छाडेर गए अमर योगदान
वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ । भारतको दार्जिलिङमा १९९४ फाल्गुण १५ मा जन्मनुभएका गुरुङ नेपाली संगीत क्षेत्रका सिद्धहस्त संगीतकार हुनुहुन्थ्यो । ‘घरको माया सम्झेर’ नेपाल आउनुभएका अम्बरले थुप्रै गीतसंगीतमा संगीत गर्नुभएको छ । अम्बर आफैमा पनि गायक हुनुहुन्थ्यो । उहां नेपाली राष्ट्रिय गानका संगीतकार पनि हुनुहन्थ्यो ।
नेपाली सेनाका मानार्थ महासेनानी हुनुहुन्थ्यो । विसं २०२५ सालमा काठमाडौं आएर नेपालको संगीतलाई मलजल गरिरहनुभएको ७९ वर्षे अम्बर पछिल्लो समय क्यान्सरबाट थलिनुभएको थियो । पछिल्लो पटक न्युमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या र पार्किन्सन लगायतका रोगबाट थलिनु भएका अम्बर गुरुङ गत सोमवार किमोथेरापीको लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको र शुक्रवार बिहान १ बजेदेखि उहांलाई भेन्टिलेटरमा राखिएको बताइएको थियो । दार्जिलिलङका उजीर सिंह गुरुङका छोरा अम्बरलाई नेपाल झिकाएर राजा महेन्द्रले जुन गुन लगाउनुभयो, त्योभन्दा ठूलो गुन अम्बरले नेपाली संगीतलाई शिखरमा पुर्याएर लगाउनुभयो ।
सन् १९६० सालमा ‘नौलाख तारा उदाए, धर्तीको आकाश हांसेछ’ बोलको गीत पहिलोपल्ट रेकर्ड गरेर नेपालीहरूको मन जित्नुभएका गुरुङले सन् २०६१ मा ‘म अम्बर हुं तिमी धर्ती’ बोलको बहुचर्चित गीत रेकर्ड गर्नुभयो । तत्कालीन राजा महेन्द्रको दार्जिलिङ भ्रमणताका उहांले यही गीत सुनाउनुभएको थियो । यसबाट प्रभावित भई राजा महेन्द्रले गुरुङलाई काठमाडौंमा झिकाउनुभएको थियो । काठमाडौं आएको पहिलो वर्ष नै रेडियो नेपालको संगीत प्रतियोगितामा प्रथम भएपछि अम्बरको योगदान निरन्तर रहिरह्यो नेपाली संगीतमा ।
गोपाल प्रसाद रिमालको बहुचर्चित ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा पनि अम्बरले नै संगीत भर्नुभएको हो । ‘तिमी भूलमा प-यौ, म पनि झुक्किए’, ‘कैले लहर कैले तरंग’ जस्ता अजर अमर गीतहरूमा संगीत दिनुभएका गुरुङको पुख्र्यौली घर भने नेपाल नै हो । बाजेका पालामा चिया टिप्न दार्जिलिङङ गएका गुरुङ परिवार उतै अल्मलिए तर अम्बरलाई नेपालकै मायाले आखिर यतै तानी ल्यायो । नेपाल आएर अम्बरले प्रज्ञा प्रतिष्ठानमा संगीत प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिको समेत जिम्मेवारी वहन गर्नुभएको थियो ।
अम्बर गुरुङले आफ्नो जीवनकालमा पुस्तकहरू समेत लेख्नुभएको थियो । ‘कहाँ गए ती दिनहरु’ भन्ने किताबले उत्तम शान्ति साहित्य पुरस्कार पनि पाएको थियो । यो बाहेक ‘सम्हालेर राख’ र ‘अक्षरका आवाजहरु’ नामक पुस्तक पनि प्रकाशित थिए । गुरुङ गोर्खा दक्षिणबाहु, जगदम्बाश्री, हिट्स एफएम लाइफटाइम एचिभमेण्ट अवार्ड लगायतका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गर्नुभएका उहां अत्यन्त सरल स्वभावका हुनुहुन्थ्यो ।
अम्बरले बिना गुरुङसंग बिहे गर्नुभएको हो । उहांका ३ छोरा र एक छोरी हुनुहन्छ । आफ्नो निजी घरसम्म नबनाई गीतसंगीतमै रमाउनुभएका गुरुङ आफ्नी छोरी अल्काको काठमाडाै बुढानीलकण्ठस्थित घरमा बस्दै आउनुभएको थियो । ‘नौलाख तारा उदाए’ गीतमाथि भारत सरकारले प्रसारणमा बन्देज लगाएको थियोे । पछि रेडियो नेपालले पनि बजाउन बन्द गरेको थियो । यही गीत लेखेबापत अगमसिं गिरीलाई भारत सरकारले एक हप्ता जेल समेत हालेको थियो ।
नेपालीहरुमाथिको थिचोमिचोलाई यो गीतले बोलेको थियो । अम्बरले अब हाम्रो अगाडि उभिएर कहिल्यै गीत गाउनुहुने छैन, उहांका औंलाहरूले कुनै पियानो र हार्मोनिमबाट धुन निकाल्ने छैनन् । तर अम्बरले सृजना गरेका संगीत युगयुगसम्म नेपालीको सम्पत्तिको रुपमा रहिरहनेछन् । नेपालीका सन्तान दरसन्तानले गुनगुनाइरहनेछन् अम्बरको संगीतको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ।’ अलबिदा अजर अम्बर ।
ambar gurung