मुख्य समाचार

सिंहदरबारमा रंग छ्याप्ने युवकको भित्री कथा, सत्याग्रहपूर्व निस्काशित विद्यार्थीदेखि कमल थापाको सदस्यसम्म

सिंहदरबारमा रंग छ्याप्ने युवकको भित्री कथा, सत्याग्रहपूर्व निस्काशित विद्यार्थीदेखि कमल थापाको सदस्यसम्म
ishan मान्छे चर्चित हुन केही गर्नुपर्दैन । सामान्य किन नहोस् अनौठो काम गरे पुग्दछ । ईशान अधिकारीको हकमा त्यस्तै भएको छ । सिंहदरबारमा रंग छ्यापेर उनी रातारात धेरैको नजरमा परे । सिंहदरबार घेराउ गर्दा नपाइने चर्चा उनले रंग छ्यापेरै प्राप्त गरे । गुमनाम व्यक्ति ईशान को हुन् ? कसरी यो अभियानमा जोडिए ? धेरैको जिज्ञाशा छ । यही जिज्ञाशाको उत्तर खोज्न हामीले ईशानका बुबाआमाको खोजि गयौं । ईशानलाई धरौटीमा रिहा गर्नका लागि विहीबार जिल्ला प्रशासन कार्यालय ल्याइएको थियो । निकै चिन्तित देखिन्थे ईश्वर । उनी छोराका कारण आफु दुःखी रहेको बताइरहेका थिए । सोझो बाटो हिडेको भए धेरै प्रगति गर्ने खुबी भएपनि अनेकथरी कुरामा लागेको उनको दुखेसो थियो । भोलिका दिनमा छोरो ठूलै भयो भनेपनि आफ्नो मन नरमाउने उनको कथन थियो । ‘आज धेरै टेन्सन छ यसका कारण, भोलि कसले देखेको छ र ?’  ईश्वर छटपटाइरहेका थिए । रिहा भएपनि ईश्वर र ईशान अलग बाटो लागे । बुबा तपाई जानु भन्दै ईशान साथीहरुसंग अन्तै लागे । उनी काम परे र दाम चाहिएमात्रै बुबाको घर जांदारहेछन् । अघिपछि साथीभाइकोमा नै बास हुंदोरहेछ । आइतबार हामीले ईशानका बुबा ईश्वरलाई औपचारिकरुपमै भेट्यौं । संगै थिइन् ईशानकी आमा अनु । Ishan a ईशानको बाल्यकाल छोराले निर्जल ब्रत लिएको सात दिन भइसकेकाले उनीहरुको अनुहारमा छटपटि सहजै देखिन्थ्यो । घरको जेठो सन्तानको विचित्र शैलीले उनीहरुको पारिवारिक सुख हरेको छ । २०५१ साल असार १ गते जन्मिएका ईशान सानै देखि आफ्नै पाराका थिए । उनलाई जे ईच्छा लाग्यो त्यही गर्दथे । अटेरी ईशानको आनीबानीसंग बुबाआमा जत्तिको अनुभवी को होला र ? अध्ययनमा  तेज ईशान सेन्टजेभियर्समा पढ्न थाले । शिक्षकशिक्षिकासंग तर्क गर्थे । यस्ता तर्क जो संगै पढिरहेका साथीभाइका लागि नौला हुन्थे । फरक शैली, सोच र तिक्ष्ण दिमागका कारण ईशानलाई साथीभाइले आइन्स्टाइन भनेर बोलाउथे । उनी सानैदेखि टिभी, रेडियो मोबाइल बनाउन पोख्त थिए ।  शिक्षकको अध्यापनमा उनी खोट देख्थे । उनी कक्षामा शिक्षकको कम्प्लेन गर्थे । प्रशासनमा उनी विरुद्ध शिक्षकले कम्प्लेन गर्थे । उनले एकजना शिक्षकसंग ‘कि त सेन्टजेर्भियर्समा छैन कि म छैन’ भनेर जुहारी खेले । विद्यालयले शिक्षकको पक्ष लियो । इगोका कारण अन्ततः ईशानले विद्यालय छाडे । बुबा ईश्वर भन्छन्, ‘त्यस्तो राम्रो पढिरहेको छोराले विद्यालय त्याग्यो । त्यसपछि खाशै पढेन । ललितपुरबाट एसएलसी दिएर राम्रो अंक ल्याई उर्तीण भयो ।’ ईशानले इन्टेल ओपन यूनिभर्सिटीबाट १२ कक्षा पास गरे । अहिले इन्जिनियरीङ इन्दिरा गान्धी ओपन यूनिभर्सिटीमा तेस्रो वर्षमा अध्ययनरत छन् । ईश्वर भन्छन्,‘कोर्षको किताब पढ्दैन । बाहिरी किताब पढिरहेको हुन्छ । तरपनि परीक्षामा राम्रो अंक ल्याउछ ।’ उनको राजनीतिक पृष्ठभुमी ईशान विस्तारै राजनीतितर्फ मोडिए । कमल थापासंग प्रभावित ईशान दुई बर्षसम्म थापाको राप्रपा नेपालको सक्रिय कार्यकर्ता भए । ईशानका बुबा ईश्वर भन्छन्, ‘उनले त्यतिबेला पार्टीको फोटो, पर्चा टाँस्दै हिँड्ने काम पनि नगरेको होइन । कमल थापाले पनि उनलाई आइडल मान्थे ।’ ईशानको शैली अरुभन्दा फरक थियो । त्यसैले २ बर्षमै उनी राप्रपा नेपालभित्र चर्चाको पात्र बनिसकेका थिए । सम्भावना देखिन्थ्यो । तर उनले चटक्कै राप्रपा नेपाल छाडिदिए । आमा अनु भन्छिन्, ‘मनमा के विझ्यो कुन्नी दुई बर्षमा ईशानले चटकै छाडे । हामीलाईपनि कारण भनेका छैनन् ।’ त्यसपछि माओबादीका नेता बालकृष्ण ढुंगेललाई दिने भनिएको आममाफीको बिरोधमा सडकमा निस्किए । युद्धकालको कर्तव्यज्यान मुद्धामा सर्वोच्वले उनीमाथि सर्वोश्वसहित जन्मकैदको फैशला सर्वोच्व अदालतले सुनाएको थियो । पछि राष्ट्रपतिमार्फत उनलाई आममाफी दिन खोजिएको थियो । सोको विरोधमा बालुवाटारमा ४–५ महिना बालुवाटार घेराउ कार्यक्रम भयो । ईशान घेराउका सक्रिय सदस्य थिए । उनी पटकपटक हिरासतमा परे । ईश्वर र अनुले जेठो छोरा त्यसरी हिड्दा मन थाम्न सकेनन् । कतिपटक सम्झाइबुझाइ गरे । तर ईशानले टेरपुच्छर लगाइदिएनन् । आमा अनु भन्छिन्,‘कसैको सुन्दैन, कसैलाई टेर्दैन । राम्रो भएर हिँड भन्यो मान्दैन, चप्पल लगाएर हिँड्छ । कहिले कटु लगाउँछ । अहिले त झन् धेरै नै फेरिएको छ ।’ बुबा भावुक हुँदै भन्छन्, ‘मान्छे धेरै अलग छ । मेरो छोरो नेपालमा होइन अमेरिकामा जन्मनु पथ्र्यो । यस्तो दिमाग भएको मान्छेलाई नेपालमा कसैले सहयोग गर्दैन ।’ सिंहदरबारमा रंग छ्यापिएको बारे बुबाआमा ईशानका बुबा ईश्वरले भन्छन् –मलाई व्यक्तिगत रुपमा यो काम खल्लो लागेको छ । उसले गरिरहेको काम राम्रो भएता पनि उसलाई सफल हुन दिँदैनन् । कोही न कोही ननिस्किदा देश परिवर्तन हुँदैन । तर यहाँँका नेता चोर, डाँका ज्यानमारा छन् । पछिल्लो समयमा ईशानलाई राजावादी भएको आरोप पनि लागेको छ । तर उनका बुबा यो कुरा मान्न तयार छैनन् । ईश्वर भन्छन्, ‘राजावादी भएको कुरा सरासर गलत हो । ऊ आफ्नै स्वविवेकले यस कार्यमा लागेको हो । कसैले उचालेको होइन । उचालेर पनि उचालिदैन ।’ उनलाई छोराले र्निजल ब्रत लिएकोमा दुःख लागेको छ । छोराले ब्रतपनि नत्याग्ने सरकारले मागपनि सम्बोधन नगर्ने हो भने ईशानको ज्यान जाने जोखिम उनले देखेका छन् । त्यसैले उनी ईशानलाई ब्रत त्याग्न आग्रह गर्छन । उनी भन्छन्, ‘छोराको हत्यारा पत्ता लगाउन अनसन बस्दा बस्दै नन्द प्रसाद अधिकारीको मृत्यु भयो । अहिले उनकी श्रीमती गंगामाया अधिकारीको पनि हालत उस्तै छ । सरकारले के ग¥यो ? त्यति बेला राजनीतिक दल मानवअधिकारकर्मीको दवाव थियो । तर अहिले कसैले साथ दिएको छैन ।’ ईशानकी आमा अनु भन्छिन्, ‘लाखै सम्झाए पनि मान्दैन के गर्ने गर्ने ? यसरी हिँडेको देख्दा चित्त दुख्छ ।’ किन छ्यापे रंग (ईसानको फेसबुकबाट विषय – स्वदेश बचाउनका लागि निर्जल व्रतवारे सार्वजनिक आग्रह । मूलद्वारमा रक्तिम रङ्ग छर्की सिंहदरवारको वास्तविक चरित्र उदाङ्गो गर्दै मैले आज निर्जल वर्त प्रारम्भ गरेको छु । स्वयंले मात्र नभई मेरो समाज र राज्यबाट जानअंजान ढङ्गले गरिएका अनेक विभेद र हिंसाका घटनाका लागि मैले प्रायश्चित्त गर्दैछु । स्वयं र सबैको लागि क्षमा माग्दैछु । केही महिनाअघि हुलाकीमार्ग मार्फत गरिएको महाकालीमेची पैदलयात्राको क्रममा मैले हजारौं मधेशवासी नेपालीहरूसङ्ग अन्तक्रिया गर्न पाएको थिएँ । दमन, हिंसा र उपेक्षाको शृंखलाका कारण उक्त भेगमा नेपाल राष्ट्रप्रति निराशा बढ्दै गएको छ । नेपाल सरकार र शीर्ष दलका अगुवाले तत्काल स्थितिको गम्भिरता बुझी असन्तुष्ट पक्षलाई पूर्ण–सम्मानसहित समेट्ने इमान्दार प्रयास नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्व सङ्कटमा पर्ने प्रष्ट छ । त्यसैले यो निर्जल व्रत स्वदेश बचाउनका लागि आग्रह हो । सरकारसंग ईशानको आग्रह  सरकार र असन्तुष्ट पक्ष समक्ष म यी सार्वजनिक आग्रह राख्नचाहन्छु । १. हिंसा दमन र विभेदको साटो सहानुभूति करूणा र भाइचारालाई शासनको नयाँ आधार बनाउने प्रतिबद्धतासहित थारू, मधेशी, आदिवासीजनजाति, महिला, दलित, मुसल्मान लगायत अन्य उपेक्षितसोषित जनसमुदायसंग राज्य एवं वृहत्तर नेपाली समाजद्वारा गरिएका सम्पूर्ण ऐतिहासिक विभेद दमन तथा भूलत्रुटीका लागि राज्यको तर्फबाट राष्ट्रप्रमुख र सरकारप्रमुखद्वारा क्षमा मागियोस् भनि आग्रह गर्दछु । २. राष्ट्रिय मेलमिलाप सुनिश्चित र सुदृध गर्ने उद्देश्यले आन्दोलनरत तथा संविधानसङ्ग असन्तुष्ट दलपक्षको सम्मानजनक सहभागितासहित संविधानमा आवश्यक संशोधन सुनिश्चित गर्ने गरी अधिकार सम्पन्न समिति गठन गराईयोस् भनि आग्रह गर्दछु । नेपालका आन्तरिक समस्या नेपालीहरूले नै मिलेर सुल्झाउने राजनीतिक संस्कृति स्थापित गरियोस् । ३. उच्चस्तरीय छानबिन समिति गठन गरी मधेश आन्दोलन लगायत संविधान र संविधान निर्माण प्रकृयाको विरोधमा भएका समस्त सङ्घर्ष एवं राज्यपक्षबाट गरिएका दमनज्यादती तथा त्रुटीकमजोरीलाई सार्वजनिक गरियोस् । समस्त आन्दोलनरत दलका अगुवा एवं असन्तुष्ट जनहरूलाई भद्रअवज्ञा गर्दै शान्तिपूर्ण सत्याग्रहमा सहभागी हुन आग्रह गर्दछु । ईशानले आफुलाई स्वतन्त्र भन्ने गरेका छन् । पोशाकपनि समावेशी लगाउने गरेका छन् । दौरा र धोती एंव भादगाउंले टोपी लगाएर उनले मधेशी, जनजाति र खशआर्यको समायोजन गराएका छन् । मधेशमा उनले पैतालिस दिनसम्म पैदलयात्रा गरेको र मधेशको भाव बुझेको उनको दाबी छ । मधेशको उत्पीडनको कुरा सम्बोधन गर्नुपर्ने तर्क राखेकाले उनलाई सो समुदायका प्रवुद्ध व्यक्तिहरुले साथ दिएको बुझिएको छ । उनको पक्षमा युवाहरुले सामाजिक संजालमा अभियान नै चलाएका छन् । आइएमविथईशान अभियानका समर्थक बढ्दै गएको ईशानकी साथी ऋचा पालिखेको दाबी छ । (यहां राखिएका तस्विर ईशानको फेसबुकबाट लिइएको हो । ईश्वर र अनुले आफ्नो तस्विर र भिडियो सार्वजनिक नगर्न आग्रह गरेकाले पोष्ट गरिएको छैन ।) प्रस्तुतिः सागर बुढाथोकी

Ishan

विशेष