समाज

थारु पहिरनमा सजिएकी उनी, डल्लामा जे देखियो

थारु पहिरनमा सजिएकी  उनी, डल्लामा जे देखियो

पुस १४ । बर्दिया जिल्लाका पर्यटकीय स्थलहरुको भ्रमणका लागि पत्रकारको टोली डल्ला होम स्टे पुगेको थियो । हुस्सुले सताउँने भयमा रहेका सबैलाई सुखद सन्देश दिँदै घाम उदाउँदै थियो । पुसको मध्यमा दुर्लभ प्राय रहने घाम भेटिदा आँगनमा ननिस्कने सायदै कोही होला । त्यसमाथि बडघर अशोक रामको आँगनमा सजाइएका काठका मुडामा बसेर गफिनुको मजा बेग्लै थियो ।

अग्ली न अग्ली थारु पहिरनमा सजिएकी युवती आँगनमा अकस्मात देखिइन् । एक झलकमा सायदै कसैले अनुमान गर्न सक्थ्योः उनी काठमाडौंबाट सँगै गएकी गैरथारु सुष्मा बराली हुन् । ५ फिट ८ इन्चकी उनी थारु पहिरनमा झनै अग्ली देखिएकी थिइन् ।

सुष्मासँग एक झोक धेरैले सेल्फी लिए । उनी पोज दिन व्यस्त रहिन् । ‘घरमा पुग्दा डिलिट गर्न पर्ने भए पनि केही बेरलाई राखौँ’ भन्दै पुरुष मित्रहरु मस्किन थाले । माहोल विन्दास रह्यो ।

बर्दिया राष्ट्रिय निकुञ्जस्थित होटेल, धधवारस्थित सतखलुवा ताल, पदनहास्थित कुसुमघाट र डल्लास्थित होमस्टे जहाँ पुगे पनि थारु साँस्कृतिक कार्यक्रम देखाइएको थियो । तर, हरेक ठाउँका फरक नाच र भेषभुषाले थारु संस्कृतिको विविधता झल्काउँथ्यो । डल्लामा तालिम प्राप्त नर्तकहरुले हरेकलाई बुरुक्कै पारेका थिए । थारु पहिरनमा युवतीहरुको सौन्दर्य झनै खुलेको थियो । सुष्मालाई त्यही सौन्दर्यले लोभ्याएको थियो सायद ।

[caption id="attachment_47942" align="aligncenter" width="750"] सतखलुवाको साँस्कृतिक टोली [/caption]

पोशाक त लगाउने तर कस्को ? उनीजस्तो अग्लो नर्तक कोही थिएन । उनले रातभर अनेक जुक्ति लगाइन् । तर, उपाय निस्केन । जैबिक मार्ग होमस्टे डल्लाका अध्यक्ष परशुराम थारुको होम स्टेमा रात बिताएकी उनले आफ्नो इच्छा बिसाइन् । परशुरामले आफ्नी छोरी पूजा पनि ठूलै जिउडालको रहेको सुझाए । त्यसपछि सुष्माका लागि थारु पहिरनमा सजिएर सेल्फी खिच्ने ढोका खुल्यो, चाहे पहिरनमा ज्यान अटोस् नअटोस् ।

[caption id="attachment_47941" align="aligncenter" width="750"] डल्लाको साँस्कृतिक टोली[/caption]

सिउँदोमा थियो मांगिया । थारु भाषामा सिउँदोलाई माङ भनिन्छ र सिउँदोमाथि लगाइने गहनालाई मांगिया । गलामा थियो गोलाकार सुतिया । चन्द्राहार भनिने मालारुपी गहनाले सौन्दर्य थपेको थियो । पाखुराको माथिल्लो भागमा थियो बिजायत र तल्लोभागमा बाँक । अग्रान भनिने पहेंलो स्कार्फमा बेरिएकी उनी कुर्ता र लेहंगामा बिल्कुल थरुनी देखिएकी थिइन् ।

छिमेकी जिल्ला बाँके कोहलपुरकी सुष्माले थारु सँस्कृतिसँग साक्षात्कार गर्ने मौका उतिसारो पाइनन् । पढाइ र जागिरका लागि काठमाडौंदेखि रामेछापसमेत छिचोलेकी उनी बर्दियाको बसाइमा थारु सँस्कृतिसँग ढिलो गरी अभ्यस्त हुन पाएकोमा चुकचुकाउँदै थिइन् । यसरी चुकचुकाउने उनी एक्ली होइनन् । बर्दिया पुग्ने अधिकांशको एउटै बोलि हुने गर्छ ‘यस्तो राम्रो, ओहो । पहिल्यै आउँन पाएको भए ।’

यसरी आगन्तुकलाई लोभ्याउने गर्दछन् तालिमप्राप्त नर्तकहरु । दशैँ, तिहार, माघी, कृष्णाष्टमीलगायतका विशेष पर्वमा थारुहरुले बेग्लाबेग्लै साँस्कृतिक कार्यक्रम गर्दछन् । आधुनिकताले छुँदै गएपछि मौलिक थारु परम्परा ओझेल परेको छ । मादलको तालमा ताल मिलाएर नाचिने नाचको ठाउँमा सिडी प्लेयरले बर्चश्व जमाउँदै गएको छ । पहिचानको मुद्धा राजनीतिकवृत्तमा जबरजस्त स्थापित भए पनि साँस्कृतिक क्षेत्रमा पहिचान उहिलेको कथा हुँदैछ ।

[caption id="attachment_47944" align="aligncenter" width="750"] सतखलुवाको साँस्कृतिक टोलीसँग सुष्मा[/caption]

‘एकै बसाइमा थारु सँस्कृति चिनाउन पाइयोस् र थारु सँस्कृति पुस्तान्तरण गर्न पाइयोस् । यही सोचेर मौलिक लठ्ठी तालिमका लागि पाँच जनालाई दाङ पठायौँ । उनीहरुले अरुलाई सिकाए । हामी सँस्कृति जोगाउने र सँस्कृतिमार्फत जीवीकोपार्जन गर्ने ध्येयमा छौँ ।’ जैबिक मार्ग होमस्टेका अध्यक्ष परशुराम चौधरी भन्छन् ।

चन्द्रबहादुर थारुको संयोजकत्वमा ३० जनाको कलाकार समूह नै छ । थारु साँस्कृतिक नृत्य समूहले एक सो बापत १ हजारदेखि २५ सय सम्म लिने गर्दछ । सोको १० प्रतिशत होम स्टे समितिले लिन्छ । बाँकी कलाकारको पारिश्रमिक, पोशाक र साजसज्जामा खर्च हुन्छ । डल्लाको होमस्टेलाई कम्युन पनि भन्न सकिन्छ । २२ घरधुरीमा होमस्टे छ । तर, ती होमस्टेको संचालन जैविक मार्ग होमस्टे समितिले गर्दछ । कस्को घरमा कति पाहुना बसे, सबै अभिलेख समितिसँग हुन्छ । समितिले पालैपालो पाहुना पठाउँने गर्दछ ।

भान्छामा पाक्ने परिकार सकेसम्म गाउँकै उत्पादन हुने गर्दछ । लोकल कुखुरा त प्रत्येक घरमा देख्न सकिन्छ । गाउँ पूरै होमस्टेमा लागेको भन्दा फरक पर्दैन । नजिकै छ सामुदायिक बन । जुन बनमा गैंडा सहजै देखिन्छ । ‘निकुञ्जमा नदेखिएला तर त्यहाँ देखिन्छ । जैबिक संरक्षणमा समेत डल्लाले उदाहरणीय काम गरेको छ ।’ पर्या पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरी डल्लाको योगदानका बारेमा चर्चा गर्दछन् ।

सँस्कृति जोगाउन डल्लामात्रै होइन, वरपरका अरु गाउँपनि जुर्मुराएका छन् । ठाकुरद्वारास्थित होटेलहरुमा पनि थारु साँस्कृतिक कार्यक्रम हुने गर्दछ । पाहुनाले साँस्कृतिक कार्यक्रम हेर्न चाहेमा नजिकैका गाउँहरुबाट कलाकारलाई बोलाइन्छ । बेतनी, बानु, गोब्रेला, शिबपुर र ठाकुरद्वारा गाउँका टोली होटल पुग्ने गर्दछन् । टोलीलाई एक हजारदेखि १५ सयसम्म पारिश्रमिक दिइन्छ । पाहुनाले दिने टिप्स छँदैछ । साँस्कृतिक कार्यक्रमबाट कमाइ पनि हुने सँस्कृतिको प्रचार प्रसार पनि हुने भएपछि साँस्कृतिक टोलीको संख्या वृद्धि हुँदै गएको छ ।

थारुहरुको बहुल जिल्ला बर्दियामा थारु सँस्कृतिको विविधता र मौलिकता एकसाथ हेर्न पाइन्छ । काठमाडौंबाट टाढा भएकाले पर्यटकको ध्यान झट्ट पुग्दैन । बर्दियाली पर्यटनको प्रचार प्रसार पनि उतिसारो हुन सकेको छैन । जसोतसो पर्यटक बर्दिया पुगिहाले उनीहरुले बर्दिया भुल्दै भुल्दैनन् । पर्यटन प्रबद्र्धन विकास केन्द्रको आयोजनामा गरिएको समाचार कक्षदेखि बर्दियासम्म नामक भ्रमणमा सहभागी सुष्माकै शब्दले सपाटरुपमा बर्दियाको महत्वबोध गराउँछ, ‘बर्दिया बबाल रहेछ, बर्दियालाई सायदै बिर्सिनेछु । थारु सँस्कृति हेर्दाको मजा अब म कहिले पाउँछु ?’

कुराकानीमा आधारित

Bardiya Tourisum # Dalla Tharu Home Stay Narayan Poudel Satkhaluwa Simsar Kshatra Sushma Barali

विशेष