बिजोग भो बैद्य बा !
एन पौडेल
प्रचण्डले क्रान्तिका कार्यभार पूरा नभइ हतियार बिसाउने अपराध गरिने छैन भन्ने वाक्यांश जनयुद्ध पूर्व बसेको केन्द्रीय समितिको बैठकको दस्तावेजमा उल्लेख गरेका छन् । तर, अहिलेपनि भन्दै छन्ः क्रान्तिका कार्यभार पूरा भएका छैनन्, राज्यसत्ता प्रतिक्रान्तिकारी छ । त्यसो हो भने हतियार विसाउने अपराध किन गरेको ? प्रचण्डले हजार तर्क गर्लान । तर, तर्क आफैंमा उत्तर होइन ।
मोहन बैद्य उमेरले ७० का भए । खराब स्वाश्थ्य र शारिरीक बनोटका कारण उनी उमेरभन्दा बुढो देखिन्छन् । त्यसैले उनलाई सामान्यतया बैद्य बा भनेर पुकारिन्छ कार्यकर्तामाझ । उमेर छइन्जेल बाउआमाले छोराछोरीलाई ओत दिन्छन् । खाइनखाइ हुर्काउछन् । जब छोराछोरी हुर्कन्छन् । लाखापाखा लाग्छन् । बाआमा एक्लै हुन्छन् । अहिले बैद्य बाको हालत झण्डैझण्डै त्यस्तै छ ।
प्रचण्ड र बैद्यको सम्बन्ध
मोहन बैद्यले कांध नथापेको भए पुष्पकमल दाहाल विश्वासमै सिमित हुने थिए सायद । ४० को दशकमा नेकपा मसालले प्रहरी चौकीमाथि धावा बोल्यो । उपत्यका आसपासका चौकीमा निशाना सांध्दा मसाललाई नराम्रो धक्का लाग्यो । कैयौं कार्यकर्ता पक्राउ परे । बहश महिनौ चल्यो । अन्ततः सेक्टर काण्ड नाम दिइएको सो कारवाही हतारोमा गरिएको निष्कर्ष निकालियो । बैद्यले आफुसहित सबैको एक तह घटुवा गरिदिए । सोझो मार प¥यो सिपी गजुरेललाई । युवा पुस्ताका टाठाबाठा पुष्कममल दाहाल विश्वास महामन्त्री बनाइए । बैद्यले उनमा विशिष्ट क्षमता देखेका थिए । त्यसैले लिफ्टिङ गरिदिए । दाहालको विश्वास सशस्त्र संर्घषमा थियो । उनलाई कताकता विश्वास नाम ओझपूर्ण छैन भन्ने लाग्यो । गजुरेल आफुलाई प्रचण्ड भन्न रुचाउंथे । यो नाममा दम छ भन्ने दाहाललाई लाग्यो । मुखैको महामन्त्री त दाहालले छिनेकै थिए, नामपनि लगिदिए । अहिले प्रचण्डको भिन्दै ओझ छ । गजुरेलको गौरब समाप्तप्राय भएको छ । प्रचण्डलाई युद्धको कमाण्ड गर्न सहज थिएन ।
आफुभन्दा बरिष्ठ र सहकर्मीलाई कमाण्ड गर्नु चुनौतिपूर्ण हुने नै भयो । बैद्यले साथ दिए । बैद्यले नै कांध थापिदिएपछि अरुको केही जोर चलेन । हुंदाहुंदा युद्धकालको मध्यमा प्रचण्डपथको अवधारणा ल्याइयो । बैद्यले दिलोज्यान दिएर प्रचण्डपथको वकालत गरे । शान्तिप्रक्रियाको पूर्व सन्ध्यामा बैद्य र गजुरेल भारतमा पक्राउ परे । बैद्यको अनुपश्थितिमा यता शान्तिप्रक्रिया शुरु भयो । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बैद्य र गजुरेल जेजबाट छुटे । त्यतिन्जेल बैद्यको मनमा चिसो पसिसकेको थियो । क्रान्तिमाथि गम्भीर धक्का लागेको उनको बुझाइ थियो । जुन क्रमशः व्यक्त हुंदै गयो । प्रचण्डले जे भनेर युद्धको कमाण्ड गरेका थिए, त्यसको एक छेउपनि नभेटिदै शान्तिप्रक्रिया शुरु भइसकेको थियो । आफैंले बनाएको प्रचण्डसंग बैद्यले तीन बर्षअघि सम्बन्धविच्छेद गरेका थिए ।
बैद्यलाई थापा, गजुरेल र चन्दको साथ
बैद्यले प्रचण्डलाई बाली भित्र्याउने बेलामा छोडे । सायद, प्रचण्डसंगै रहेको भए उनलाई भौतिक सुखसयलको कुनै कमी हुने थिएन । उनको बोलि थोरबहुत चल्थ्यो नै । तर, उनी यसका लागि सिमित हुन चाहेनन् । क्रान्ति पूरा गर्ने धोको उनमा छदै थियो । क्रान्तिका बारेमा उनको प्रशस्तै अध्ययन थियो । उनी जेल पर्नुपूर्वसम्म माओवादीले छोटै अवधिमा राम्रै आकार लिइसकेको थियो । तर, युद्ध पेचिलो भइसकेको थिएन । माओवादी युद्धको वास्तविक कठिनाइ भोग्ने बेलामा बैद्य जेलमा थिए । त्यसैले बैद्यलाई युद्धको उतिसारो व्यवहारिक ज्ञान हुन पाएन । उनलाई लागिरहन्थ्यो प्रचण्डले हतार नगरेको भए केही हुन्थ्यो । जेलबाट छुटेपछि प्रचण्डले टुटाएको क्रान्तिको डोरी जोड्न चाहन्थे । प्रचण्ड राजि भएनन् । उनलाई साथ दिनलाई थापा, गजुरेल र चन्दको हानथाप शुरु भयो । भलै, स्वार्थ साझा थिएन । थापा र प्रचण्ड समकालिन हुन् । एउटै विस्तारामा एउटै शिरक ओढेर उनीहरुले माक्र्सवादको अध्यनन गरेका थिए । युद्धकालसम्म बादलका रुपमा रामबहादुर थापाको गर्जन गजबको थियो । मधुर स्वरमा उनले खुलामञ्चमा दिएको अभिव्यक्तिले नारायणहिटी थर्काइदिएको थियो । वार्तामा आउंदा उनले नेपालरुपी फुलबारी गोबरले पुरिएकोले आफु गोबर सोर्हन विदेशको पढाइ छोडेर आएको मार्मिक अभिव्यक्ति दिएका थिए । शान्तिप्रक्रिया शुरु भइसकेपछि उनी गर्जिनेमात्र तर पानी पार्न नसक्ने बादलजस्तै फिक्का सावित भए । प्रचण्डले भने अन्तराष्ट्रिय उचांइ लिंदै गए । व्यक्तित्वको यो भारी अन्तरले थापा प्रचण्डसंग टाढिए । प्रचण्ड वास्तवमै प्रतिक्रान्ति थिए भने उनैसंग एकता गर्न थापा किन अग्रसर भए ? यसको उत्तर थापाका लागि कठीन छ । प्रचण्ड सच्चिएर एकता हुन लागेको होइन ।
प्रचण्डले आफुले चाहेको कोर्श पूरा गरेपछि एकता हुन लागेको हो । थापाले प्रचण्डसंग सम्बन्ध विच्छेद गर्दा प्रचण्ड प्रतिक्रान्तिको शुरुवाति दिनमा थिए । अहिले थापाले देखेको प्रतिक्रान्ति सम्पन्न भइसकेको छ । लगत्तै प्रचण्डकै नेतृत्वमा एकता हुंदैछ । थप भनिरहनै परेन । सिपी गजुरेलसंग प्रचण्डको पूरानै रिसिइवी छ । आफुभन्दा कनिष्ठलाई क्रान्तिनायक मान्न उनी दुई दशक बाध्य भए । शान्तिप्रक्रियामा आइसकेपछि गजुरेल लाभका पदबाट बञ्चित पारिए । प्रचण्डले गजुरेलजस्तो बरिष्ठ नेतालाई उपेक्षा गरेर मानमर्दन गरेकै हुन् । मानमर्दन कसलाई पाच्य हुन्छ र ? गजुरेल प्रचण्डप्रति खनिए । हुंदाहुंदा गजुरेललाई माओवादीभित्र गाली शिरोमणिका रुपमा चिनिन थालियो ।
अहिले बैद्यलाई प्रचण्डसंग टाढा राख्न गजुरेल लागिपरेका छन् । नेत्रविक्रम चन्द युद्धकालमा प्रचण्डको सचिवालयमा बसे । आधार इलाकामा उनले प्रचण्डलाई जे भन्यो त्यहीं पु¥याइदिए । मेसमा दिनहुं खशी काटिन्थे । फ्रायडियन दर्शनमा छोरा जहिलेपनि बाउप्रति इस्यालु हुन्छ । राजनीतिक हेडक्वार्टर प्रचण्डप्रति चन्द त्यसैगरी इस्यालु बन्दै गए । उनको दिमागमा प्रचण्डजस्तै बन्ने महत्वांकाक्षा गढ्यो । हाउभाउ उस्तै देखाउन थाले । प्रचण्डसंग राजनीतिक कौशल सिके । प्रचण्डलाई ड्यामेज नगरि प्रचण्डजस्तै बन्न नसकिने उनले राम्रैसंग बुझेका थिए । युवावयका चन्दलाई प्रचण्डजस्तै सानै उमेरमा नेतृत्व उम्क्याउनु थियो । उनले भ¥याङ बनाएः थापा र बैद्यलाई । बैद्यले २ वर्षसम्मपनि केही गर्न नसकेको भन्दै बेग्लै पार्टी बनाए । अहिले पार्टी बनाएको २ बर्ष भइसक्यो, चन्दले के गरे ? उत्तर छैन ।
को के ?
प्रचण्डले क्रान्तिका कार्यभार पूरा नभइ हतियार बिसाउने अपराध गरिने छैन भन्ने वाक्यांश जनयुद्ध पूर्व बसेको केन्द्रीय समितिको बैठकको दस्तावेजमा उल्लेख गरेका छन् । तर, अहिलेपनि भन्दै छन्ः क्रान्तिका कार्यभार पूरा भएका छैनन्, राज्यसत्ता प्रतिक्रान्तिकारी छ । त्यसो हो भने हतियार विसाउने अपराध किन गरेको ? प्रचण्डले हजार तर्क गर्लान । तर, तर्क आफैंमा उत्तर होइन । थापाले प्रचण्डलाई प्रतिक्रान्तिकारी र धोकेबाज घोषणा गरेको तीन बर्ष पूरा हुंदैछ । तर, थापा प्रचण्डलाई नेता मान्ने ठाऊंमा आउंदैछन् । तसर्थ थापाको नैतिक धरातल कमजोर भएको छ ।
नेत्रविक्रम चन्दको नियतमा औंला उठाउन सकिन्छ । निष्कर्ष निकाल्न हतार हुन्छ । छनक उनको राम्रो छैन । तर, उनी परीक्षण हुन बांकी छन् । माओवादी आन्दोलनको हिशाव गर्दा बैद्य नै निष्ठावान हुन् । उनी चलायमान नेतृत्व होइनन् । नत उनी प्रचुर व्यक्तित्वका धनी हुन् । एउटा अध्येता हुन् । पदीय आंकाक्षा नभएका, नेतृत्वको खुबी नभएका तर क्रान्तिका लागि एकनिष्ठ भइ लाग्ने योद्धा हुन् । उनकोे कमजोरी परिश्थितिसंग घुलमिल हुन नसक्नु हो । प्रचण्ड परिश्थितिसंग आवश्यकता भन्दा बढी घुलमिल भइदिन्छन् । माओवादीभित्रका यि दुई शीर्ष नेताका विपरित स्वभाव आफैंमा समस्या हुन् ।
निष्कर्ष
कांग्रेसप्रति मोह हुनुपर्ने कारण छैन । कांग्रेस गुणी हुन्थ्यो भने देशको यो हरिविजोग हुंदैनथ्यो । तर, कांग्रेसबाट सिक्नैपर्ने कुरापनि छन् । कांग्रेसका संस्थापक मध्ये गणेशमान सिंह,सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई जीबनको उत्तराद्र्धमा कांग्रेसको रुख मुनि थिएनन् । कसैलाई विपीले अठ्यादिए । कसैलाई जिपी सिद्धाइदिए राजनीतिकरुपमा । तर, कांग्रेसभित्र उनीहरु सिद्धिएनन् । अहिलेपनि जीबनको उत्तरार्धमा कांग्रेस होइनौं भन्ने सिंह, राणा र भट्टराईलाई व्यानरमा कांग्रेसले राखेको छ । भट्टराई कांग्रेस छाडेर बांडेगाऊ बस्थे । कांग्रेसले लिएको नीतिको उछितो काढ्थे । तर, उनको फोटो कांग्रेसका सभामा राखिएकै हुन्थ्यो । वर्तमानलाई होइन, विगतलाई गरिएको सम्मान हो यो ।
मोहन बैद्यका बचेराहरु अहिले लाखापाखा लागेका छन् । बैद्य बचेरासंग बस्न नसक्ने बचेराहरुले बैद्यसंग भविश्य नदेख्ने समस्या आइलागेको छ । बैद्यसंग हुंदा रोटिरोजीको समस्या पर्न थालेको कतिपय नेताहरु खुलेरै बताउछन् । सायद, अब बैद्य बालाई जडसुत्रवादी, एकमानावादी, शास्त्रीय, अव्यवहारिक यस्तै यस्तै शब्द बर्साइने छ । बैद्यमाथि शब्द प्रहार अवसरवाद हो । बैद्य बाको बिजोग हुनु भनेको माओवादीको रहेपहेको साखपनि गिर्नु हो । निष्ठावान नेताको बिजोगले अवसरवादलाई दर्शाउछ । त्यसैले एकता गर्दैगर्दा बैद्य बाको बिजोग नबनाउ । उनलाई माओवादी आन्दोलनको सम्मानित नेताको रुपमा दर्ज गर । चाहे उनी संगै नआउन् ।