खेल

अन्तराष्ट्रिय क्रिकेटमा सन्दीपको छलाङ

अन्तराष्ट्रिय क्रिकेटमा सन्दीपको छलाङ
जेठ, १३ नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वकप विजेता टिमका कप्तान माइकल क्लार्कसँगै खेल्न हङकङमा छन् । हङकङमा पहिलो पटक आयोजना हुन लागेको हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा १६ वर्षे युवा लेगस्पिनर सन्दीपले खेल्न लागेका हुन् । Sandip सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । यो उनको पहिलो अन्तराष्ट्र्रिय प्रतियोगिता थियो । उक्त क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक समेत गरेका थिए । सन्दीपले विदेशी खेलाडीका रूपमा कावलुनबाट खेल्नेछन् । यही टिमबाट अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले पनि खेल्नेछन् । २०१५ को अगस्टमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्लार्कको कप्तानीमा अस्ट्रेलियाले गत वर्ष एकदिवसीय विश्वकप जितेको थियो । क्लार्कसँग १ सय १५ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । हङकङ राष्ट्रिय टिमका अस्ट्रेलियाली खेलाडी रायन क्याम्पवेल कावलुनका खेलाडी एवं प्रशिक्षक छन् । सन्दीपको टिम कावलुनका कप्तानमा ब्रिटिस खेलाडी स्कोट म्याककेच्नी छन् । उनले नै हङकङमा खेल्ने व्यवस्था मिलाएका हुन् । कावलुनमा म्याककेच्नी, क्याम्पवेलसहित बाबर हायत, तनभिर अहमद, नजिब अमार र सिमनद्वीप सिंह लगायतका खेलाडीसँग खेल्नेछन् । हङकङ क्रिकेटका प्रमुख कार्यकारी अधिकृत टिम कुटलर पनि कावलुनमा आबद्ध खेलाडी हुन् । मे २७ देखि २९ सम्म हुने ट्वान्टी–२० संरचनाको हङकङ ब्लिजमा रुड बार आइल्यान्ड वारियर्स, कावलुन क्यान्टोन्स, हुङ होम जेडी जगुवार र गी लान्टाउ ग्लालेक्सी रायडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

विशेष