समाज

मालपोत कार्यालयः घुस नदिइ काम गराउँछु भनेर नचिताए पनि हुन्छ

मालपोत कार्यालयः घुस नदिइ काम गराउँछु भनेर नचिताए पनि हुन्छ


पुस १६ । काभ्रेका विनोद ढकालले बालुवाखानीमा भएको आफ्नो जग्गा बेच्नुपर्ने भयो । जग्गा बेच्न उनी मालपोत कार्यलय चाबहिल पुगे । चाबहिल मालपोत कार्यलयमा उनको जग्गा पास गर्न समस्या देखियो । मालपोतको कर्मचारीले कागजात हेर्दै ‘ख’ वर्गको जग्गा कसरी ‘क’वर्गमा पास गराउनु’ भनेर अड्डी कसे ।

उनको जग्गा ‘क’ वर्गको नै थियो । तर पास गराउने कागजमा ‘ख’ वर्गको भनेर लेखिएको थियो । उनले भने ‘मेरो जग्गा क वर्गको नै हो, कसरी ख वर्गको भयो ?’ उनले त्यति प्रश्न गर्दैमा जग्गा पास हुने कुरै भएन । लामो समयसम्म वादविवाद भएपछि उनी त्यहाँबाट फर्किए । लेखापढी व्यावसायीसंग पनि चर्काचर्की नै पर्‍यो । चर्काचर्की गरेर काम बनेन । २ हजार रुपैयाँ लेखापढी गर्नेले हातमा लियो । कर्मचारीले ‘ख’ लाइ मेटेर ‘क’ बनाईदिए । काम हुनै सक्दैन भनेको उनको काम एकछिनमै सकियो ।

कर्मचारीले ‘हुँदै हुँदैन, नियमले मिल्दैन’ भनेको काम लेखापढी व्यवसायीलाई दुई हजार दिएपछि भयो । नियमले पनि दियो, काम पनि सजिलै भयो । पैसा दिँदा नियमले मिल्ने, नदिँदा नियमले नदिने अचम्मको थिति मालपोतमा छ ।

चाबहिल मालपोतमा जस्तै अन्य मालपोतहरुमा पनि सेवाग्राहीहरु आफ्नो सजिलै बन्नुपर्ने काम नबनेर मारमा परेका छन् । चाबहिल मालपोतमा भेटिएका कपनका सेवाग्राही शिव कार्की भन्छन् ‘हामीजस्ता साधारण मान्छेले काम गर्न गाह्रै छ । सबै काम लेखापढी ब्यवसायीले पैसा लिएर मिलाउँछन् । हामी आफैले त केही गर्न सक्दैनौं ।’

त्यस्तै अर्का एक सेवाग्राहीले जग्गा पास गर्न दुईदिनसम्म मालपोत धाए । तर काम भएन । उनी भन्छन ‘अरुले आधा घण्टामा नै काम सकेर गईसके, मेरो काम नै हुन सकेको छैन ।’

काठमाडौंमा अवस्थित विभिन्न मालपोत कार्यलयहरु धाउँदा घुस नदिई काम गर्न नसकिने देखिएको छ । सामान्यदेखि ठूलो काम गर्नका लागि कर्मचारीहरुले काम नगरेर सेवाग्राहीलाई मर्कामा पारेको देखिएको छ ।

लेखापढी व्यावसायीले मिलाउछन कर्मचारीसँग सेटिङ लेखन्दासहरुलाई अचेल लेखापढी व्यवसायी भन्न थालिएको छ । लेखन्दासहरु सेवाग्राहीहरुको कागजपत्र तयार पार्छन् । तयार पारिएको कागजात बोकेर उनीहरु कार्यालयभित्र प्रवेश गर्छन् । उनीहरुले लगेको काम कतै रोकिँदैन । तर सेवाग्राही आफैले त्यो काम गर्ने हो भने गाह्रो छ । कर्मचारीहरुले एक टेबलबाट अर्को टेबल ,एउटा कागज, अर्को कागज माग्दै र एउटा हाकिमबाट अर्को हाकिमलाई देखाउदै दिन बिताउँछन , तर काम बन्दैन । अन्तिममा लेखापढी व्यावसायीलाई सम्पर्क गरेर पैसा दियो भने लेखापढी व्यावसायीले एकैछिनमा काम गरेर ल्याईदिन्छन् । त्यसको लागि सेवाग्राहीले सयदेखि २ हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

कागजजात तयार पारेर लेखापढी व्यासायीलाई नै पठाएर काम गराउने सेवाग्राहीहरु धेरै छन् । किनकि, आफै गएर काम बन्दैन । सरकारी कर्मचारीको कार्यकक्ष भित्र पस्न निषेध गरिएको हुन्छ । लेखापढी व्यावसायीहरु कर्मचारीको सिट नजिकै गएर काम गराईरहेका हुन्छन भने, सेवाग्राहीहरु लाईनमा टुलुटुलु हेरिरहन बाध्य हुन्छन् । त्यसैले पैसा नदिइकन काम गराउन निकै नै गाह्रो पर्छ । नाम नबताउने शर्तमा चाबहिलका एक लेखापढी व्यासायी भन्छन् ‘कर्मचारीहरुले नै पैसाको बार्गेनिङ गर्छन् । सेवाग्राही जादाँ काम नबन्नुको कारण पैसा हो । उनीहरुले डाईरेक्ट पेसाको डिल गर्न मिल्दैन, त्यसैले बन्ने काम गरिदिदैनन् ।’


फाईल खोज्न घण्टौं लाग्छ ललितपुर लगनखेलको मालपोत कार्यलयमा अतिआवश्यक कागजातहरु छरपस्ट छन । महत्वपूर्ण कागजातहरु बिना फाईलिङ थुप्रो लगाएर भद्रगोल अवस्थामा राखिएको छ । कागजको थुप्रोमाथि चढेर कर्मचारीहरुले कागज खोजिरहेका हुन्छन् । सेवाग्राहीहरुलाई आफ्नो कागजात भेट्न घण्टौं लाग्छ । सरकारको तलब खाएर बसेको कर्मचारीले कागज खोजेको समेत सेवाग्राहीबाट कम्तिमा एक सय रुपैयाँ लिन्छन् भन्ने गुनासो छ ।

आफ्नो काम सिध्याउन कर्मचारीलाई लेखापढी व्यावसायीको माध्यमबाट पैसा दिनु पर्छ । सेवाग्राहीबाट सोझै पैसा लिँदा समातिने डरले कर्मचारीहरुले अचेल लेखापढी व्यावसायीमार्फत घुस लिन्छन् । घुस बिना त काम गर्छु भनेर त नचिताए पनि हुन्छ । यसरी मालपोत कार्यलयमा सेवाग्राहीहरुले दैनिक जसो दुख खेप्नुपर्ने हुन्छ ।

सरकारी कर्मचारीहरु अफिसबाटै सहकारीमा बचत नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई बैंकबाट तलब दिने गरेको धेरै समय भईसकेको छ । तर लगनखेल मालपोत कार्यलयमा दिनहुँजसो सहकारीका कर्मचारीहरु पैसा उठाउन मालपोत कार्यलय पुग्छन् । मालपोत कार्यलयका कर्मचारीहरुले सहकारीमा दिनहुँ जस्तो बचत गर्छन । त्यस कार्यलयका अधिकाशं कर्मचारीहरु सहकारीमा नियमित बचत गर्छन् ।

सरकारी कर्मचारीलाई दिनहुँ जस्तो बचत गर्न पैसा कहाँबाट आउछ ? सहकारीको कर्मचारीहरु अफिस टाईममा सरकारी कार्यालय पैसा उठाउन छिर्नु कत्तिको जायज हो ?

लेखापढी व्यवासायमा १० वर्षदेखि क्रियाशील एक जनाले भने, ‘हामीले सेवाग्राहीबाट लिएको पैसा उनीहरुलाई दिन्छौं । त्यही पैसा तह लगाउन सहकारीमा बचत गरेका हुन् । महिनामा कति घुस खाइएछ भनेर हिसाब गर्न यो बचत सजिलो भएको होला ।’

कर्मचारी भन्छन् सिस्टमले काम गर्दैन काम गर्न सजिलो होस् भनेर सरकारले मालपोत कार्यलयहरु अनलाइन प्रणाली र टोकन सिस्टमको व्यवस्था गरेको छ । तर, कुनै पनि कार्यलयमा त्यो सिस्टम चलाउन कर्मचारीहरुले जागर देखाएका छैनन् । अनलाईन प्रणालीले पनि सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको छ ।

सिस्टमले काम नगरेकको बाहना बनाएर कर्मचारीलाई घुसखोरीका लागि सहज भएको लगनखेलका कमल क्षेत्री बताउँछन् । ‘नयाँ सफ्टवेयरमा वारेसनामा लेख्न मिल्दैन भनेर झुलाउँछन् । क्षेत्रीले भने ‘तर लेखापढीमार्फत घुसदिने हो भने वारेसनामाको काम पनि उत्तिखेरै हुने रहेछ ।’

ढिलो खुलेर चाडो बन्द हुन्छ कार्यालय सरकारी कार्यलय विहान १० बजे खुलेर ५ बजे बन्द हुन्छ । जाडोको मौसममा ४ बजे बन्द हुने व्यवस्था गरिएको छ । लगनखेल मालापोत कार्यलयमा ११ बजेसम्म पनि सेवाग्राहीहरु कर्मचारीहरुको पर्खाइमा हुन्छन । अफिस १० बजे खुले पनि अधिकाशं कर्मचारीहरु ११ बज्दासम्म आईपुगेका हुँदैनन् । जसले गर्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । लगनखेलका सेवाग्राही सुनिल श्रेष्ठ भन्छन् ‘हतार भएर काम गर्न आएको समबन्धित कर्मचारी अझैसम्म आएको छैनन । १२ बज्न लागिसक्यो ।’

अफिस आउन ढिलो गर्ने कर्मचारीहरु फर्किन भने एकदम हतारिन्छन । ४ बजे बन्द हुने अफिसमा ३ बजे पुग्दा कर्मचारीहरु भेटिदैनन् । जसका कारण काम नसकिकन सेवाग्राहीहरु घर फर्कनुपर्छ । लगनखेलका सेवाग्राही मुकेश श्रेष्ठ ‘भन्छन् आज पनि काम नबन्ने भयो । कर्मचारीहरु यतिचाँडै निस्कि सकेछन् । एउटा सानो काम बन्नलाई तीन चार दिन लाग्छ ।’

व्यवस्थापनमा कमजोरी उपत्यकाका अधिकाशं मालपोत कार्यालयहरुको व्यवस्थापन अत्यन्तै फितलो छ । नयाँ आधुनिक भवन बने पनि सेवाग्राहीहरुलाई बस्ने ठाउँसमेत छैन । सरकारी कार्यलयको भ¥याङ तथा भित्ताहरुमा पान खाएर थुकेको फोहोर छ । कार्यालय अत्यन्त फोहोर पारेर राखिएको छ ।


लगनखेलको मालपोत भवन अपांगमैत्री छ । ह्वीलचियर लाने बाटोको मुखमा मोटरसाईकल पार्किङ गरर राखेको कारणले कोही सेवाग्राहीहरु त्यहाँबाट छिर्न सक्दैनन् । मालपोत कार्यलयले मोटरसाईकल त्यसरी पार्किङ गरेर राख्दासमेत हटाउने कुनै पहल गरेको छैन । लाइन र टोकन सिस्टम सुचारु नगर्दा सेवाग्राहीहरु लेखापढी व्यावसायीलाई पैसा नदिईकन आफै काम गर्न सक्दैनन् । त्यसैले उपत्यकाको मालपोत कार्यलयहरु सेवाग्राहीलाई दुख दिने र घुस खाने अखडा बनेका छन् ।

यो अखडालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले पनि पुष्टि गरेको थियो । ट्रान्सपरेन्सीको अध्ययनमा सबैभन्दा घुस्याहा कर्मचारी मालपोतका हुन्छन् ।

–सागर बुढाथोकी

corruption in malpot malpot

विशेष