देश

अग्निपीडित विद्यार्थीलाई देउराली सोसाईटीद्वारा राहत

अग्निपीडित विद्यार्थीलाई देउराली सोसाईटीद्वारा राहत
पुस - १३ । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपीडित विद्यार्थी बालबालिकाहरुलाई बुधबार देउराली सोसाईटी तेह्रथुमले राहत सामग्री उपलब्ध गराएको छ । सोसाईटीले संक्रान्तिबजारस्थित ईलाका प्रहरी कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपीडित ५० जना विद्यार्थी, ८ जना विद्यालय जान उमेर नपुगेका बालबालिका, ४ जना गर्भवति महिला र ९ जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो । पीडित विद्याथीहरुलाई शैक्षिक सामग्री, झोला, विद्यालय पोशाक, थर्मस, विद्यालय नजाने बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा, ग्यास चुलो, प्रेसर कुकर, थर्मस र गर्भवती महिलालाई कुकर र थर्मस गरि १ लाख ९२ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको देउराली सोसाईटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै सोसाईटी अध्यक्ष दिनेश कुमार खनालले पीडाको घडीमा सहानुभूती स्वरुप राहत वितरण गरिएको बताए । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा जलजला समाजको विस्तारित देउराली सोसाईटीले खानेपानी तथा सरसफाई, सुधारिएको चुलो र स्थानिय अधिकार कार्यक्रम अन्र्तगत कृषि, शिक्षा, बालबालिका, महिला र सुसाशनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष खनालले जानकारी दिए । गत पुस १ गते भएको भिषण आगलागीबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवारका ८ बालबातिका, ४ गर्भवति महिला, ५० विद्यार्थी, ९३ महिला सहित १७८ जना विस्थापित भएका छन् । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपीडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी रहेको छ ।
अमृत बास्तोला / तेह्रथुम

भिषण आगलागी संक्रान्तिबजार

विशेष