खेल

ब्राजिलको खस्कदो फुटबल स्तर

ब्राजिलको खस्कदो फुटबल स्तर

brazil काठमाडौं जेठ २२ । यतातिर त्यो रातको खेलबारे अचेल सम्झन चाहँदैनन् । मिनेरियोमा आजभोलि हुने माथिल्लो डिभिजनको खेलमा धेरै दर्शक हुने गर्दैनन् । यही मैदानमा दुई वर्ष अगाडि ब्राजिल जर्मनीको हातबाट ७–१ ले पराजित भएको थियो । अवसर थियो, विश्वकप सेमिफाइनल । यस्तो अविश्वसनीय नतिजा आउने छ भनेर त्यस खेल अगाडि कसैले सोचेका पनि थिएनन् । तर अहिले पनि ब्राजिली फुटबलमा खासै केही परिवर्तन आएको छैन । त्यो खेलको नतिजा मात्र लज्जास्पद थिएन, खेलको स्तरमा पनि उत्तिकै फरक थियो । धेरै के मान्छन् भने ब्राजिली फुटबल भनेपछि सबै हुरुक्कै हुन्छन् । होइन, यो भ्रम हो ।

खासमा ब्राजिली फुटबलर जित्न चाहन्छन, त्यो पनि सुन्दर र मन छुने फुटबल खेलेर । तर अहिले ब्राजिली फुटबल टिम त्यसबाट टाढा भाग्दैछ, सायद । ब्राजिली फुटबलको समृद्ध इतिहास त छ, तर भविष्य ? सायद धेरै गुनासा छन् । ब्राजिली फुटबलमा समस्या छ, यो कुनै नयाँ तथ्य भएन सन् १९७० मा ब्राजिलले विश्वकप जित्दाका खेलाडी टोस्टाओ भन्छन, ‘यो एकाएक आएको समस्या पनि होइन । पछिल्लो ४० वर्षमा ब्राजिली फुटबलको स्तर निकै खस्केको छ । अहिले स्थिति नाजुक छ, तर यसको उपचारमा के गर्ने हो, त्यो भइरहेको छैन ।’ विश्वकपमा खराब प्रदर्शनपछि ब्राजिलले प्रशिक्षक लुइस फिलिपे स्कोलारीलाई बर्खास्त गरेको थियो ।

त्यसयता टिमको जिम्मा डुंगाले पाए । तर खराब नतिजामा कहाँ सुधार आएको छ र ? गत वर्षको कोपा अमेरिकामा ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । कमजोर मान्न मिल्ने भेनेजुएलाविरुद्धको खेलमा सबैभन्दा व्यस्त ब्राजिली खेलाडी कोही थिए भने ती डिफेन्डर थिए ।

त्यसको एक वर्षपछि अहिले ब्राजिल सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छनोटमा कमजोर छ । छ खेलमध्ये दुईमा मात्र विजयी ब्राजिल छनोटको समीकरणबाट बाहिर छ । कोपा अमेरिकाको अर्को संस्करण अहिले सुरु भएको छ, रियो ओलम्पिक पनि धेरै टाढा छैन । यस्तोमा ब्राजिली राष्ट्रिय टिम भने लाचार देखिएको छ । ‘सायद ब्राजिली फुटबल यति कमजोर कहिल्यै भएको थिएन कि ?’

Brazil Football

विशेष