समाज

विद्यालयमा विदेशी गीत, संगीत र नृत्यमा रोक

विद्यालयमा विदेशी गीत, संगीत र नृत्यमा रोक
पुस–१४ । शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगाएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–संगीत र नृत्य मात्र समावेश गर्न पाइनेछ । सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीत–संगीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले जनाएको छ । शाखाले उक्त व्यवस्था कार्यान्वयन गर्न हालैमात्र देशभरका जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ । विदेशी संस्कृतिको अनुचित प्रभावलाई रोक्न यस्तो निर्णय गरिएको शाखाका उपनिर्देशक प्रमोदकुमार शर्माले बताए । “भाषा, साहित्य, कलामा हामी धनी छौँ”, उपनिर्देशक शर्माले भने “हाम्रै संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ, विद्यार्थीलाई त्यसैतर्फ प्रेरित गर्नुपर्छ ।” शाखाले गरेको परिपत्रमा विद्यालयमा विदेशी संगीतलाई पूर्ण रुपमा रोक लगाउन भनिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्यमा पनि नेपाली कला, सौन्दर्य, आदर्श र वैशिष्ट्यहरुको संरक्षण, संवद्र्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्दत गर्ने उल्लेख छ । विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा समेत यो विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । “विदेशी गीत–संगीत समावेश गर्न नपाइनेदेखि अन्य अतिरिक्त क्रियाकलाप सम्बन्धमा सबै विद्यालयमा निर्देशन गइसकेको छ”, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले भने – “कार्यान्वयन भए, नभएको पनि अनुगमन गर्छौं ।” उनले अटेर गर्ने विद्यालयलाई कारबाही गरिने उल्लेख गरे । विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि अतिरिक्त क्रियाकलापमा चित्रकला, हस्तकला, वाद्यवादन, नृत्य, नाटक, साहित्यिक गतिविधि, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुदलगायतका प्रतियोगिता सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ । रासस

विदेशी गीत विद्यालय शिक्षा मन्त्रालय संगीत र नृत्य

विशेष