देश

सांकेतिक शिक्षक नहुँदा समस्या

सांकेतिक शिक्षक नहुँदा समस्या
पुस १३ । विद्यालय तहका बहिरा विद्यार्थीका लागि सांकेतिक शिक्षक नहुँदा पढाइमा समस्या परेको छ । शिक्षक नहुँदा ती विद्यार्थीलाई दुईमहिने आधारभूत सांकेतिक तालिम लिएका शिक्षकबाट पढ्नुपर्ने बाध्यता छ । राष्ट्रिय बहिरा महासंघ नेपाल र रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास रेरीले मंगलबार आयोजना गरेको ‘बहिरा बालबालिकाका लागि समाहित शिक्षा प्रवद्र्धन’ कार्यक्रममा सूर्योदय मावि चिसापानी बाँकेमा कक्षा १० मा पढ्ने सरिता चन्दले आफूहरुलाई पढाउने शिक्षक नहुँदा पढाइमा समस्या परेको बताए । उनले विद्यालयमा सांकेतिक शिक्षक नहुँदा तालिम लिएका शिक्षकबाट पढ्नु परेको बाध्यता रहेको बताउनुभयो । “थोरै सांकेतिक भाषाको ज्ञानका भएका शिक्षकले पढाउने गरेका छन्”, उनले भने ,“ती शिक्षकले हामीलाई सबै बुझाउन सक्नुहुन्न । अलि अलि मात्र सिकाउनु हुन्छ ।” उनले सरकारले राम्रो ज्ञान भएका शिक्षक व्यवस्था गरिदिए आफूहरुको शिक्षाको स्तर राम्रो हुने बताए । जनप्रकाशमावि जोशीपुर कैलालीका शिक्षक राजेश चौधरीले आफ्नो विद्यालयमा शिक्षक अभावले विद्यार्थी घटेको बताए । “विसं २०७१ मा ८० जना बहिरा विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरेका थियौँ”, उनले भने, “तर शिक्षक अभावले ती विद्यार्थीलाई टिकाउन सकेनौँ । अहिले घटेर ३६ जनामा सीमित भएका छन् ।” यसैगरी सूर्योदय माविका प्रअ जयबहादुर विष्टले दुईमहिने तालिम लिएका शिक्षकबाट विद्यार्थीलाई पढाउनुपरेको वाध्यता सुनाए ।“ थोरै समय तालिम लिएका शिक्षकले पढाउँदा विद्यार्थीले राम्रोसँग बुझ्दैनन्”, उनले थपे, “शिक्षक नहँुदा हामीसँग भएका शिक्षकले बोर्डमा लेखेर पढाउने गरेका छन् ।” उक्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म नौ विद्यार्थी छन् । कार्यक्रममा दहित आधारभूत निमाविकी शिक्षिका नारायणी चन्दले तालिम लिएका शिक्षकले अन्य विषय पढाए पनि गणित र विज्ञानजस्ता विषय पढाउन समस्या भएको बताए । “गणित र विज्ञान विषयका संकेत हुन्छन् । ती संकेतको अर्थ बताउन कम तालिम लिएका शिक्षकले जानेका हँुदैनन्”, उनले भने ,“त्यसैले तालिम नभई सरकारले शिक्षक नै उपलब्ध गराएको भए विद्यार्थीलाई पढाउन सजिलो हुने थियो ।” दहित विद्यालयमा कक्षा १ देखि ८ सम्म ३६ विद्यार्थी छन् । रेरीका अध्यक्ष पुनितविक्रम शाहले सरकारले बहिरा विद्यार्थीलाई अन्य विद्यार्थी जस्तै व्यवहार गरेर सांकेतिक शिक्षक उपलब्ध गराउनुपर्ने बताए । राष्ट्रिय बहिरा महासङघका अध्यक्ष रामकुलन पन्तले सांकेतिक भाषा नै नजान्ने शिक्षकबाट विद्यार्थीले पढ्नुपरेको बताउँदै सरकारले बहिरा विद्यार्थीको अनुपातमा सांकेतिक शिक्षक उपलब्ध गराउनुपर्ने माग गरे । उनका अनुसार नेपालमा करिब छ लाख बहिरा विद्यार्थी छन् । शिक्षाराज्यमन्त्री धनमाया विकले बहिरा विद्यार्थीलाई थप सेवा दिएर क्षमता बढाउनुपर्ने बताए । उनले शिक्षा नियमावली संशोधन गरे भए पनि बहिरा विद्यार्थीको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी कार्यालयमा पनि दोभासे राखेर सेवा दिनुपर्नेमा जोड दिए ।

sanketik sikshya

विशेष