खेल

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने
पुस–१५ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । प्रतियोगिताको शुक्रबार सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे । राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उनको भनाइ थियो । सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठाैँ राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि लागि शुक्रबारदेखि नै तयारीका कामको थालनी हुने जानकारी दिए । नेपाली सेना शीर्ष स्थानमा प्रतियोगितामा विभागीय टोलीको वर्चस्व रहेको छ । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा वर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको छ । यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको छ । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका छन् । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका छन् । रासस

सातौँ राष्ट्रिय खेलकुद

विशेष