प्रवास

मलेसियामा विदेशी कामदारको लेबी रोजगारदाता कम्पनीले तिर्नु पर्ने

मलेसियामा विदेशी कामदारको लेबी रोजगारदाता कम्पनीले तिर्नु पर्ने

पुस – १६ । मलेसियामा आप्रवासी श्रमिकले तिर्दै आएको लेबी अब रोजगारदाता कम्पनीले तिर्नु पर्ने भएको छ । मलेसियामा कार्यरत विदेशी कामदारले आगामी वर्ष सन् २०१७ देखि (भोली जनवरी १) देखि लागू हुने गरी यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने भएको निर्देशन दिएको हो । शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मलेसियाले कामदारको लेभी रोजगारदाताले तिर्नुपर्ने भन्दै निर्देशन समेत दिएको छ । गृहमन्त्रीको निर्देशन अनुसार आइतबार बाटै यो नियम लागुहुने सञ्चार माध्यमले बताएका छन् । यो नयाँ नीति पारित भई पूर्णरुपमा लागू भएमा मलेसियामा कानुनी रुपमा रहेका पाँच लाख बढी नेपाली कामदारलाई फाइदा पुग्ने छ । मलेसियामा कार्यरत नेपाली श्रमिकले विभिन्न क्षेत्रमा काम गरे बापत वर्षको १८ सय देखि दुई हजारसम्म लेबी बुझाउनुपर्छ । अघिल्लो वर्षमात्र मलेसिया सरकारले यहाँ कार्यरत आप्रवासी श्रमिकको लेबी शुल्क दोब्बर बृद्धि गरेको थियो । लेबी वृद्धिपछि मलेसियाको रोजगारीमा नेपालीको रुचिसमेत घटेको थियो । मलेसिया सरकारले गत वर्ष आप्रवासी श्रमिकको न्युनतम तलबमा समेत वृद्धि गरेको थियो । मलेसियामा आप्रवासी श्रमिकको आकर्षण घट्दै जाँदा मलेसिया सरकारले आप्रवासी श्रमिकलाई आर्षण गर्न यस्तो घोषणा गरेको अनुमान गरिएको छ ।

विशेष