समाज

नमुना बस्ती बनाउन धुर्मुस सुन्तली मुसहर बस्तिमा

नमुना बस्ती बनाउन धुर्मुस सुन्तली मुसहर बस्तिमा

पुस १३  । मुसहरहरुको गाउँमा नमुना बस्ती बनाउन हास्य कलारका सिताराम कट्टेल ‘धुर्मुस’ महोत्तरीको बर्दिबास आएका छन् ।

उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच वर्षीया मरनी सादा मङ्गलवार बिहानैदेखि खुसी थिइन् । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अबिर लगाई स्वागत गरिन् ।

बाख्राको खोरबाट घरमा बस्ने सपना

मरनी वर्षौंदेखि बाख्रा बाँध्ने खोरमा सुत्दै आएकी छन् । उनी कठ्यांग्रिदो जाडोमा भुईँमै परालमाथि बोरा ओढेर रात काट्दै छिन् ।

मरनीले धुर्मुलाई भेटेपछि खुसी हुँदै भनिन्, ‘हाम्रो हाम्रो त जीवनै बर्बाद भएको थियो । घर बनाउन लाग्नुभयो खुसी लाग्यो । ल बाबु ठुलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ १’

बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनलाई कुरिरहेका थिए ।

धुर्मुसलाई फूलमालाले स्वागत

एकाबिहानै दाउरा लिन जङ्गल पुग्ने मुसहरहरु मङ्गलवार धुर्मुसको स्वागतमा जुटे । कोहीले छिमेकीको आँगनबाट फुल टिपेर ल्याए । कोहीले माला उने । कोही बस्ती सरसफाइमा जुटे । बस्तीका अगुवा मञ्जय सदा धुर्मुस आउने सूचना सङ्कलन गरेर बस्तीका स्थानीयलाई सुनाइरहेका थिए ।

मुसहरहरुका सामुन्ने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरू खुसीले गदगद भए । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुसी भएर धुर्मुसको गलादेखि शिरसम्म माला लगाइदिए ।

निधारमा टलक्क टल्किने रातो र पहेलो अक्षता लगाइदिए । धुर्मुस–सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा धाराबाट अमखोलामा ल्याएको पानी खुवाएर खुसीयाली साटे ।

घरघर घुमाएर पीडा सुनाए

धुर्मुसलाई मुसहरहरुले आफ्नो घरघर घुमाए । धुर्मुस–सुन्तलीले मुसहरको घर बनाइदिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय ७० जना मुसहरमा खुसीयाली छाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ बस्तीको पहिलो चरणको निर्माण अघि बढाउन काठमाडौँबाट बर्दिबास आएका छन् ।

सबै जुटे देश बन्छ

स्थानीयको स्वागतले अफूहरुलाई काम गर्न हौसला बढाएको मुसहरसँगको कुरा धुर्मुसले व्यक्त गरे ।

‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मूल फुटाउन खोजेका हौँ । मुसहर बस्तीबाट देशभरि नै समानता र सद्भवको सन्देश जानेछ’,उनले भने, ‘पीडित र गरिब दुखीको पीडामा मलहम लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु । हामी सबै खटिएमा देश अवश्य बन्छ ।’

राष्ट्र निर्माणको जिम्मा सबैको काँधमा रहेको बताउँदै उनले एकताको सूत्रमा बाँधिएर देश विकासमा लाग्नु पर्ने बेला आएको बताए । ‘हामीले बोग्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौँ’, उनले भने, ‘एक पटक विकासको नारा लिएर सबै जना गाउँ पसौं । दुई वर्षमै देशमा कायापलट हुन्छ ।’

मुसहर बस्तीका लागि दलले पनि भारी बोक्ने

मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसँग मुसहर बस्ती निर्माणसम्बन्धमा अन्तरक्रिया तथा सार्वजनिक सुनवाई गरेका छन् ।

स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामूहिक रूपमा प्रतिबद्धतासहित घोषणा गरे ।

चार करोड ७८ लाख लागत

चार करोड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुँदैछ । मुसहरहरुलाई नयाँ वर्षमा नयाँ घर उपहार स्वरूप दिने योजनासहित धुर्मुस–सुन्तली फाउण्डेसनले काम थालनी गर्दैछ ।

Dhurmus Suntali

विशेष