यसकारण अफ्ठयारोमा छन् ओली
बिनोद शर्मा
माओवादीले नागरिक सर्वोच्वताका लागि भन्दै आन्दोलन मच्चाएको थियो । उसले न्वारनदेखिको बल लगाइरहेको थियो । देशैभरि माओवादी उर्लिएको थियो । त्यस्तो बेलामा प्रधानमन्त्री बने चुनावमा दुबै ठाऊंमा पराजित भएका र पार्टीको महासचिवबाट राजिनामा दिएका नेता माधबकुमार नेपाल । पार्टी अध्यक्ष झलनाथ खनाल संसदीय दलको नेतापनि थिए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेपालको नाम प्रस्ताव गरिदिएपछि अरुको डेग चलेन । प्रधानमन्त्री नेपाल राजनीतिकरुपमा कमजोर धरातलमा उभिएका थिए । कठपुतली र हरुवाको भिल्ला भिरेकै थिए । उनले शक्ति संचय गर्ने उपाय खोजे । त्यसका लागि सन्तुलित मन्त्रीमण्डल बनाउने र सोका लागि सबैलाई मिलाएर लग्ने नीति लिए ।
कानूनी पृष्ठभूमीका तथा राजनीतिशास्त्रमा टियू टप गरेका भीम रावल परराष्ट्रमन्त्री बन्न चाहिरहेका थिए । रावलको खरो प्रस्तुति र शैली नेपालले आफ्नो क्याबिनेटमा उपयोगी हुने देखेका थिए । उनले रावललाई गृहमन्त्रीको प्रस्ताव गरे । रावलले सोझै इन्कार गरिदिए । माओवादीको त्यो राप र तापमा गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु रावलले जोखिमपूर्ण देखेका थिए । उनी पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका थिए । तरपनि, नेपालले रावललाई ढाडस दिए, ‘केही परे म अघि बढुंला, तपाई पछि नहट्नु ।’ फरक कित्ताका यि दुईको जोडी खुब जम्यो । पछि एउटै कित्ताका भए । तत्कालिन सेनापति रुक्माङ्गगत कटवाल नेता भन्दा कम थिएनन् । प्रतिष्प्रर्धी दलको नेताभन्दा अघि बढेर माओवादीको बदख्वांइ गर्थे ।
उनलाई बर्खास्त गर्ने आफ्नो प्रयास विफल भएको पृष्ठभूमीमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । सेना र माओवादीको सम्बन्ध तीतो थियो । रक्षा मन्त्रालयको जिम्मेवारी जोकोहीलाई दिनु प्रधानमन्त्री नेपालका लागि जोखिमपूर्ण हुनसक्थ्यो । त्योभन्दा ठूलो कुरा पार्टीभित्रको समीकरण नमिलाइ हुंदैनथ्यो । प्रधानमन्त्री नेपालले रक्षामन्त्रीमा तत्कालिन उपाध्यक्ष बिद्या भण्डारीलाई नियुक्त गरे । भण्डारीको मन माधबसंग उति खांदैनथ्यो । आफ्नो कार्यकालभरि नेता नेपालले अनेकथरी प्रवृत्तिका मन्त्रीलाई विश्वासमा लिन सके । शुरुबाटै उनको विपक्षमा रहेका अध्यक्ष झलनाथ खनालले भित्री र उपाध्यक्ष बामदेब गौतमले देखिने गरी उनका बिरुद्धमा लागेको घटना बाहेक उनको कार्यकाल पार्टी दृष्टिकोणबाट सन्तुलित रह्यो ।
अहिले ओली प्रधानमन्त्री छन् । उनको पार्टीभित्रको शक्तिसंचय हेर्ने हो भने बरिष्ठ नेता माधब नेपालभन्दा केही मतले मात्र अघि हुन् । बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेब गौतमसमेत उनको विपक्षमा देखिएपछि उनी अल्पमतमा छन् । तरपनि उनी अटेर गरिरहेका छन् । उनले राजनीतिकरुपमा आफुभन्दा बरिष्ठ र सांगठनिकरुपमा आफु बरोबरीका नेतालाई पाखा लगाउने दुस्साहस गरिरहेका छन् । मन्त्रालय बांडफांडदेखि अवसरको वितरणसम्म उनी एकलौटी गरिरहेको भनि बरिष्ठ नेता नेपाल आक्रोशित छन् । यसअघि प्रचण्डले ओली नेतृत्वको सरकारबाट हात झिकिसकेका थिए । गौतम, नेपाल र खनालको सक्रियताले उनी थामिए । त्यसपछि नेताहरुले जस पाउने आश गरेका थिए । तर, बजेट निर्माणमा समेत वेवाश्था गरिएको गुनासो एमालेका शीर्ष नेताहरुले सार्वजनिकरुपमै गर्न थालेका छन् ।
ओलीमाथि नेताहरुले संगीन आरोप लगाएका छन् । प्रधानमन्त्री भइसकेका र पार्टीको कमाण्ड सम्हालिसकेका बरिष्ठ नेता नेपालले ओलीमाथि व्यविचारीलाई कांखी च्यापेको र भ्रष्टतस्करलाई संरक्षण दिएको आरोप लगाएका छन् । यि दुई मध्ये एक पक्कै गलत छन् । सोका बारेमा स्थायी समितिमा छलफल आबश्यक देखिन्छ । ओलीमाथि बोलिको भर नभएको नेताको आक्षेप लाग्न थालेको छ । उनले गौतमलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएर नदिएको आरोप छ । झलनाथ खनाललाई राष्ट्रपति बनाउंछु भनेर नबनाएको आरोप छ । बरिष्ठ नेता नेपालसंग कैयौं सहमति गरेर उल्लंघन गरेको आरोप छ । प्रचण्डसंग बजेटपछि कांध फेर्ने सहमति गरेपनि आफैं रहिरहन खोजेको आरोप छ । हिजो मदन भण्डारीको हत्याराको नाम, थर र बतन थाहा छ भनेर भाषण गर्ने ओली आफैं प्रधानमन्त्री छन् ।
कार्यकारी प्रधानमन्त्री हुंदा हिजोको चर्को भाषण र चिनेको हत्यारा भुलेको बात उनलाई लागेको छ । यो सबै पृष्ठभूमीका कारण ओली अफ्ठयारोमा छन् । उनलाई सबैभन्दा असहज आफ्नै पंक्तिबाट हुने देखिएको छ । पार्टीभित्रको विश्वास नलिइ बाहिरकाको विश्वास जित्न सकिदैन । आन्तरिकरुपमा देशका असन्तुष्टि हल नगरी बाह्यरुपमा राष्ट्रिय लडाइ जित्न सकिदैन । ओलीका सामु थोरै समय छ । तर, यो थोरै समयपनि विश्वासको वातावरण बनाउन प्रयाप्त छ ।
Binod Sharma KP Sharma Oli