कभर स्टोरी

नायिका निशासँगको विछोडपछि शरद भन्छन्– अब क्रिकेटसंगै विवाह

नायिका निशासँगको विछोडपछि शरद भन्छन्– अब क्रिकेटसंगै विवाह
 धुंवादार ब्याटिङ, अग्लो र कसिलो जिउडालका धनी शरदको व्यक्तित्वले थुप्रै युवतीलाई मोहनी लगाइसकेको थियो । चौका र छक्काले कैयौंको मनमा एकैचोटी पिरतीको बांण हानिसकेको हुन्थ्यो । बंगलादेशमा भएको विश्वकपमा देखाएको करिश्माले मै हुं भन्ने सुन्दरीका आंखापनि शरदमा ठोक्किए । आखिरमा पिरतीको टस जितिन् नायिका निशा अधिकारीले । कुनै बेला निशाको नजरमात्रले पनि शरदको जिऊंमा कांडा उमाथ्र्यो । शरदलाई छक्क लाग्छ । नजर केही रहेनछ । सबथोक रहेछ भावना ।

२०१४ को २०/ २० बिश्वकप क्रिकेट को छनोट खेलमा छनोट हुन नेपालले हंकङ्गसंगको म्याच जित्नैपर्ने थियो । २७ नोभेम्वर २०१३ मा बंगलादेशमा भएको सो खेलमा पहिले ब्याटीङ्ग गर्दै हङकङले ७ विकेटको क्षतिमा १४३ रन जोडेको थियो ।

पारस खड्काको कप्तानीमा उत्रीएको नेपाली टीमका लागी सागर पुन र शुभाष खकुरेल ले सामान्य सुरुवात दिलाए । ज्ञानेन्द्र मल्लबाहेक मध्य पंक्तिका ब्याट्सम्यानहरुले सन्तोषजनक प्रर्दषन गर्नसकेका थिएनन् । बिनोद भण्डारीको विकेट पतन भएपछि पाच नम्वर ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका शरद भेष्वाकरमा सबै नेपाली क्रिकेटप्रेमीहरुको आंखा थियो । अन्तिम ओभरको ५ बलमा नेपाललाई १३ रनको आवस्यकता थियो । यो असम्भव प्राय भैसकेको थियो । तर शरदले त्यो १३ रनको खांचो पूरा गरिदिए । नेपालले १४४ रन बनायो र खेल जित्यो । नेपाली दर्शक खुशिले नाच्न थाले । कतिका आंखा रसाए । सबैको मुखमा एउटै नाम झुण्डियोः शरद भेष्वाकर ।

त्यस यता प्राय म्याचमा शरद भेष्वाकर म्याच फिनिसर बनेका छन् । म्याच जिताउने नायकका रुपमा भेष्वाकरले ख्याति कमाएका छन् । सयुंक्त अरब ईमिरेट्सको दुवइमा जन्मिएका हुन् भेष्वाकर । उनका बुवा भारतीय नागरिक र आमा नेपाली नागरिक हुन् । ५ फिट १० इन्च अग्ला शरदले १५ वर्ष अघि नेपाल क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकेका थिए । भारतमा वर्षैा देखी क्रिकेट लोकप्रिय छ । भारतमा क्रिकेट असाध्य लोकप्रिय छ । त्यसको प्रभाव शरदको बुबामा परेको थियो ।

बुबाको प्रभावका कारण शरद क्रिजतर्फ आर्कषित भए । छोटै अवधीमा उनी १५ वर्ष मुनिको अन्र्तराष्ट्रिय प्रतियोगिताका लागि नेपाली टिम छानिए । खुशीको सीमा रहेन । तर उनले खुशी बुबासंग बाड्न पाएनन् । उनले खुशी बाड्न नपाउंदै  भारतमा रहेका बुवाको हृदयघातका कारण मृत्यु भईसकेको रहेछ । मातृभुमी नेपालको क्रिकेट क्षेत्रमा शरद परिचित हुंदै गए । उनको नागरिकता कानूनी अड्चनका कारण बन्न सकिरहेको थिएन । शरदलाई नागरिकता दिलाउन नेपाली फ्यानहरुले दबाब अभियान नै थाले । नेपाल सरकारले नेपाली क्रिकेटमा प्राप्त भएको उनको योगदानको कदर गर्दै अन्ततः उनलाई काठमाण्डौ जिल्ला प्रशासन कार्यलय मार्फत नागरिकता दियो ।

धुंवादार ब्याटिङ, अग्लो र कसिलो जिउडालका धनी शरदको व्यक्तित्वले थुप्रै युवतीलाई मोहनी लगाइसकेको थियो । चौका र छक्काले कैयौंको मनमा एकैचोटी पिरतीको बांण हानिसकेको हुन्थ्यो । बंगलादेशमा भएको विश्वकपमा देखाएको करिश्माले मै हुं भन्ने सुन्दरीका आंखापनि शरदमा ठोक्किए । आखिरमा पिरतीको टस जितिन् नायिका निशा अधिकारीले । भारतीय अब्बल दर्जाका क्रिकेटर बिराट कोली र नायिका अनुस्का शर्माकै शैलीमा यि दुई बिचको अफेयरले खुबै चर्चा बटुल्यो । प्रेमप्रसंगका कारण शरद झनै चर्चित भए । लुकीछिपि प्रेमलाप गर्ने नेपाली समाजमा अमेरिकामा पढेर फर्केकी निशाले कडा व्याटिङ गर्न थालिन् । निशाले खुलेरै सामाजिक सञ्जालमा शरदप्रतिको प्रेम पोख्न थालिन् । क्रिकेटकै शब्दमा भन्ने हो भने निशाको व्याटिङ र शरदको फिल्डिङ रोमाञ्चकरुपमा अघि बढ्यो । तर, लामो समय टिक्न सकेन ।

नाटकीयरुपमा दुबै प्रेमको क्रिज र फिल्डबाट आउट भएका छन् । उनीहरुको मित्रता भने कायमै छ । प्रेम प्रंसगको कुराकानीमा क्रिकेटका बोल्ड व्याट्सम्यान शरद लज्जालु देखिए । लजाउदै शरदले भनेः निशा मेरी साथी हुन र नेपालकी सबै भन्दा सुन्दर नायिका पनि । अहिले पनि हामी उत्तीकै भेट्छौ, कुरा गर्छौ तर यो प्रेम होईन । कुनै बेला निशाको नजरमात्रले पनि शरदको जिऊंमा कांडा उमाथ्र्यो । शरदलाई छक्क लाग्छ । नजर केही रहेनछ । सबथोक रहेछ भावना । अहिले निशाका कुनैपनि गतिविधिले शरदलाई छुंदैन । अहिले उनी पूरै क्रिकेटमा समर्पित छन् । प्रेमले शरदको व्याटिङ बेगमा ब्रेकर खडा गरिदिएको चर्चापनि खुब चल्यो ।

शरद सो कुरा थप्न तयार छैनन् । बरु तत्काल प्रेम चक्करमा नलाग्ने उनको सोच छ । उनी भन्छन्, ‘बिवाह मानिसको वसमा हुंदोरहेनछ, मेरो त अहिले क्रिकेटसंग मात्रै बिवाह भएको छ । पहिले नेपालको क्रिकेटको बिकास त होस् ।’ नेपाल क्रिकेट संघ क्यानको बिघठनले दुखि बनेका शरद भन्छन्, ‘संस्थागत बिकास बिना आशातित प्रगती हुन सक्दैन । तर क्यानको हविगत हेरेर खेलाडी चिन्तामा डुबेरपनि केही हुंदैन । कोही पनि खेलाडी मैदानमा छिर्दा केवल देशको प्रेम र जनताको खुशिमात्र ध्यानमा आउछ ।’ अहिले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसिसिले क्यानलाई भन्दा पनि धेरै नेपाली क्रिकेटको प्रर्दशनमाथि जोड दिएको छ । खेल रोकीदिएको छैन् । आइसिसिले बर्षेनि दिने अनुदान भने रोकेको दुई वर्ष भैसक्यो । तर पनि नेपालमा क्रिकेट खेलेर बाच्न सकिने अवस्था आईसकेको छ । १० वर्षमा धेरैनै बिकास भएको छ ।

अचेल नेपालमा क्रिकेट ब्याट र बल उचालेर बाच्न सकिने भएको छ । एउटा अब्बल दर्जाको खेलाडीले राम्रो आम्दानी गरीरहेका छन् । आफ्नो कमाईप्रति शरद सन्तुष्ट छन् । उनी थप्छन्,‘मान्छेका इच्छा असिमित हुन्छन् तर मेरो नजरमा मलाई गरुं गरुं लागेको कुराहरु क्रिकेट खेलेरै पूरा भएका छन् ।’ जवसम्म घरेलु क्रिकेट संरचनामा परिवर्तन आउदैन तवसम्म क्रिकेटमा पनि बिकास हुदैन् । घरेलु क्रिकेट जति धेरै खेल्न सकियो त्यतिनै निखारिन्छन् खेलाडीहरु । शरदलको निष्कर्ष छ, ‘हामी केवल नतिजामा ध्यान दिन्छौ तर मुल कुरा त अभ्यास हो । हामी बिश्वकप खेल्ने सपना देख्छौ, तर वर्षमा १० वटा सम्म पनि खेल खेल्न पाएका हुदैनौ । भारतमा हेर्ने हो भने एउटा कन्ट्रि क्लवले समेत १०० वटा खेलिसकेको हुन्छ, यसरी त कसरी तयारी पुरा हुन्छ हाम्रो?’ उनले अगाडी थपे ‘धनगढी क्रिकेट एकेडेमीले डिसिएल गर्छ ।

उसले एक किसिमको व्यावसायिकता को थालनि गरेको छ नेपाली क्रिकेटमा । नया खेलाडीहरुलाई पुराना खेलाडीहरु संग सिक्ने मौका दियो । जति धेरै खेलाडीहरु आए, निखारिए त्यतीनै धेरै नतिजा सकारात्मक हुनेगर्छ । यसका लागी लगानी कर्ताहरुले पनि धन दिन जरुरी छ । हाम्रो देशमा पनि क्रिकेटप्रति निकै लगाव बढीरहेको छ । घरघरमा क्रिकेट हेर्न थालिसकेका छन् मानिसहरु भने व्यावसायिक क्रिकेट खेल्न किन अनकनाउने ।’

यसमा लगानी गर्दा सबैलाई फाईदा हुने शरदको बिस्वास छ । आफु टिमको भरपर्दो खेलाडी हुनसकेकोमा गर्व गर्ने शरद नेपाली जर्सीमा बिश्वसामु पुग्न पाउदाको खुशिको तुलना केहीसंग गर्न नसकिने बताउछन् । उनलाई सधैं थकथकी लागिरहन्छ, उनले यो जर्सीमा बिश्वकप खेलेको दृष्य बुवाले हेर्न पाउनु भएन। बुवाको प्रसंगले भावुक बनेका शरदले पितृप्रतिको आश्था सुनाए, ‘बुबा जहां भएपनि मलाईलाई आर्शिबाद दिइरहनुभएको छ । त्यसैले मैले कठीन अवश्थामा व्याट समात्ने र नेपालका लागि केही गर्ने अवसर पाएको हुं ।’

प्रस्तुति: मंजु मिश्र 

विशेष