फुटबलसंग प्रेम परेपछि ३५ बर्षमा विहे गरेका शाक्य
सागर बुढाथोकी
प्वाल परेका पूराना मोजा भेट्दा राजुकाजी शाक्य औधीं खुशी हुन्थे । मोजाभित्र टालाटुली कोचेर बल बनाउथे । नयां बल पाउंदा उनमा भिन्दै उर्जा उत्पन्न हुन्थ्यो । साथीभाइ बोलाउंथे । र, भकाभक गोल हान्थे । गनाउने मोजाबाट फुटबलको बासना लिएका शाक्य नेपाली फुटबलका लागि सदाबहार नायक बन्न सफल भएका छन् । खेलाडीका रुपमा, कप्तानका रुपमा र प्रशिक्षकका रुपमा दक्षिण एशियाली कपमा कब्जा जमाउने उनी एकमात्र भाग्यशाली नेपाली हुन् ।
फर्केर हेर्दा राजुकाजी शाक्य नेपाली फुटबलका सदाबहार नायक राजुकाजी शाक्य खेलाडी र प्रशिक्षक दुवै रुपमा सफल दरिए । शाक्य पूर्वाञ्चलको सुन्दर सहर धरानमा ०१७ सालमा जन्मिएका हुन् । स्कुल पढ्दै फुटबलको कौशल सिके र मिडफिल्डरको भूमिकाबाट खेल सुरु गरे । पछि राष्ट्रिय टोलीका डिफेन्डर बने । कप्तान भए । अहिले प्रशिक्षक छन् । उनको जीबनलाई फुटबलसंगै तुलना गर्न सकिन्छ । संर्घषको मैदानमा उनी फुटबलझैं धेरै पटक हुत्याइएका छन् । नेपाली फुटबलका सर्बाधिक सफल खेलाडी राजुकाजी शाक्य अनुसाशन, मेहनत र लगनशिलतालाई सफलताको आधार मान्छन् । धरानमा मोजामा टालाटुली कोचेर फुटबल बनाउने र खेल्ने गर्थे शाक्य । फुटप्रतिको अगाध रुची थियो । उनी धरान ११ को बी टिमबाट खेल्न थाले । उनको सपना थियो राष्ट्रिय टिममा खेल्ने । १९८१ मा राष्ट्रिय टिममा छनौट भए । कप्तान भए । खेलमा सफलता हाशिल गरेपनि उनीमाथि जिन्दगीले झेल गर्न छाडेन । सधैंजसो आर्थिक समस्या परिरह्यो । भएको जागिरपनि खोसिएपछि दैनिकी गुजारा गर्नै मुस्किलपनि भयो । हिजोआजजस्तो व्यवसायिक क्लवपनि उतिसारो थिएनन् । खेलबाट नाम चल्यो, तर दैनिकी चलेन । तरपनि उनले धैर्यता गुमाएनन् । विदेश जाने र कमाउने थुप्रै प्रस्तावले उनलाई छोएन । धेरैले उनलाई मुर्ख भने । मुर्खता नै सही, उनलाई स्वदेश छोड्न मन लागेन ।
फुटबलकै कारण ढिलो विवाह
जान्ने भएदेखि उनी फुटबलकै पिरतीमा रमाए । उनी स्टार बन्दै गएपछि केटीलेपनि पछ्याउन थाले । तर, उनले फुटबललाई पछाइरहे । उनले खेलाडी रहिन्जेल विहे नगर्ने अठोट लिए । विवाह गरिहाले परिवारलाईपनि समय दिन नसकिने, फुटबलमा पनि असर पर्ने उनको बुझाइ थियो । सक्रिय खेलजीबनपछिमात्र उनले विहे गरे । हेर्दा ठिटो देखिएपनि विवाह गर्दा उनी ३५ बर्षका भइसकेका थिए । उनलाई रुचाउने धेरै थिए । तर उनले मागी विवाह गरे । खेलजस्तै मागी विवाह कतुहलपूर्ण हुने उनको बुझाइ छ । प्रेमविवाह रेकर्ड गरिएको खेल हेरेजस्तो, मागी विवाह खेल प्रत्यक्षरुपमा हेरेजस्तो ।
बिर्सन नसकिने क्षण १९९३ मा बंगलादेशमा साफ खेलकुद भइरहेको थियो । नेपालले कुनै खेलमा पनि स्वर्णपदक जित्न सकेको थिएन । फुटबलको फाइनल अन्तिम दिनमा हुंदै थियो । आशा फुटबलमा मात्र थियो । तर, कप नै चुम्न कठीन थियो । शाक्यलाई राति नेपालबाट खएका पदाधिकारीले अनुनयबिनय गर्न थाले । जागिर नै जान लागेका भन्दै स्वर्ण कुनैपनि हालतमा जित्नुपर्ने भन्दै बिन्ति विसाए । उनीहरुलाई देशले हार्ने भन्दापनि पद गुम्ने चिन्ता थियो । रित्तो हात फर्कन लागेको नेपाललाई ऐतिहासिक जित दिलाउने शाक्यले प्रण गरे । नभन्दै नेपालले उपाधी चुम्यो । नेपाल फर्केपछि पदाधिकारीले वास्तै गरेनन् । पदाधिकारीको जागिर बचाउन सफल भएपनि क्याप्टेन शाक्यको जागिर बचेन । उनले खांदै आएको सरकारी जागिरपनि खोसियो । उनलाई जागिर खोसुवा भएको घटनाले सधैं बिझाउंछ । त्यस्तै १९९२ मा जापानमा भएको एसिएन गेममा बरिष्ठताको आधारमा उनले नेपालको झण्डा बोक्ने कुरा थियो । प्रचलनपनि त्यस्तै थियो । अन्तिम अवश्थामा झण्डा अफिसियलले बोके । देशको झण्डा बोक्न नपाएको सो क्षणपनि उनी बिर्सन सक्दैनन् ।
सर्बाधिक सफल तर अभागी
राजुकाजी शाक्य नेपाली फुटबलका नक्षत्र हुन् । उनको उपस्थितिले नेपाललाई ऐतिहासिक उपलब्धी दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । तर, राज्यले उनलाई दिएका आश्वासनसमेत पूरा गरेको छैन । दोष राज्यको होइन, राज्य सम्हाल्नेको हो । शाक्यले मन बुझाएका छन् । सार्क गेममा गोल्ड मेडल जित्दा गोरखा दक्षिण बाहु दिन्छु भनिएको थियो तर दिइएन । पछि उनी कोच भए । उनीसंगै काम गर्ने बिदेशी प्रशिक्षकलाई दक्षिणबाहु दिइयो, उनलाई भने
शाक्यका नजरमा भबिष्यका स्टार खेलाडी
नेपाली खेलकुदमा प्रतिभावान खेलाडीहरुको आगमन हुुने क्रम निरन्तर छ । शाक्यको नजरमा भबिष्यको स्टार खेलाडीहरु नबयुग, प्रकाश, बिमल, अनन्त र अन्जन बिष्ट हुन् । तर उनीहरुले अझै धेरै सिक्न र मेहनत गर्न बांकी रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘नबयुगमा स्ट्राईकरमा हुनुपर्ने गुण छ, फिनिसिङ राम्रो छ, तर उसलाई ट्रेनिंग पुगेको छैन । लय मिलिसकेको छैन ।’
राजुकाजीको भाबी योजना
उनी नेपाली फुटबलको स्तर उकास्न निरन्तर लागिरहेका छन् । नेपाली फुटबललाई एसिया कपमा पु¥याउने उनको लक्ष्य छ । च्यासलमा फुटबल एकेडेमी संचालन गरेर राम्रो खेलाडी उत्पादनमा जुटेका छन् । उनी भन्छन, ‘सानो उमेर देखी खेल्ने खेलाडीले देशको लागी लामो समय योगदान गर्न सक्छ ।’
राजु काजी शाक्यले च्यासलमा युवाहरुलाई लक्षित गरेर खोलिएको नेसनल स्पोर्ट सेन्टर ।
former captain interview nepali football raju kaji shakya