समाज

सिंहदरबार भत्काउन ‘सुझाव प्रतिवेदन’

सिंहदरबार भत्काउन ‘सुझाव प्रतिवेदन’

पुस १४ । गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ ।

ती भवन सबलीकरण रेट्रोफिटिङ गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो । मन्त्रालयले खटाएको संरचना प्राविधिक स्ट्रक्चरल इन्जिनियर को समूहले दिएको सुझाव प्रतिवेदनका आधारमा ऐतिहासिक महत्त्वका सम्पदा भत्काएर ‘उस्तै गरी बनाउने’ निष्कर्ष अघि सारिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक शिवहरि शर्माले प्राविधिकले दिएको प्रतिवेदनलाई अहिले ‘थप रायसुझाव र निर्णय’का लागि पुरातत्त्व विभागमा पठाइएको बताए ।

शर्माका अनुसार सिंहदरबारभित्रको पश्चिम–लन ९पहिले योजना विभाग बसेको मुख्य भाग, संसद् भवन ग्यालरी भवन, श्रीमहल पुल्चोक, बबरमहल, केशरमहल, केन्द्रीय कानुन पुस्तकालय रानीपोखरी, बाल मन्दिर, जुद्ध बारुण यन्त्र वसन्तपुर लगायतका संरचना तत्काल भत्काउनुपर्ने भन्दै प्राविधिकको टोलीले सुझाव दिएको हो ।

रायसुझावका लागि पठाइएका अन्य सम्पदाजन्य भवनमध्ये हरिहरभवन हाल मानव अधिकार आयोग र राष्ट्र बैंकका बालुवाटार तथा थापाथली कार्यालय भत्काएर नयाँ निर्माण गर्ने निर्णय भइसकेको प्रवक्ता शर्माले बताए ।

‘हामीले यो तेस्रोपटक गराएको प्राविधिक अध्ययन हो,’ शर्माले भने, ‘२०३० सालको आगलागीमा बचेको सिंहदरबारको पश्चिम लन ९स्टेट हल० भने ‘रेट्रोफिटिङ’ गरेर पनि सम्भव नहुने देखिएको छ ।

यसको गारो सम्पूर्ण रूपमा भत्किइसकेको र जोडजाड हुनै नसक्ने सुझाव आएकाले भत्काउनुपर्ने स्थिति देखिएको हो ।’ शर्माले हाल उपराष्ट्रपति कार्यालय रहेको बहादुर भवन ‘रेट्रोफिटिङ’ गर्ने निर्णय भइसकेको र राष्ट्रपति कार्यालयको अग्रभाग समेत भत्काएर बनाउने वा ‘रेट्रोफिटिङ’ गर्ने भन्नेबारे रायसुझाव बटुल्ने काम भइरहेको बताए ।

पुरातत्त्व विभाग भने ऐतिहासिक महत्त्वका सबै संरचना भत्काउनेभन्दा सम्पदाजन्य दरबारहरूलाई ‘सबलीकरण’ गर्नुपर्ने पक्षमा छ ।

प्राचीन स्मारक संरक्षण ऐन तथा नियमावलीका आधारमा पनि यी सम्पदा भत्काउन सम्भव छैन,’ विभागका इन्जिनियर सम्पत घिमिरेले भने, ‘बरु यी भवनमा कुनै कार्यालय सञ्चालन गर्न नदिने र बाहिरी मुलुकमा झैं संग्रहालय वा धरोहरका रूपमा विकसित गर्न ‘रेट्रोफिटिङ’ गर्न सकिने सम्भावनाका बारे पनि छलफल भइरहेको छ ।’

सिंहदरबारसहितका ऐतिहासिक सम्पदाको संरचना र ‘रेट्रोफिटिङ’ सम्भावनाका बारेमा अध्ययन गर्न राष्ट्रसंघीय सांस्कृतिक संरचना संरक्षणको निकाय युनेस्कोले विषयविद् र प्राविधिकको टोली झिकाएर ‘थप अध्ययन’ गर्ने रुचि देखाएको पुरातत्त्व विभागले जनाएको छ ।

विभागमा ‘स्ट्रक्चरल इन्जिनियर’ नभएका कारण र सम्पदाविद् प्राविधिकको खोजी गर्ने क्रममा फेब्रुवरी अन्त्यमा जापानबाट पनि प्रविधिज्ञ काठमाडौं आउने भएका छन् ।

कान्तिपुर

Singha Darbar

विशेष