला सामूहिक अायअार्जनमा

द्वन्द्वपीडित एकल महिला सामूहिक अायअार्जनमा
पुस - १२ । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुन्। उनका श्रीमान्को द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो। श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो। केही वर्षसम्म उनले कष्टपूर्ण दिनहरु काटिन्। विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ। उनीसँगै गाउँका अन्य द्वन्द्वपीडित एकल महिला एकजुट भएर जङ्गलमा खेर गइरहेका अल्लोको सङ्कलन गर्ने र त्यसबाट घरायसी सामग्री बनाउने काम थाले। यसपछिका दिनमा जीविका चलाउन उनलाई सजिलो भयो। गाउँका एकल महिला एकजुट भएर यस्तो काममा लागेको उनको भनाइ छ । पूर्वी रुकुमका महत, काँक्री, मोराबाङलगायत गाविसका १५ जनाभन्दा बढी द्वन्द्वपीडित एकल महिलाले सामूहिक रुपमा अल्लो सङ्कलन गरेर अहिले राम्रो आम्दानी गरिरहेका छन्। अल्लोको धागोबाट कम्बल, टोपी, सुइटर, पटुकालगायतका सामग्री निर्माण गर्ने गरेको बुढाले बताइन्। सुरुमा निर्माण गरिएका सामग्री बिक्री नभए पनि अहिले भने व्यापारीहरु सङ्कलनका लागि गाउँमै आउने गरेको र मूल्य पनि राम्रो तिर्ने गरेको उनको भनाइ छ। एक मौसममा अल्लोको धागोबाट निर्माण गरिएका सामग्री बिक्री गरेर हरेक महिलाले करिब ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बुढाले बताइन्। उनीहरु अहिले मेसिनबाटै विभिन्नखालका सामग्री निर्माण गर्ने गर्छन्।

अल्लो सङ्कलन रासस रुकुम

विशेष