चाबी आयो, एम्बुलेन्स आएन
बागलुङ, २८ वैशाख । भारतीय दूतावासले चार महिनाअघि धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई दिने भनेको एम्बुलेन्स अझै प्राप्त भएको छैन ।
गत माघ १२ गते (२६ जनवरी) मा भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाका अनुसार एम्बुलेन्सको ‘नमुना चाबी’ प्राप्त भएको छ, तर एम्बुलेन्स आएको छैन ।
यतिका समयसम्म एम्बुलेन्स नआउनुको कारणबारे आफू पनि अनभिज्ञ रहेको उहाँको भनाइ छ । अस्पताल विकास समितिका पूर्व अध्यक्ष कृष्णबहादुर केसीले गत महिना औपचारिक कार्यक्रम गरेर अस्पताललाई चाबी हस्तान्तरण गर्नुभएको हो । आफू अस्पतालको अध्यक्ष हुँदा भारतीय दूतावासमा एम्बुलेन्स ल्याउन पहल गरेको केसीको भनाइ छ । “एम्बुलेन्सको सबै प्रक्रियाको बारेमा पूर्व अध्यक्ष कृष्ण केसीज्यूलाई थाहा छ, उहाँले चाबी पनि हस्तान्तरण गर्नुभएको हो, तर एम्बुलेन्स नआउँदा हामी पनि अचम्भित छौँ” अध्यक्ष सापकोटाले भन्नुभयो । “एम्बुलेन्सको बारेमा सम्पर्क व्यक्तिनै उहाँ हो, मलाई पनि यसबारेमा त्यत्ति जानकारी छैन, दूतावासमा बुझ्ने प्रयास गरिरहेको छु” अध्यक्ष सापकोटाले भन्नुभयो । पूर्व अध्यक्ष केसीले भने अस्पतालकै ढिलासुस्तीका कारण एम्बुलेन्स नआएको बताउनुभयो । उहाँले आफ्नो पहलमा एम्बुलेन्स दिने निर्णय भएको र चाबी समेत हस्तान्तरण भएको उल्लेख गर्नुभयो । “अस्पतालले दूतावासमा बुझ्नुप¥यो, उसले दिन्छु भनेको छ, अस्पतालकै हेलचेक्राइँले आउन ढिलो भएको छ” केसीले भन्नुभयो । एम्बुलेन्स आउन ढिलाइ हुनुको कारणबारे अस्पतालका अध्यक्ष, चिकित्सक, कर्मचारी सबै बेखबर छन् । अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले अस्पताललाई चाबी मात्र बुझाइएको प्रतिक्रिया दिनुभयो । उहाँले डेढ वर्षदेखि अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएपछि बिरामीलाई सेवा दिन नसकिएको बताउनुभयो । “अहिले अञ्चल अस्पतालमा एम्बुलेन्स छैन, बिरामीलाई महँगो भाडा तिरेर ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यता छ” निरीक्षक खनालले भन्नुभयो, “भारतीय दूतावासबाट आउने भनिएको एम्बुलेन्स पनि आउन सकेको छैन ।” घोषणा भएको र चाबी आएको समेत महिनौँ दिन बित्दा पनि एम्बुलेन्स नआउँदा अस्पताल व्यवस्थापन निरास बनेको छ । एम्बुलेन्स नै नआउने हो कि भन्ने आशङ्का पनि गर्न थालिएको छ । एम्बुलेन्स आउने भनेर प्रचार गरिएपनि चार महिनासम्म नआउँदा जनस्तरमा पनि शङ्का उब्जिएको छ । दूतावासमा पु¥याउनु पर्ने प्रक्रिया नपुगेर आउन ढिलाइ भएको हुनसक्ने जनाइएको छ । भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न जिल्ला तथा अञ्चल अस्पताल, परोपकारी तथा शैक्षिक संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको थियो । दूतावासले गणतन्त्र दिवसमा बर्सेनि नेपाललाई एम्बुलेन्स, बस उपहार दिँदै आएको छ । रासस