समाज

चीतवनको हात्तीमाथी मोदी !

चीतवनको हात्तीमाथी मोदी !

चितवनमा जारी १३औं चितवन हात्ती महोत्सवमा बुधबार अघिपछिभन्दा दर्शकको भीड बढेको थियो । उद्घोषकले अघिल्लो दिन नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भन्दै प्रचार गरेका थिए । दर्शकले होइन भन्दै उद्घोषकको कुरा पत्याएनन् । आउने को रै’छ, जिज्ञासा भने दर्शकको मनमा रहिरह्यो ।

त्यही जिज्ञासा मेटाउन बुधबार साँझसम्म महोत्सव स्थलमा दर्शकबको भीड थियो । नेपाली मात्र होइन, विदेशी दर्शकसमेत झुम्मिएका थिए ।

साँझ ५ बज्न लाग्दा उद्घोषकले स्टेजबाट आउँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भनेका मात्र के थिए, दर्शकले चारैतिर आँखा डुलाए । स्टेजअघिको भागबाट हात्ती चढेर मोदीजस्तै अनुहारका व्यक्ति अघि बढेको दृश्य दर्शकले देखे । साँच्चै हो कि भन्दै उनीहरू आश्चर्यमा परे । उनी हात्तीबाट झरे । दर्शकदीर्घामा हात हल्लाउँदै स्टेजतिर लागे । दर्शकले नक्कली हो कि सक्कली भनेर छुट्याउन सकेनन् । केही दर्शकले भने ‘मनोज गजुरेलजस्ता छन’ भन्दै आपसमा कुरा गरे ।

स्टेजमा पत्रकार रक्षा रेग्मीले उनलाई नेपालीमा एकोहोरो प्रश्न सोधिन् । त्यसको जवाफ उनले आडैमा रहेका दोभासेलाई सोधेझैं गरेर हिन्दीमा दिए । व्यंग्य नाकाबन्दीको समयमा भारतले गरेको अहसयोगमा केन्द्रित थियो । करिब एक घण्टासम्म उनले एकोहोरो प्रहसन प्रस्तुत गरिरहे ।

दर्शकदीर्घामा हाँसो गुन्जिरह्यो । मोदीको जस्तै भेष । उस्तै बोली । कार्यक्रमको अन्तिम समयसम्म केही दर्शकले उनलाई चिनेनन् ।

नक्कली मोदीको रूपमा स्टेजमा पुगेका मनोजले पनि अन्तिम समयसम्म पनि आफ्नो परिचय दिएनन् । परिचय नै नदिई मञ्चबाट बिदा भए । अघिल्लो दिन लोदोहोरी गायक बद्री पंगेनीले भावुक बनाएका दर्शकलाई मनोजले बुधबार हँसाएका हुन् । त्यस्तै, गायक मिलन लामाको ‘घरमा पराल बारीमा बन्सो...’ गीतमा पनि ननाच्ने दर्शक कोही भएनन् ।

सांस्कृतिक कार्यक्रमका संयोजक दीपक अधिकारीअनुसार महोत्सव अवधिभर गायक नेत्रजी पन्त, उमा गिरी, जुना डिसी, शान्तिश्री परियार, भुवन प्यासी, शैलेन्द्र सिंखडाले नचाउने र हँसाउनेछन् भने रत्ननगर एकेडेमीका कलाकारले नृत्यमार्फत दर्शकलाई थप मनोरञ्जन दिनेछन् ।

कान्तिपुर

Manoj Gajurel

विशेष